साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हँसाउने मान्छेको कहालीलाग्दो जिन्दगी

Nepal Telecom ad

ठुलाठुला जुत्ता, ह्वार्ल्याङ्गे पाइन्ट, सानो टोप, सानो कोट, छोटा जुँगा, बेतको लौरो टेकेर बुङ्चुङ बुङ्चुङ हिँड्ने मान्छे सम्झने बित्तिकै सबैको आँखा अगाडि चार्लीकै तस्बिर झल्किन्छ । हाँसो, मनोरञ्जन, अर्थ, राजनीति व्यंग्य, प्रेम, आँसु, पीर व्यथा सबै प्रस्तुतीकरणमा खप्पिस चार्ली संसारकै चर्चित कलाकार हुन् । उनका चलचित्र हेर्न बसेपछि दर्शकहरु सुरुमा रमाएर हाँसछन्, त्यसपछि अव्यवस्थित र असमाना सामाजिक परिस्थितिका वास्तविक तथ्य बुझेर मन अमिलो बनाउँछन् । एकैपटक दर्शकलाई हँसाउने र रुवाउने क्षमता भएका चार्लीको जीवनमा भने कहिल्यै हाँसो र खुशी आएन । सधैं अभाव र व्यथामा बाँच्नुपर्‍यो । उनका मातापिता दुवैजना लन्डनमा रंगमञ्चहरुमा काम गर्ने व्यवसायिक कलाकार थिए ।

उनी सन् १८८९ अप्रिल १६ को दिन लण्डनमै जन्मिएका थिए । उनका बाबु धेरै रक्सी सेवन गर्थे । ३६ वर्षको उमेरमा बाबुको मृत्यु भयो । एक्ली आमाले उनी र दाजु सिड्नीलाई निकै कष्ट सहेर हुकाईन् । पाँच वर्षको उमेरदेखि नै चार्लीले धेरैपटक रंगमञ्चहरुमा बाल कलाकारको रुपमा काम गर्न थाले । अभाव र गरिबी झेलेका चार्ली सडकमा भोकभोकै भौंतारिन्थे । फूल बेच्ने, पसल र घर कुर्ने काम गर्दागर्दै उनले विद्यालयमा पढ्ने अवसर पाएनन् । जिन्दगी अभाव र पीडामा रुमल्लिएपनि उनको क्षमता अद्भूत थियो । रंगमञ्चमा उनले देखाएको प्रस्तुतिको सबैतिर चर्चा हुन थाल्यो । सन् १९१३ मा उनी लण्डनबाट अमेरिका गए र त्यहाँको चलचित्रमा जम्न थाले ।

चार्ली च्याप्लियनको जिन्दगी कति धेरै कष्टपूर्ण थियो भन्ने कुरा उनको आत्मकथा पढ्दा झन बढि स्पष्ट हुन्छ । उनको आत्मकथा यस्तो छ :

मलाई आमाको याद आउने सुरुका घटना थियटरसँग सम्बन्धित छन् । त्यतिवेला म साढे तीन वर्षको हुँदो हुँ । ती दिन, हाम्रा बाल्यकालका सबैभन्दा रमाइला दिन थिए । आमा प्रत्येक साँझ थियटर जानुहुन्थ्यो । जानुअघि म र मेरो दाइ सिड्नीलाई बेडमा सुताएर जानुहुन्थ्यो । हामीलाई हेर्ने एउटी कामदार थिइन् । हामी बिहान उठ्दा डाइनिङटेबलमा रंगिबिरंगीका केक या मिठाई राखिएका हुन्थे । ती चिज दैनिक पाउन एउटै सर्त थियो । हल्ला नगर्ने । किनकि आमालाई बिहान अबेरसम्म सुत्नुपर्थ्यो । हामीलाई शान्त गराउन उहाँ राति नै ती खानेकुरा प्लेटमा राखेर सुत्नुहुन्थ्यो । त्यसवेला मलाई सबै कुरा सम्भव लाग्थ्यो । मेरो दाइ मभन्दा चार वर्ष जेठो थियो । उसले त्यतिवेला सिक्का निल्थ्यो र टाउकोपछाडिबाट निकाल्थ्यो । मलाई लाग्थ्यो म पनि सक्छुु । मैले एकदिन सिक्का निलेर टाउकोपछाडिबाट निकाल्ने निर्णय गरेँ । मैले निलेँ, तर सिक्का मेरो टाउकोपछाडिबाट निस्किएन बरु घाँटीमा अड्कियो । बेकारमा मेरो आमालाई डाक्टर बोलाउनुपर्यो ।

