डा.हरिप्रसाद सिलवालहाकिमको खप्पर : विसङ्गतिलाई ठक्कर
नेपाली उखान छ– ‘काम लाग्दासम्म भाँडो, काम सक्किएपछि ठाँडो’ । हाकिम पनि काम लाग्ने हुँदा हाकिम र काम नलाग्ने हुँदा खप्पर भएको त हैन भन्ने प्रश्न उब्जाउन सकिन्छ । यस सन्दर्भमा भने प्रस्तुत कृतिले हाकिमको खप्परलाई खोतलेर सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक विकृति वा विसङ्गतिको खेदो खनेको छ । समाज कति दुरूह रहेछ, कति कुरुप रहेछ र कति भ्रष्ट रहेछ भन्ने चित्र हेर्न यो कृति समर्थ देखिएको छ । पैसा नहुनु र त्यसको आशा गर्नु स्वाभाविक हो । यद्यपि प्रशासनको नाममा मान्छे मान्छेबाट झरेर नरकमा खसेको अवस्था हास्यव्यङ्ग्य रचनाले सजिलै उतार्न सक्छ भन्ने प्रमाणलाई हाकिमको खप्परले पेस गरेको पाइन्छ । नेपाली समाजलाई निराशाका बादलले घेरेको छ । आशाका उज्यालो लखेटिएको छ र कुनै एउटा कुनामा गएर रोएर बसेको छ । देखिएको जीवन हाँसउठ्दो छ, बिचराको अवस्थामा छ । कसैलाई मानव सभ्यताको पर्खाल जोगाउने फुर्सद छैन । कसैलाई मानवताको तुना सिउने समय छैन । खान पाएपछि हाँडी घोप्ट्याएर खाने, लाउन पाएपछि जेसुकै देखिए पनि लाउने, बोल्न पाएपछि मुखमा आए जति बोल्ने र लेख्न पाएपछि जानेका जति सबै शब्दहरू लेख्ने काम नेपाली समाजमा देखिन्छन् । जाडो भयो भने आगो नै खान थालेपछि जिब्रो पोल्छ तर पनि नपोलेको स्वाङ देखाएपछि देख्नेलाई कति हाँसो उठ्दो हो । त्यही हाँसोलाई यस हाकिमको खप्परमा जम्मा पारिएको छ ।
व्यक्तिगतदेखि सामाजिक र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रकारका विकृतिलाई नै हास्यव्यङ्ग्यकार आर.सी. रिजालले तारो बनाएका छन् । यस रचनामा रिजाल यसरी खनिएका छन् कि जसरी बाघ आफ्नो सिकार भेटेपछि जन्मेदेखिको बल सोहोरेर दौडन्छ । रिजालले प्रस्तुत हाकिमको खप्परमा मान्छे नामका स्यालहरूलाई ठक्कर दिएका छन् । साथै कति लुब्धराजहरूको छाला काढ्न तिखातिखा भाव बोकेका अक्षरहरू सङ्कलन गरेका छन् । त्यसैले उनले जम्मा गरेको भाव चाहिँ हाँसलाग्दो भएको छ । उनले ठुङ् मारेका खप्परहरू केवल हाकिमका मात्र छैनन् बरु हाकिमको निहुँमा घिउ चाट्ने अरू धुपौरे प्रवृत्ति भएका विकृतमानस यहाँ छताछुल्ल पोखिएको पाइन्छ । यस कृतिले हास्यरसको प्रकट त गरेकै छ तर यसमा विभत्स रसको समेत ओइरो खोत्तिएको पाइन्छ । यस्तो लाग्छ– मानव जीवनका नरकगामी व्यवहारले घिनलाग्दो सगरमाथा ठड्याएको छ । यही सगरमाथामा हास्यव्यङ्ग्यप्रेमी पर्यटकलाई पल्काउन पाए देशको अर्थोन्नति पनि