साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्वतीको लोग्ने खोई त ?

Nepal Telecom ad

“तेरो छोरो खड्के कहिले आउँछ हो लालु ! बाह्र गते घटस्थापना भन्छन् । यस पालाको दशैँमा टीका थाप्न त आउला नि !”

“आउँछ दाइ आउँछ । यस पाला त पक्कै आउँछु भनेको छ । हिजै मात्र नेपालगञ्जबाट फोन गरेको थियो रे ! कान्छासित कुरा भएको रहेछ । पुलिसको जागिर धेरै छुट्टी त पाइन्न, टीकाको अघिल्लो दिनसम्म आउँछु भनेको छ रे !” लालबहादुरले आफ्नो दाजुलाई बेलिविस्तार लाए ।

पार्वती करेसामा बसेर भाँडा माज्दै थिई, ससुराहरूको कुरा सुनी । बिहे गरेको तीन वर्ष भइसक्यो, लोग्नेको साथमा तीन रात पनि बिताउन पाएकी छैन । ससुराहरूको कुरा सुनेर ऊ रोमाञ्चित भई र खुसीले उसको आँसु चुह्यो ।

पोहर साल भदौमा एक रात बसेर गएको खड्गबहादुर फेरि फर्केर आएको थिएन । बेला बेलामा जेठा ससुराको कान्छो छोरा मार्फत ‘नेपालगञ्जमा छु, राम्रै छु’ भन्ने खवर मात्र पाउँछे पार्वतीले । खड्गबहादुरलाई प्रहरीको तालिम लिन नजा, माओवादीको तारो बनिन्छ । त्यसै त काँगे्रस भनेर हामीलाई देखिसहन्नन् भनेर उसका बाबु लालबहादुर शाही र आमा केशरी देवीले धेरै संझाएका थिए । तर खड्गबहादुरले भनेको थियो–

“हेर्नुस् हामीहरू गरीब छौँ । साँझ खाए बिहान के खाउँ, बिहान खाए साँझ के खाउँ ? गर्नु परेको छ । भाइ सानो छ, दुुईवटी बहिनीहरू छन् । तिनीहरूको पढ्ने बेला छ । २।४ अक्षर पढाउन पाए दुई चार कुरा सिक्ने थिए । मैले पढ्न पाइन । म प्रहरीमा जान पाए रासनले मलाई खान पुग्छ । बँचेको तलबले भाइबहिनीको पढाइ र घरखर्च हुन्छ । खाली बसेर के गर्ने रु पुलिसको जागिर सबैले खाएकै छन् । मारेछन् भने पनि देशको सेवा गरेर त मर्न पाइन्छ । कालापहाडमा गएर अर्काको देशमा किन मर्ने ? भनेर बाबु आमालाई सम्झाएर खड्गबहादुर तालिम लिन गएको थियो ।

तालिम सकिएको पनि थिएन र उसको बिहे करिब तीन वर्ष पूर्व पार्वतीसित भएको हो । तर बिहे भएको अर्कै दिन उसलाई हाजिर हुन जानु परेको थियो । गत साल घर आएको पनि एक रातभन्दा बढी बस्न पाएन । बस्नु पनि के थियो र ? रातभर श्रीमतीको बिलौना सुनेर गएको हो । “माओवादीले खोजी खोजी पुलिसलाई मार्छन् रे !” भनेर सारै नै पीर मानेकी थिई पार्वतीले ।

“मलाई नेपालगञ्जमै खटाइएको छ । माओवादी इलाकामा जानु पर्दैन ।” भनेर आश्वासन दिएको थियो उसले । तर ऊ घरबाट आउँदा सुर्खेत सरुवा भइसकेको रहेछ । ऊ हाजिर हुन सुर्खेत गयो । केही दिनपछि डोल्पा सरुवा भयो । प्रहरीको जागिर खाएपछि खटाएको ठाउँमा जान्न भनेर भएन, गयो । तर घरका मान्छेले पीर गर्छन् भनेर सरुवा भएको कुरा घरपरिवारलाई थाहा दिएन । सुर्खेतबाट फोन गर्दा पनि नेपालगञ्जबाट गरेको भन्ने गथ्र्यो भने डोल्पा गएर पनि नेपालगञ्जबाटै भन्ने गरेको थियो ।

“उहाँ त टीकाको अघिल्लो दिन आउने अरे नि !” पार्वतीले माज्दा माज्दैका भाँडा त्यसै छोडेर खुसीको कुरा सासूलाई सुनाउन भित्र गई ।
“कसले भन्यो तँलाई ?”
“बाहिर ससुराज्यूहरू कुरा गर्दै हुनुहुन्छ ।” पार्वतीको मुख खुसी र लाजले रातो भयो । सासूबुहारी दुबै जना लालबहादुर र बमबहादुर भएको ठाउँमा गए । त्यसै बेला बमबहादुरको कान्छो छोरा बैतडी सदर मुकामबाट आएर नजिकै बस्यो । उसको अनुहार रुञ्चे थियो । उसले कसैलाई ढोग्दा पनि ढोगेन । त्यसै बसिरह्यो ।

“क्या हो कान्छा के भयो ?” बमबहादुरले सशङ्कित भएर सोधे ।
“खड्ग दाइ सरुवा भएर डोल्पा जानु भएको रहेछ । हिजो राती माओवादीसितको मुठभेडमा दिवङ्गत हुनु भएछ । सदर मुकाममा उहाँको शव ल्याएको छ ।”

कान्छाको कुरा सुन्ना साथ पार्वती विहोस भई । लालबहादुर र किशोरी पनि ठाडो बस्न सकेनन् । खड्गबहादुरको अन्त्येष्टी सकियो, तर पार्वतीको होस आएन । विहोसमै उसका चूरा र पोते खोसिए । ऊ तीन दिनपछि व्यूँझी ।

“यो त अलच्छिनी रहिछ । त्यस्तो कलकलाउँदो लोग्नेलाई खाइहाली ।” भनेर त्यहाँ जम्मा भएका महिलाले पार्वतीलाई अपराधी ठहर गरे ।

‘एक मोहर’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’
0
Would love your thoughts, please comment.x
()
x