आमा त्यतिवेला ३० वर्ष हाराहारीमा हुनुहुन्थ्यो । उहाँ बहुप्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । थियटरबाट साताको २५ पाउन्ड कमाउनुहुन्थ्यो । उहाँको अनुहारको रंग गोरो थियो, बैजनी नीलो आँखा थियो, हल्का र कैलो कपाल थियो । उहाँको कपाल यति लामो थियो कि त्यसमाथि सजिलै बस्न सक्नुहुन्थ्यो । उहाँ असाधारण सुन्दरी नभए पनि हामीलाई स्वर्गको कुनै परी भन्दा कम लाग्नुहुन्नथ्यो । जो मान्छेहरू उहाँलाई चिन्थे उनीहरू भन्छन्, सुन्दर र आकर्षक हुनुहुन्थ्यो उहाँमा मान्छेलाई बाँध्न सक्ने क्षमता थियो ।

एकदिन अचानक हामीलाई लाग्यो, आमालाई केही तनाब छ । उहाँ बिहान केही साथीसँग बाहिर जानुभएको थियो, र्फकंदा धेरै भावुक हुनुहुन्थ्यो । आमा रुँदै आर्मस्ट्रङको नाम लिइरहनुभएको थियो । यो भन्यो, त्यो भन्यो आदि । आमाको यस्तो अवस्था हामीले कहिल्यै देखेका थिएनौं । आमा हत्तपत्त रुनुहुन्नथ्यो । आमा रोएको देखेर म पनि रुन थालेँ । म यति रोएँ कि आमाले मलाई काखमा लिएर फुल्याउनुभयो । पछि मलाई थाहा भयो आमा अदालतबाट र्फकनुभएको थियो । आमाले मेरो बुबाको विपक्षमा मुद्दा दायर गर्नुभएको थियो, भरण(पोषणको खर्च दिलाइपाउँ भनेर । र, त्यो आर्मस्ट्रङ मेरो बुबाको वकिल थियो ।

म बुबालाई निकै कम जान्दथेँ । त्यतिवेला मैले मुस्किलले दुईपटक मात्र भेटेको थिएँ, सायद । उहाँ पनि बहुप्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । एकदम शान्त र चिन्तनशील । उहाँका आँखा धेरै काला थिए ।
आमा भन्नुहुन्थ्यो उहाँ हुबहु नेपोलियनजस्तो देखिनुहुन्थ्यो । उहाँको मसिनो स्वर थियो । अभिनयमा उहाँलाई गजबको कलाकार मानिन्थ्यो । त्यस समयमा पनि उहाँ साताको ४० पाउन्ड कमाउनुहुन्थ्यो । उहाँको नराम्रो एउटै पक्ष थियो रक्सी धेरै पिउनुहुन्थ्यो । त्यही नै थियो आमा र बुबाबीचको मुख्य झगडाको कारण । रक्सी पिउनु सुरुमा बुबाका लागि बाध्यताजस्तो थियो । त्यतिवेला रक्सी थियटरमै बेचिन्थ्यो । कलाकारले प्रस्तुतिपछि ग्राहकसँग बसेर रक्सी पिउनुपर्थ्यो । केही थिएटर त नाटक देखाएर कम र रक्सी बेचेर धेरै पैसा कमाउँथे । त्यसले बुबालाई रक्सीको लत लगायो । अनि त्यही रक्सीकै कारण मेरो बुबाको ३७ वर्षको उमेरमै मृत्यु भयो ।