हुने हो कि भन्ने चिन्तन गर्न पनि सकिन्छ । रिजालको आफ्नो समाजको बुझाइ, आफ्नो देशको बुझाइ र आफूले देखभोग गरेको जीवनको भोगाइमा प्राप्त असङ्गत कुराहरू विसङ्गतिको खप्पर बनेको छ । यसमा औँल्याइएको छ– ‘हे भाषणका भकारी, भत्ता डकारी, महान् दूराचारी, एकअर्कालाई आमाचकारी, जनताका भोकरोग नसकारी, जनतातर्फ पछारी, कुर्सीचैँ आफूतिर लछारी, बनेका छन् जनताका मदारी, हे नैतिकताका बलात्कारी, सुप्रसिद्ध प्रवल भ्रष्टाचारी, तिमीहरू हौ धुन्धुकारी, हे मातृभूमिका भारी’ (पृ.३६) ।
कुर्सीमा बसेको मान्छेमा निश्चय नै सार्वजनिक दायित्वहरू हुन्छन् । कुर्सीमा पनि मूल कुर्सीमा बस्नेलाई हाकिम भनिन्छ । हाकिम कर्मचारीलाई काम निर्देश गर्ने र आफू पनि धेरै जिम्मेवारी भएको कर्मचारी हो । यो सिलसिला पनि यस कृतिमा रोचक र घोचक ढङ्गले विषयवस्तु बनेको छ । वास्तवमा हाकिमलाई सबैजना गाली गर्छन् । हाकिमका अघि भने ताली जोड्छन् र नमस्कार तेस्र्याउँछन् । बिचरा हाकिम कुर्सीमा बसे पनि कामको तालमेल नमिलेर खराब टाउको बनाउन विवश छ । त्यो विवशतालाई हास्यव्यङ्ग्यकार रिजालले यस्तो हाकिमे प्रवृत्तिसँग जोडेका छन् जसको टाउकोभित्र विवेक नै छैन । विवेक नभएपछि खराब टाउको वा ‘मुड’ लिएर कार्यालयको समय बिताउनुपर्ने हाकिमको टाउकोलाई रिजाल खप्पर भन्ने न्वारान गर्छन् र खप्परवृत्ति भएका सबैलाई प्रहारको छप्प्रले हान्न थाल्छन् ।
रिजालको हारमा परेका अमङ्गल खप्परहरूमा हामी वरिपरिकै विनसित्तीका हाकिमहरू रहेका छन् । आमखुट्टेको बुद्धि बोक्नेहरू दामखुट्टे भएपछि त्यो खप्परले गर्दा अरु कति खप्परले दुःख पाउँछन् त्यसको सीमै छैन । आरुबारी चोरहरू छन्, कुखुराको खोरभरि चोरहरू छन् । काँक्रोको थाँक्रो बोक्ने पनि चोर नै छन् तर तिनैलाई हाम्रो तन्त्रमा हाकिम बनाइएको व्यहोरा नै यस कृतिको फेहरिस्त हो । मान्छेले इमान गुमाएको छ तर मान्छे हुँ भन्ने पद छोडेको छैन, मान्छेले दिमाग गुमाएकोृ छ तर हाकिमको कुर्सी छोडेको छैन र मान्छेले आफ्नो वस्त्र सबै गुमाएको छ तर प्रतिष्ठाको गीत गाउन छोडेको छैन । त्यसै भएर यहाँ हाँसोको गलपाँसो लागेको छ यो हास्यकृतिको नासोमा । यसलाई हेर्दा कसैलाई त पासो नै हुनसक्छ भने कसैलाई हाँसो । यहाँ ज्वाइँको बखानदेखि कविको उखानसम्म, हात हेर्ने धुलौटे बाजेदेखि आधुनिक डाक्टरसम्म, राजखानीका मान्छेदेखि लुतो फाल्ने देउतासम्म, हाकिमको खप्परदेखि सापटको झापटसम्मलाई विषयान्तर बनाइएको छ । समाजको हृदयविदारक चित्कारलाई हाँसोमा उडाउन सकिन्न । यद्यपि त्यो चित्कारमा खित्कार हुने पात्रहरूको नाङ्गे चरित्र देखेर नहाँस्न पनि सकिन्न । नेता भएर भाषण चुट्दैमा देशमा तातो आलु फल्दैन भन्ने तातो दर्शनलाई व्यङ्ग्यात्मक शिल्पमा प्रकाश पार्न यस कृतिले निकै तर्कहरू पस्केको छ ।
