बज्यैको उपदेश र नातिको–झुकाव
जाडो भो नि, थिएन स्वेटर हरे, ज्याकेट पो कुलिर्यो
सानैथ्यो नि बिहान, साँझ–पखमा ‘जाडो’ झनै उलिर्यो ।
‘बाख्रााले–सब–खान्छ‘ भन्थिन बज्यै, साँच्चै कि ख्याल–ख्याल हो ?
‘बाख्रा–पालन’ पो गरूँ कि घरमा, के गर्नु दोधार भो ??
बाजे ‘नाम र दामका’ पछि डुले, बाबा डुले त्यै पथ
मैले के सकुँला र गर्न सजिलै ? निर्धो छ मेरो रथ ।
‘कुर्सीले’ सब दिन्छ भन्थिन बज्यै, साँच्चै कि ख्याल–ख्याल हो ?
‘कुर्सी–पालन’ पो गरूँ कि घरमा, के गर्नु दोधार भो ??
रातारात कुबेर–आसन दिने ती राहदानीहरू
लक्ष्मी–दौलत–रूप, लाल रङका ती स्वर्ण–खानीहरू ।
‘मन्त्रीले’ सब दिन्छ भन्थिन बज्यै, साँच्चै कि ख्याल–ख्याल हो ?
‘मन्त्री–पालन’ पो गरूँ कि घरमा, के गर्नु दोधार भो ??
रोडिदेवल– ९, बैतडी