आमा उदास भएर उहाँको कहानी बताउनुहुन्थ्यो । रक्सी खाएपछि बुबा उग्र हुँदै जानुहुन्थ्यो रे १ त्यस्तैमा एकदिन आमा साथीहरूसँग ब्राइटनु भाग्नुभएछ । बुबाले तुरुन्त खबर पठाउनुभएछ तिम्रो विचार के हो ? आमाले खबर फिर्ता पठाउनुभएछ नाच्ने, गाउने, पार्टी र मोजमस्ती गर्ने डार्लिङ ।

मेरो आमा १८ वर्षको उमेरमा एक अधवैंशे मानिससँग अफ्रिका भाग्नुभएको थियो । त्यही वर्ष सिड्नीको जन्म भएको थियो । मलाई बताइएअनुसार, उसको बाबु धनाढ्य सामन्ती थियो । आमा मीठो गाउनुहुन्थ्यो । तर, उहाँको घाँटी खराब भइरहन्थ्यो । सामान्य चिसोले पनि असर गर्थ्यो । आमाको स्वर विस्तारै सुक्दै थियो ।
एकदिन एउटा भयंकर घटना घट्यो । त्यसले हाम्रो दैनिक जीवनलाई ध्वस्त बनाइदियो । म जम्मा पाँच वर्षको थिएँ । आमा मलाई सँगै थियटर लिएर जानुहुन्थ्यो । त्यतिवेला आमा कैटिन एट द अल्डरसटुमा काम गर्नुहुन्थ्यो ।

त्यो फोहोर र जसोतसो चलिरहेको थियटर थियो । धेरैजसो फौजी त्यो थियटरमा आउँथे । उनीहरूलाई निहुँ खोज्न सामान्य कारण भए पुग्थ्यो । त्यो नाटकघरमा एक साता बिताउनु पनि ठूलै साहसको कुरा थियो ।
मेरो आमा गाउन स्टेजमा जानुभयो । म छेउमा बसेर हेरिरहेको थिएँ । आमाको आवाज सुकेको थियो । एकैछिनमा सासले गाउन थाल्नुभयो । श्रोताहरू अब उत्तेजित भए । उनीहरू मुखमा आएको बोल्न थाले ।
कोही कोहीले त कुकुर बिरालाको आवाज निकालेर जिस्क्याउन सुरु गरे । आमाले त्यसलाई थेग्न सक्ने कुरै भएन । उहाँ अत्तालिँदै भित्र पस्नुभयो । त्यहाँ के भइरहेको थियो, मैले मेसो पाउन सकिनँ । आमा स्टेजम्यानेजरसँग बहस गरिरहनुभएको थियो ।

उसले मलाई एउटा हातले समाएर स्टेजमा लग्यो । तब मैले थाहा पाएँ, आमासँग मलाई स्टेजमा पठाउने विषयमा बहस भइरहेको थियो । उसले मलाई आमाको साथीको अगाडि अभिनय गरेको देखेको थियो । उसले मेरो परिचय दियो र गयो । अब म स्टेजमा एक्लै भएँ । मैले गाउन सुरु गरेँ । आरकेस्ट्राले मेरो साथ दिइरहेका थिए । एकछिनमा मैले त्यतिवेलाको हिट गीत जैक जोन्स गाउन सुरु गरेँ ।
मैले आधा मात्रै गीत के गाएको थिएँ, स्टेजमा सिक्काको वर्षा भयो । मैले तत्काल घोषणा गरें । पहिला म पैसा टिप्छु अनि गीत गाउँछु । यसमा धेरै मानिस हाँस्न थाले । स्टेजम्यानेजर आयो र रुमालमा सिक्का बटुल्न थाल्यो । मलाई लाग्यो कि त्यो सिक्का उसले आफूसँग राख्न चाहन्छ । मैले दर्शकलाई त्यो कुरा पनि भनेँ । मानिस हाँसेको हाँस्यै भए । त्यतिवेला ऊ रुमाल लिएर जाँदै थियो । म भने पछि पछि दौडँदै थिएँ । उसले आमाको हातमा त्यो सिक्का नराखिन्जेल म गाउन स्टेजमा आइनँ । आमाको हातमा सिक्का परेपछि मात्रै म सहज भएँ । 