‘मै हुँ भन्ने कत्रा कत्रा नेताले यो राष्ट्रमा योगदान गरेर नापे । यसमा अप्ठ्यारा जीवनलाई हास्यात्मक रुपमा उठाइएको छ र त्यसको दोषग्राही विवेचना भएको छ । मान्छेको गिर्दो काम गर्ने तरिका दुनियाँका निम्ति हाँसोको मसला नै हुन्छ । एउटा कवि काव्यको मर्यादा जोगाउन सक्दैन, एउटा नेता नेतृत्वको मर्यादा जोगाउन सक्दैन, एउटा डाक्टर आफ्नो पेसाको मर्यादामा बस्न सक्दैन, एउटा कर्मचारी आफ्नो कर्तव्यभित्र बस्न सक्दैन, एउटा समाजसेवी सामाजिक सदस्य बनेर बस्न सक्दैन भने त्यहाँ हाँसोको लहर पैदा हुन्छ । मान्छेको विवेक खप्परमा परिणत हुन्छ । त्यसैलाई बटुलेर यस हाकिमको खप्परमा पस्कन सफल भएका छन् हास्यव्यङ्ग्यकार आर.सी. रिजाल ।
यस कृतिले सामाजिक विसङ्गतिको खोइरो खन्ने राम्रो प्रयास गरेको छ । विसङ्गति एक छेउमा मात्रै छैनन् र एक प्रकारका मात्रै पनि हुँदैनन् । नेपाल, जहाँ अनेक रीतिरिवाज छन्, चाडपर्वहरू छन् र मानिसका मनमा अनेक प्रकार तथा प्रवृत्तिका उमङ्गहरू छन् । यद्यपि यिनै उमङ्गभित्र, यिनै चाडपर्वभित्र र यिनै रीतिस्थितिभित्र अनेक खालका असङ्गतिका थुप्राहरू कुप्रा परेर बसेका छन् । जीवन रहरलाग्दो हुनुपर्नेमा डरलाग्दो बनेको छ । जीवन सरल र सरस हुनुपर्नेमा सङ्कटपूर्ण बनेको छ । यसलाई प्रस्तुत हास्यव्यङ्ग्यले निकै ठुङ् मारेको देखिन्छ । हामी चाड मनाउने नाममा पैसाको खोलो बगाउँछौ । पैसा हुनेले त बगाएरे, नहुनेले पनि ऋणको पोको पारेर नक्कल गर्छौ र देखासिकी गरी जीवन उन्नत भएको परिहास बाँच्छौँ । पश्चिमी संस्कार हाम्रा लागि सबै सभ्य हुने छैनन् भन्ने कुराको चुरा हाम्रो दिमागले लगाउनुपर्छ तर झन् झन् हामी हाम्रोपनबाट पाश्चात्यगामी बनेका छौँ । आर्थिक समस्या र चेतनाको समस्या बराबरी रोग भएर हाम्रा आँगनमा नाचिरहेको छ । त्यही नाच हास्यव्यङ्ग्यकारले जाँचिरहेका छन् ।
‘चाउरेले हुत्याएको पट्काले बूढीआमाको कानमा ठूलै झट्का दियो…हैन पट्का पट्काउनेलाई विधिवत् गाला चट्काउने नियम बनाउन मिल्दैन र ?’ (पृ.५६) ।
