साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेको बुद्धि र बाघ

Nepal Telecom ad

उहिलेको कुरा हो । एउटा जङ्गलमा एउटा कुनै बाघले मृगको शिकार गरेर टन्न अघाउँजी खायो अनि जङ्गलको किनारतिर रमित हेर्दै टहलिन थाल्यो । त्यस्तैमा उसले नजिकैको खेतमा एक हल राँगा र एक हल गोरुले खेत जोत्दै गरेको देख्यो । राँगा र गोरुलाई हलीहरूले कुटी–कुटी जोतिरहेका थिए । त्यति ठूल्ठूला राँगा र गोरुहरूलाई एक–एक वटा लिखुरे मान्छेहरूले पछाडिबाट कुटी–कुटी जोतेको देखेर बाघलाई अचम्म लाग्यो । उसले मनमनै सोच्यो “यी राँगा र गोरुहरूले किन यसरी मान्छेले जसो भन्यो त्यसै गरेर मानेका होलान् ? मान्छेले कुटेको पनि सहिराखेका छन् । यिनीहरू त मान्छेभन्दा धेरै बलिया छन् । दाम्लोसाम्लो चाटचुट चुँडाएर त्यो मान्छेलाई हान्नु नि !”

यस्तै कुराहरू मनमा खेलाउँदै त्यो बाघले राँगा र गोरुहरूले खेत जोतेको त्यहीँको झाडीमा लुकेर हेरिरह्यो । एकछिनपछि ती हलीहरूले राँगा र गोरुलाई हलोबाट खोले, खेतको किनारामा भएको ठूलो ढुङ्गाको छेउमा लगेर बाँधे, त्यही ढुङ्गामाथि पराल हालिदिए र उनीहरू खाना खान भनेर नजिकैको कटेरामा गए ।

हलीहरू हिँडेपछि, त्यो बाघ राँगा र गोरुहरू बाँधेको छेउको झाडीमा सुटुक्क आयो र नजिकको राँगालाई सोध्यो– “राँगा भाइ ! तिमीहरू त्यो मान्छेभन्दा ठूला र बलिया पनि छौ । तर उसले तिमीहरूलाई कुटी–कुटी जोतेको छ । किन तिमीहरू ती मान्छेलाई केही पनि नभनेर लुरूलुरू उसले भनेको मान्छौ ? त्यो तिमीहरूलाई बाँधेको डोरीसोरी चाटचुट पारेर किन हिँड्दैनौ ?”

बाघको कुरा सुनेर राँगाले भन्यो– “बाघ दाइ ! तिमीले मान्छेलाई झलक्क मात्र देखेर सानो छ, दुब्लो छ, भनेर भन्दैछौ । तर तिमीले उसको बुद्धि कस्तो छ भनेर देखेका, चिनेका छैनौ ।”

“हँ ! के हो त्यो बुद्धि भनेको ? कस्तो छ मान्छेको बुद्धि ? मलाई पनि देखाइदिन सक्छौ ?”

“अहँ, म आफू देखाइदिन पनि सक्तिन र मान्छेसँग देखाइमाग्न पनि सक्तिन । डर लाग्छ । बरू यसो गर । तिमी आफैं गएर मान्छेसँग “तिम्रो बुद्धि कस्तो छ, देखाइदेऊ त भनेर भन त ! तिमीले भनेपछि देखाई दिन्छ ।”

“हो त पक्का ?”
“हो । मैले ढाँटेको होइन ।”
यस्ता ठूल्ठूला राँगा र गोरुहरूलाई तह लगाएर जोत्न सक्ने मान्छेको बुद्धि कस्तो होला ? त्यो बुद्धि कत्रो होला ? भनेर बाघको मनमा ठूलै खुल्दुली भयो । राँगाले भने झैं उसले मान्छेलाई नै सोध्ने निश्चय ग¥यो र ती हलीहरूले खाना खाँदै गरेको कटेरातिर लाग्यो ।

कटेराको छेउमा पुगेर बाघले भन्यो “मान्छे दाइ ! तिमीसँग बुद्धि भन्ने वस्तु छ अरे । ऊ, त्यो परको राँगाले भनेको । कस्तो छ तिम्रो बुद्धि मलाई देखाइदिन सक्छौ ?”