म नाचेँ, विभिन्न नक्कल गरें, मैले आमाको आयरिस मार्च थिमको पनि नक्कल गरें । मैले गीत गाउँदा गाउँदै आमाको सुकेको आवाजको पनि नक्कल गर्न पुगें । यसले दर्शकमा गजबको असर पर्यो । उनीहरू पेट मिचिमिचि हाँस्न थाले । फेरि सिक्काको वर्षा हुन लाग्यो । जब आमा स्टेजमा मलाई लिन आउनुभयो, दर्शकले जमेर ताली बजाए । त्यो रात मेरो पहिलो सो थियो, आमाको अन्तिम ।

हामीलाई अदालतले भरण(पोषणका लागि बुबाबाट साताको १० सिलिङ दिन लगाएको थियो । केही समय त नियमित आयो । तर, बाबुको रक्सी खाने बानीका कारण थियटरमा कम काम पाउन थाले । हामीले पाउने १० सिलिङ पनि कम हुँदै गयो । आमाको काम पूरै बन्द भयो । उहाँले केही रकम जगेडा गरेर राख्नुभएको थियो । त्यो पनि अब क्रमशः कम हुँदै गयो । हाम्रो घरबाट कामादार हटायौं । तीन कोठामा दुई कोठा र दुईबाट एक कोठाको घरमा सर्यौँ । यससँगै अब हाम्रो छिमेकीस्तर पनि घट्दो थियो । अनि हाम्रो घरको सामान पनि ।
सबै सामान बेच्दा अब आमाको थियटरको पोसाक मात्र बाँकी थियो । आमाले त्यसलाई यो आशमा सम्हालेर राख्नुभएको थियो कि उहाँको आवाज र्फकन्छ र फेरि थियटरमा काम गर्न जानुहुन्छ । आमा त्यो बीचमा थरी/थरीको अभिनय गरेर देखाउनुहुन्थ्यो । हामी ओक्ले स्ट्रिटुमा एउटा कोठामा बस्दाको कुरा बिर्सन्न । म भर्खर ज्वरोबाट उठेको थिएँ ।

सिड्नी रातिको स्कुल गएको थियो । आमा भित्ताको अडेस लगाएर न्यु टेस्टामेटु पढिरहनुभएको थियो । अभिनय पनि सँगसँगै गर्दै हुनुहुन्थ्यो । उहाँले यशूको विषयमा सम्झाउन गरेको अभिनय बेजोड थियो । त्यस्तो अभिनय मैले अहिलेसम्म देखेको छैन, सुनेको पनि छैन । रातिसम्म आमाले पढिरहनुभयो । आमाले मलाई यशूमाथि भएका अत्याचारबारे बताउनुभयो । यशूलाई कसरी निर्वस्त्र गरियो, उनको निधारमा कसरी किला ठोकिए, यो सबै सुनाउँदा आमाको गालामा आँसु झरेको थियो । आमाले मलाई यति भावविह्वल बनाउनुभयो कि म मरेर यशूसँग जान चाहन्थें । तर, आमा उत्साहित हुनुहुन्थ्यो । उहाँले भन्नुभयो यशूले पूरै जिन्दगी बाँच्नुपर्छ, त्यसैले अहिले मर्ने कुरा गर्नुहुन्न ।