यसरी सामाजिक दयनीय अवस्थालाई धारे हात लाउने कृतिका रुपमा प्रस्तुत हाकिमको खप्पर उपस्थित भएको छ । व्यङ्ग्यकार आर.सी. रिजालको यस कृतिमा व्यक्त कुराहरू कुरुपताको अन्त्य गर्नु पर्ने सुन्दर विचार हुन् । राष्ट्रिय गरिमाको स्थानमा फोहोरको पहाड देख्दा रिजाललाई काउकुती लाग्नु स्वाभाविक छ । उनी कुनै पनि अस्वाभाविक कामलाई आलोचना नगरी टुलुटुलु हेरेर बस्न सक्दैनन् । यद्यपि व्यङ्ग्यकारको व्यङ्ग्यमाथि चर्चा हुने हो भने अर्को यस्तै लेखकले विषय नै नपाउँदो हो । किन त्यस्तो हुनसक्थ्यो यो लथालिङ्ग चाला भएको मुलुकमा । त्यो विकृति अर्को हाकिमले सम्हाल्छ र नयाँ व्यङ्ग्यकार नयाँ काउकुती प्रकाशन गर्न तम्सनुपर्ने हुन्छ । कृतिमा आइसकेका यस्ता आलोचनालाई पूरापूर बहसको रुपमा ल्याएर उपचार गर्ने हो भने देशको अनुहार कति फेरिँदो । भ्रष्ट, बेइमान र झूट तथा अनैतिकताको स्थानमा कति हरिया दुबो पलाउँदो हो । आहा त्यो त कल्पनाको देश नै छ अहिलेसम्म । यहाँ त हाकिमका खप्परहरू छन्, दिमाग छैनन् । यहाँ त रोग फालिँदैन् बरु देउता फालिन्छ । यहाँ त कविहरू पनि पिलन्धरे छन् । काव्यको मर्यादा राख्न नभई सम्मानको भोक बोकेर कविता लेख्छन् । कर्मचारीतन्त्रमा गतिलो काम गर्ने मन्त्र छैन । गतिला सोझाहरूलाई पाखा लगाइन्छ । नेताहरूमा पनि नैतिकहरामलाई कुर्सी दान मिल्छ तर सोजो बाटोमा राजनीतिको झोला बोक्नेलाई गोर्खेलौरी लगाइन्छ । ऊ चाकडी र चुक्लीको सिकार बन्छ । डाँकाहरूले विजय पाउँदै जान्छन् र नीतिहरू डाँकातन्त्रमा परिणत हुन्छ । आगो खाएर हिँउ निकाल्ने जादूगरहरू देशको नेता बन्छन् र गरिबहरूलाई जालमा पार्ने शब्दजाल बुन्छन् । त्यसैले आर.सी. रिजाल यस खप्परमा यस्ता असङ्गत अवस्थामाथि कटाक्ष गर्न पुग्छन् र खराब मस्तिष्क बोकेको हाकिमीतन्त्रलाई धज्जी उडाउन थाल्छन् । इमान मासिएका बेइमान बस्तीमा पसेर व्यङ्ग्यकार रिजालले एकसे एक खराब काम, प्रवृत्ति र पारालाई शब्दसूली लगाएका छन् । उनले देखेको यो गाईजात्रे दृश्य सबैले भोगेका छन् । ध्यान दिनुपर्ने निकाय कुम्भकर्ण भएपछि नौ ताल बाजा बजाएर उफ्रे पनि कुरो उही भइरहेको छ । तथापि आशको बत्ती बालेर रिजालले समाजलाई सफा पार्न यस्ता अँध्यारा, डढेका काला कर्तुतहरू निकालेका छन् । यो कृति त नेपाली समाजको कुची नै हो जसले मान्छेका टाउका टाउकामा गएर, हाकिमका टाउका टाउकामा पुगेर फोहोर उधिनेको छ र यस्ता फोहोरले हामी दुर्गन्धित छौँ भनी हाँसेर नै अगाडि सारिदिएको छ ।
‘ती महापुरुषका भाइभतिजा, साला आदिलाई भन्सार पु¥याएर संसार देखाएँ । सातपुस्तालाई उघ्राएर बस्न पुग्ने सम्पत्ति थुपार्दिएँ’ (पृ. ४४) ।