बाघले भनेको सुनेर मान्छेले कुरा बुझिहाल्यो । बाघलाई राम्रो पाठ सिकाउने बेला यही हो भनेर उसले मनमनै विचार ग¥यो । कुरा बताउँदै एउटा हलीले भन्यो– “हाम्रो राँगाले भनेको ठीक हो, बाघ भाइ । हामी मान्छेसँग बुद्धि त छ । तर कुरा के भने यसरी काम गर्न हिँड्दा हामीले आफ्नो बुद्धिलाई सँगै बोकेर हिड्यौँ भने काम गर्न अपठ्यारो हुन्छ । कामका बेलामा बुद्धिलाई घरमा राखेर हिँड्छौँ । अहिले पनि हामीले हाम्रो बुद्धिलाई घरमा थन्क्याएर आएका छौँ । त्यसकारण अहिले नै तिमीलाई बुद्धि देखाउन सक्तैनौँ त ।”

बाघले भन्यो– “घरबाट ल्याएर भए पनि देखाइदेऊ न, मान्छे दाइ ! मलाई तिम्रो बुद्धि नहेरी भा’को छैन ।”

“अहँ, हुँदैन । हामी बुद्धि लिन घरतिर गएपछि हाम्रा राँगा–गोरु खाउँला भनेर, होइन ? कतिको बाठो त ?”

“म तिमीहरूको राँगा–गोरु खान्न, क्या ? अहिले भर्खर मृग मारेर खाएको छु, टन्न अघाएको छु ।”

“अँ, तिमीहरू जस्तो बाघले अघाएको छु भनेर आफ्नोे शिकारलाई छोड्छ होला !”

“सत्य भनको, म तिमीहरूको राँगा गोरु खान्न । पक्का । तिमीले जे बाचा गर्न लगाए पनि मान्छु । जसरी हुन्छ, तिम्रो बुद्धि चाहिँ देखाइदिनै प¥यो ।”

“त्यसो भए बाघ भाइ, यसो गरौँ । हामी घर गएर बुद्धि लिएर नआउञ्जेलसम्मलाई तिमीलाई ऊ त्यो खाँबामा बाँधेर जान्छौँ । बुद्धि लिएर आएपछि खोलिदिन्छौँ । यसो गर्दा तिमीले हाम्रा राँगा गोरु खान पाउँदैनौ । हुन्छ ?”

“हुन्छ, त्यसै गर । तिम्रो बुद्धि हेर्न म जे गर्न पनि तयार छु ।”
यसरी हलीहरूको कुरामा बाघले मञ्जुरी जनायो । उता राँगा र गोरुहरूले बाघ र हलीहरूको कुरा सुनिरहेका थिए । हलीहरूले बाघलाई खाँबामा डोरीले कसेर बाँधे । बाँधिसकेपछि बाघको वरिपरि र खाँबा वरिपरि खङ्रङ्ङ सुकेको पराल ओछ्याए (छरे) । त्यो परालले बाघ बाँधेको डोरीलाई पनि छोपे ।

त्यसपछि ती हलीहरूले त्यो परालमा आगो सल्काइदिए । सुकेको पराल बाघ वरिपरि ह्वात्तै दनदनी बल्न थाल्यो । आफ्नोे वरिपरि दनदनी आगो बलेको देखेर बाघ डरले अत्तालियो र बल्र्याकबुर्लुक गर्दै बेसरी उफ्रिन थाल्यो । परालको आगोले बाघलाई बाँधेको डोरीलाई पनि भेट्यो । बाघको बल र आगाले भेटेकाले पनि गर्दा बाघको बन्धन–डोरी चुँडियो र डरले बाघ जङ्गलतिर टाप कस्यो । बाघ उफ्रिँदा–उफ्रिँदै हलीहरूले भने– “देख्यौ, बाघ भाइ ! यही हो हाम्रो बुद्धि ।” डरले बाघको सातो उडिसकेको थियो । उसँग सवाल–जवाफ गर्ने अवस्था नै थिएन ।

उता यो घटनालाई राम्ररी हेरिराखेका राँगा र गोरुहरूलाई मान्छेको बुद्धिको राम्ररी फेला परेको बाघको हालत देखेर मरीमरी हाँसो उठ्यो । उनीहरू टाउका हल्लाई–हल्लाई हाँस्न थाले । टाउका हल्लाई–हल्लाई हाँस्दा अगाडि रहेको ठूलो ढुङ्गामा थुतुनो ठोक्किएर चारैवटा राँगा र गोरुका अगाडिका माथिल्लो पट्टिका दाँतहरू सब फुक्लिएछन् । र आजसम्म पनि ती दाँतहरू उम्रिएका छैनन् ।

भद्रपुर १५, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x