हामीसँग लुगा लगाउन पैसा पनि हुन्नथ्यो । अहिले खाए भरे के खाने ? भन्ने स्थितिमा थियौँ, हामी । धेरै जाडो थियो, सिड्नीको कपडा कम हुँदै गएको थियो । त्यसैले आमाले आफ्नो पुरानो रेशमी ज्याकेटमध्येबाट एउटा कोट सिलाइदिनुभएको थियो । त्यो कोटमा कालो र रातो मिसिएको धारिलो बाहुला थियो । सिड्नीले त्यो कोट लगाउन अस्वीकार गर्यो । कारण बतायो मलाई स्कुलमा जिस्क्याउँछन् । आमाले फकाउनुभयो (यति राम्रो कोट छ । तिमीलाई राम्रो सुहाएको छ । कसले के भन्छ वास्ता गर्नुहुन्न । आमाले सम्झाउने तरिका यति सानदार थियो कि सिड्नी कोट लगाउन तयार भयो । त्यो कोट र आमाको अग्लो हिल काटेर बनाएको जुत्ता लगाउँदा सिड्नीको स्कुलमा धेरैपटक झगडासमेत भयो । उसलाई सबै केटा जोसेफ र उसको रंगिबिरंगी कोट भनेर जिस्क्याउँथे ।
सिड्नी स्कुलबाट समय निकालेर पत्रिका बेच्न जान्थ्यो । त्यसले हात्तीको मुखमा जिरा हुथ्यो । एकदिन सिड्नी चिच्याउँदै आयो । उसको हातमा एउटा पैसाको थैली थियो । उसले पत्रिका बिस्तारामा फ्याँक्दै भन्यो मैले एउटा पैसाको थैली भेट्टाएको छु । आमाले त्यो थैली खोलेर हेर्नुभयो, त्यहाँ चाँदी र सुनका सिक्का थिए । आमाले तत्काल त्यसलाई बन्द गर्नुभयो र बिस्तारामा पल्टिनुभयो ।
सिड्नी पत्रिका बेच्न बसमा चढ्ने गर्थ्यो । उसले बसको माथिल्लो तलाको सिटमा त्यो थैली देखेछ । त्यो थैलीमाथि उसले पत्रिका राख्यो र पत्रिकासँगै त्यो थैली पनि उठाएर बसबाट उत्रियो र टाप कस्यो ।
अलि पर पुगेर एउटा होर्डिङ बोर्डको पछाडि उसले खोलेर हेर्यो । मेरो मुटु अझै धड्किरहेको छ, सिड्नीले उत्साहित हुँदै भन्यो । हामीले त्यो थैली पूरै टकटक्यायौँ । त्यसको भित्र एउटा गोजी थियो । त्यसमा थप सातवटा सुनका सिक्का थिए । हाम्रो खुसीको सीमा रहेन । त्यो पर्समालिकको अत्तोपत्तो थिएन । त्यसैले त्यसको मालिकप्रति दुःखी हुँदै हामीले त्यो पैसा चलाउने निर्णय गर्यौँ । त्यसपछि हाम्रो शरीर नयाँ लुगाले ढाकियो । हामी आमालाई निको भएपछि समुद्रतटमा घुम्न गयौँ । बिस्तारै हाम्रो त्यो खजाना पनि सकियो । आमाले जागिर खोज्ने कति कोसिस गर्नुभयो, पाइएन । अब आमाले सिलाउने मेसिनसमेत किस्तावालाले उठाएर लगे ।

बुबाले पठाउने १० सिलिङसमेत बन्द भयो । झोंकमा आमाले अर्को वकिल राख्ने सोच्नुभयो । उसले आमासँग पैसा नभएको देखेपछि सल्लाह दियो, कुनै वर्कहाउसमा भर्ना हुनूस् । आमासँग दुईवटा बच्चा पाल्ने बोझ थियो, त्यसमाथि आफ्नो स्वास्थ्य खराब । हामीलाई नयाँ वकिलले सल्लाह दियो, कुनै वर्कहाउसमा भर्ना हुनूस्, त्यसले हाम्रा बुबालाई रकम भर्न दबाब दिनेछ ।