रिजालले हास्यविधालाई सामाजिक कुरुपतामाथि प्रहार गर्ने शैली र सामग्री बनाएका छन् । नेपाली हास्यव्यङ्ग्य साहित्यमा भैरव अर्याल, केशवराज पिँडाली, वासुदेव शर्मा लुइँटेल आदिले यस विधाको प्रतिष्ठा स्थापना गरेको पाइन्छ । यस सिलसिलामा अन्य धेरै हास्यव्यङ्ग्यकारहरू लाम लागेका छन् । आ. सी. रिजालले पनि यो बाटोबाट मुलुकलाई सपार्ने सपना बोकेको देखिन्छ । प्रस्तुत कृतिका सन्दर्भमा रिजालको व्यङ्ग्यविचार सुन्दर रुपमा आएका छन् । घुसखोरी, भ्रष्टाचारी, दमनकारी, नैतिकताहीन, तुच्छ प्रवृत्तिका नेता, कर्मचारी, व्यापारी, साहित्यकार, समाजसेवीको चरित्रचित्रण गर्ने काम यस कृतिको उल्लेखनीय पक्ष हुन् । सबै कर्मचारी भ्रष्ट छैनन् र सबै समाजसेवी यस्ता नक्कली सेवी हुँदैनन् । त्यसैगरी सबै साहित्यकार, नेता, व्यापारी पनि बेइमान हुँदैन । केहीको बेइमानीले यस्ता क्षेत्र नै सिकार हुनुपरेको र सबैमा प्रतिष्ठाको मानमर्दन भएकोतर्फ रिजालको सङ्केत निकै प्रशंसनीय देखिन्छ । भाषिक कलामा उनले देखाएको हास्य शैली र रसात्मक वाक्यगठन पनि विश्लेषणीय छन् । पूर्वीय संस्कृत साहित्यमा हास्य रसलाई मूल रुप मान्ने विद्वान्हरू निकै छन् । तिनै विद्वान्को मतमा हाँसोलाई दुई ओटा रोग सँगै उपचार भइरहेको हुन्छ– एउटा पाठकको स्वास्थ्य र अर्को व्यङ्ग्यकारको ठम्याइप्रतिको सामाजिक सचेतता । यसअनुरुप हाकिमको खप्परले राम्रो योगदान दिएको देखिन्छ । अनुप्रासात्मक र उखानटुक्केली ग्रामेली भाषा पनि यस कृतिको सफल र सबल पक्ष हुन् । यति हुँदाहुँदै पनि रिजालको प्रस्तुत कृतिमा व्यङ्ग्यात्मक फितलोपना भने हटेको छैन । कतिपय स्थानमा उनले कम महत्व दिनुपर्ने विषयलाई बढी जोड दिएको देखिन्छ । त्यसबाट हास्यविधाको मर्यादा नै व्यङ्ग्यमा पर्ने त हैन ? भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । कतिपय स्थानमा अतिशयोक्ति दोषले पनि यस कृतिलाई स्पर्श गरेको छ । हाँसोको विषय विकृति हो । तर मृत्यु, दुःख, संवेदनशील अवस्था र गोपनीयता जस्ता कुरामा यस विधालाई दबाब दिन खोज्दा आफैमा अभिव्यक्तिको विकृति पनि आउन सक्छ । आफ्नो कात्रो किन्न आफैले अह्राएको प्रसङ्ग, लुगा छोटो लगाएको सन्दर्भ, सिजन भ्याकेसनजस्ता सन्दर्भहरू नपच्ने गरी कम बौद्धिक–प्राज्ञिक र बढी फितलो तर्क लिएर आएको देखिन्छ । यस्ता केही प्रस्तुतिगत ढाँचाबाहेक प्रस्तुत हाकिमको खप्परमा वैचारिक सुन्दरता पोखिएका छन् जसलाई पेट मिचीमिची टिप्न सकिन्छ ।
नलाङ–६, धादिङ
फित्कौली– अङ्क १६ बाट
Subscribe
Login
0 Comments
Oldest








































