साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिसे नगर्चीको बयान

Nepal Telecom ad

मालिक !
म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक !
म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यत्तिमै यो बिसे उफ्रनुपर्ने– थुइक्क बिसे !
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्नरसनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरुप भए ?
यो दरौदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ ।
मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक ?
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको छु भने हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला
मालिक !
मान्छे बौलाएपछि आफैंसित पनि निहुँ खोज्दोरहेछ
अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे !
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला
मालिक !
यस माटोको इतिहाससँगै म हजुरको
राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु ?
म साँच्चै बौलाएँ मालिक १
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x