साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोगी हुनु राम्रो कि उद्यमी ?

Nepal Telecom ad

विभिन्न पत्रपत्रिकामा सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाको सादा र मितव्ययी जीवनशैलीको प्रशंसा गर्दै लेख, रचना, जीवनी र समाचार छापिने क्रम जारी थियो । उनको एउटा सुन्दर जीवनी पढेर मैले आफ्ना छाराछोरीलाई पनि त्यस्तै आदर्श र त्यागी हुनुपर्छ भनेर प्रेरणा दिने विचार गरेँ ।

मैले भनेँ, ‘देशले एक इमानदार, त्यागी, सन्त र सरल हृदयका अनुकरणीय नेतालाई प्रधानमन्त्रीका रूपमा पाएको छ । एउटा आफ्नै घरसम्म नभएका, जग्गाजमिन, श्रीमती, छोराछोरी नभएका ब्रह्मचारीजस्ता निःस्वार्थी सरकार प्रमुखको नेतृत्वमा देश अब पक्कै अघि बढ्छ । तिमीहरूले पनि त्यस्ता आदर्श पुरुषलाई सम्मान गर्नुपर्छ । उनका असल गुणहरूको आँखा चिम्लेर अनुसरण गर्नुपर्छ ।’

म सम्झाइरहेको थिएँ, केटाकेटीहरू टेलिभिजनको आवाज बढाइरहेका थिए । मैले थप कुरा भन्न खोज्दा उनीहरू उठेर भाग्न खोजे । मैले च्याप्प पारेर तिनीहरूलाई समाएँ र फेरि सम्झाउन थालेँ, ‘सुशील दाले जनताको सेवा गर्ने प्रण गरेर आजीवन बिहे नै गरेनन्, कुनै भौतिक सम्पत्ति जोडेनन्, लेखाइपढाइसमेत त्यागे । प्रधानमन्त्री भएको दिन उनको सम्पत्ति खानतलासी गर्दा तीन थान थोत्रा मोबाइलका सेटबाहेक एउटा कमण्डलु पनि भेटिएन । बिचरा, न उनीसँग देश–विदेश भ्रमण गर्दा कोटको धूलो टकटक्याइदिने एउटी बास्नादार श्रीमती छिन्, न एक जोर राम्रा सुट । न यसो पाक्कपुक्क परेका एकजोर चिल्ला गाला छन्, न वर्तिरपर्तिर टेवा दिने भाइसाला छन् । अर्काका घरमा शरण परेर बसे, दिएको एक मुट्ठी खाए, चुठे र हिँडे । उठ् जोगी फट्कार छाला, जहाँ जाला, त्यही खाला भनेजस्ता बिन्दास नेता । यस्ता त्यागी, तपस्वी र सन्त–महात्माबाट केही सिक नयाँ पुस्ताहो !’ म रोकिएँ ।

‘तपाईंको कुरा सकियो ?’ छोरो चम्कियो । ‘ल भन्नूस्, बाबुआमाले भनेको मान्नु, लेखपढ गर्नु, पेसा–व्यवसाय गर्नु, जागिर खानु, खेतीपाती वा व्यापार–उद्योग गर्नु, धेरैभन्दा धेरै बेरोजगारलाई रोजगारी दिनु, सम्पत्ति आर्जन गर्नु, आफ्ना खुट्टामा आफैँ उभिनु, आफ्नै घर बनाउनु, उमेर पुगेपछि बिहे गर्नु, सामाजिक हुनु, व्यावहारिक हुनु, सबैको संरक्षक हुनु, सबैको प्रिय हुनु राम्रो हो कि जीवनभरि शरणार्थी भएर हल्लनटाट हुनु राम्रो ? लौ भन्नूस् बा, स्मार्ट हुनु, जाँगरिलो हुनु, संसारमा नयाँ नयाँ प्रविधिसँग परिचित हुनु, आधुनिक हुनु राम्रो कि जिन्दगीभर वर्तिरको लोहोरा पर्तिर नसारी आफन्तका घरमा भान्सा बजाउनु राम्रो ? मलाई त शंका लाग्छ है बा, आफ्नो एउटा ज्यानलाई त त्यस्तो बेवारिसे बनाउनेले जनताका लागि के गर्लान् ! आफ्ना लागि एउटा घर बनाउन नसक्नेले देश कसरी बनाउलान् !’

नयाँ पुस्ता एकमुख लागेर मलाई हप्काउन, दप्काउन थाल्यो । मलाई बोल्नै दिएनन् । छोरी चर्किई, ‘तपाईंले सुशील बाको जस्तो जीवन गुजारेको भए तपाईंका बाआमा वा दुनियाँले तपाईंलाई के भन्थे थाहा छ ? परजीवी, अल्छी, बेरोजगार, काम नलाग्ने, यत्रायत्रा पाखुरा भएर पनि कमाइधमाइ नगर्ने हरिलट्ठक, अर्काको घरमा बसेको शरणार्थी, स्वास्नी, छोराछोरी पाल्ने आँट नभएर बिहे नगरी बसेको हुतिहारा, आफ्ना नाममा फुटेको हाँडीसम्म नभएको सुकुमबासी इत्यादि भनेर छिःछिः र दूरदूर गर्थे कि गर्थेनन् ? नेताहरूले त्यही कुरा गर्दाचाहिँ त्यागी, बलिदानी, सन्त र महात्मा हुने, सर्वसाधारणले गर्दाचाहिँ आवारा, हुतिहारा लवस्तरो नामर्द हुने ! यो कुरा सत्य हो कि होइन, ल भन्नूस् बा ! हामी जोगी हुने कि उद्यमी हुने, लौ भन्नूस् !’

नयाँ पुस्ताको हप्कीदप्की सहनै नसक्ने भएँ म । उनीहरू मुख तिखारी तर्क–कुतर्क गर्न थाले । म भने कानमा कपास कोचेर अर्को पत्रिकामा प्रकाशित सम्माननीय प्रधानमन्त्रीको ताजा जीवनी पढ्न थालेँ ।

‘नेपाल’, अङ्क ५८९ बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x