डा. बमबहादुर जितालीझगडा नगरे के गर्छ ?
अलपत्र विश्वासको खोलमा
सर्वत्र शङ्का सिउरिएको
सशङ्कित अङ्गहरूको ज्वारभाटा
हातलाई खुट्टाको विश्वास छैन
लठ्ठी टेकेर हिँड्ने गर्छ,
जिब्रोलाई आँखाको विश्वास छैन
चिनी चाटेर किन्ने गर्छ
अँध्यारोमा बसेर राजधानीको इज्जत धान्न
मिनरल वाटरले कपडा धोएर लाएका छाँै,
बन्द देशमा
ढोका थुुनेर बासीरोटी खाएर बस्दा पनि
सुकिला मुकिलाको दर्जा पाएका छौँ,
जनता र जनावरलाई ढाँट्न सजिलो छ
रातो टीका लगाएर कुकुरलाई मासु दिनुस्
कुकुरले त्यै दिनलाई दशैँ भन्छ,
मखमली माला लगाएर बिरालोलाई सेल दिनुस्
बिरालाले त्यै दिनलाई तिहार भन्छ,
मताधिकारको महत्वहीन
मध्यरातको महामिटिङ्
माननीयको म्याद थप्नुस्
हामी त्यै दिनलाई गणतन्त्र दिवस भन्छौँ,
चारधाम धाएको, बरदान पाएको,
अमूर्त अन्वेषणको अलौकिक औतार
हाँडीगाउँको जात्रामा देख्न बाँकी छ
थाहा छैन यो पुर्पुरोमा अझै कति बुँदाको सम्झौता
लेख्न बाँकी छ ?
हामी नेपाली जनता तीन प्रकारका छौँ
झोले, खोले र नबोले,
झोले, उनीहरूले जे जे भन्यो सही थापेर
पछि पछि झोला भिरेर हिँडने झोले,
खोले, कसैको चियो चर्चा नगरी गाउँमै दुःख गरेर
खोले खाएर बस्ने खोले,
नबोले, अन्याय अत्याचार हुँदा पनि
फिटिक्क घरबाट ननिस्कने,
सबैकुरा बुझेर पनि बुझ पचाएर बस्ने नबोले,
तपाई हामी नबोलेमा पर्छौं
हेर्नुस् यो देशको ढुकुटी रित्याएको हर्जना कल्ले भर्छ ?
यसको दोषी नेपाली जनता ठहर्छ,
मान्छेलाई चुनेर पठाए पो मिलेर काम गर्छ
जनावरलाई पठाएपछि झगडा नगरे के गर्छ ?
धादिङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