हामीले वकिलको कुरा मानेर या भनौं बाध्यताले लेम्बेथको वर्कहाउसमा भर्ना भयौँ । हामीलाई थाहा थियो, त्यहाँ बस्न दिक्क हुनेछ । तैपनि, हामीलाई लाग्यो एउटा कोठाको फोहोरमा बस्नुभन्दा त्यहाँ केही त फरक होला । त्यो सपना गेटमा पुग्न नपाउँदै तुहियो । हामीलाई बच्चाको वार्डमा राखियो । आमालाई महिला वार्डमा । आमा एक साताभित्रै बूढी देखिन थाल्नुभएको थियो । आमा यति तनाबमा हुनुहुन्थ्यो कि एकदिन हामीले सुन्यौँ आमालाई पागलखाना लगियो । केही समय वर्कहाउसमा बसेपछि हामीलाई अदालतले बाबुको जिम्मा लगायो । अब हामी बुबा र उहाँकी अर्की श्रीमती लुइससँग बस्न थाल्यौँ । त्यहाँ एउटा सानो बच्चा पनि थियो । त्यो मेरो भाइ थियो । लुइसले हामी दुई भाइलाई राम्रो व्यवहार गर्दिनथिन् । सिड्नीलाई झनै गर्दिनथिन् । बीचमा हाम्रो कारणले लुइस र बाबुको झगडासमेत भयो । कैही महिनामा लुइसले एउटा चिठी पाइन् । त्यसमा लेखिएको थियो आमा पागलखानाबाट छुट्नुभयो । त्यसको एकरदुई दिनमा घरबेटी आएर भनिन्( हाम्रो ढोकामा कुनै महिला खडा छ । लुइसले भनिन त्यो तिम्रो आमा हो । सिड्नी कुद्दै आमालाई अँगालो हाल्न पुग्यो । हामीले सामान प्याक गर्यौँ । यतिवेला भने लुइसले सिड्नीलाई राम्रोसँग बिदा गरिन् ।

अब हामी आमासँग बस्न थाल्यौं । उहाँले सानो कोठा लिनुभएको थियो । अब आमाले मलाई नाटकप्रति रुचि बढाउनतिर लाग्नुभयो । उहाँले ममा यो भावना जगाउनुभयो कि ममा पनि केही प्रतिभा छ ।
मेरो बुबाले मिस्टर ज्याक्सनलाई चिन्नुहुन्थ्यो । उहाँले आमालाई मनाउनुभएको थियो, मलाई थियटरमा लैजान । ती ज्याक्सन एउटा ट्रुपका सञ्चालक थिए । मलाई उनले आफ्नो मण्डलीमा लिए । ६ साताको अभ्यासपछि म मण्डलीमा नाच्न सक्ने भएँ । म नाच्न पाएकोमा खुसी थिइनँ । जब कि म त्यतिवेला आठ वर्ष मात्रै पुगेको थिएँ । त्यसमा मेरो पैसा धेरै पाउने स्वार्थबाहेक अर्को स्वार्थ यो पनि थियो कि म नाच्ने झन्झटबाट मुक्त भएर खुला अभिनय गर्न चाहन्थेँ । क्रिसमसको दिन हामीलाई लन्डन हिप्पोड्रममा बिरालो र कुकुरको मौन अभिनय गर्ने मौका मिल्यो ।

भान्छाको एक दृश्यमा मलाई उनीहरूसँग गर्न एक रमाइलो दृश्य दिइयो । म बिरालो बनेको थिएँ । मार्सलिन एक कुकुरपछाडिबाट आएर ममाथि लड्नेवाला थिए । म दूध पिउँदै थिएँ । उनी सधैँ गुनासो गर्थे कि म राम्रोसँग कम्मर झुकाउँदिनँ । मैले बिरालोको मुखुन्डो लगाएको थिएँ । म कुकुरको पछाडि गएँ र सुँघ्न थालेँ । दर्शक हाँस्न थाले । मैले बिरालोको आँखा बन्द हुने डोरी तानेँ । मैले सुँघ्दै डोरी तान्दै गर्न थालें । स्टेजम्यानेजर आएर अन्धाधुन्ध हात हल्लाउन थाल्यो । मैले वास्तै नगरी आफ्नो काम गरिरहें ।
कुकुरलाई सुँघेपछि मैले रंगमञ्च सुँघे र खुट्टा उचालें । उसले मसँग रिसाउँदै भन्यो यस्तो काम फेरि नगर्नू, यसरी त तिमीले यो थियटर बन्द गराउँछौ । यसो भन्दा उसको सास फुलिरहेको थियो ।

उज्यालो अनलाइनबाट जस्ताको तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x