अमर अधिकारीहाम्रो शिक्षा प्रणाली
एसएलसीको रिजल्ट आयो, साला यो बर्ष पनि । रिस उठ्यो । घोक्यो घोक्यो घोक्यो, घोक्नै नसक्दा पनि घोक्यो । घोकेको मध्येबाट प्रश्न सोध्यो, जसले बढी सम्झेर लेख्यो त्यो पास, बाँकी फेल । दश दिने अङ्ग्रेजी तालिम लिएका शिक्षक आउँछन् । सरकारी स्कुलमा अङ्ग्रेजीमा निबन्ध घोकाउँछन्– ‘गधा’ र ‘बाउ’को बारेमा निबन्ध लेख्न । सिमित शब्द परिवर्तन गर्न पनि सिकाउँछन् । गत बर्षको एसएलसीको प्रश्न हेरेर, आउने प्रश्नको आँकलन लगाउँछन् अनि दुई ब्लाकबोर्ड उत्तर लेखाउँछन् ।
प्राइभेट भनौदोको कुरा नगरौँ– सुरुमा भर्ना शुल्कको भारी बोकाउँछन् । स्कुलले तोकिदिएको कपडा सिलाउने टेलर देखाउँछन्, स्कुलको रुल अनुसार कपाल काट्ने सैलुन देखाउँछन्, स्कुलमा पढाइने किताब किन्ने पसल देखाउँछन् । स्कुलको रुल अनुसार जुत्ता सिलाउने सार्कीको एड्रेस बोकाउँछन् । त्यसपछि किताबको भारी, त्यसले पुगेन नोट कापीको भारी, अझ रफ कपीको भारी, होमवर्क कापीको भारी । स्वीमिङ गर्नै पर्ने रे, फुट्बल खेल्नै पर्ने रे, कराते सिक्नै पर्ने रे ! स्कुलकै बस कोचिएर चड्नै पर्ने रे ! चार कक्षाको बिद्यार्थीलाई टोलको सिमाना थाहा छैन्, एट्लास घोकाउँछन् । फुस्किएको साइकलको चेन हाल्न आउँदैन, एपोलो एघारको बारेमा घोकाउँछन् । सक्दो अङ्ग्रेजीमा घोकाउँछन् । वाध्य भएर ‘नेपाली’ चैं नेपालीमै घोकाउँछन् । स्कुल बसिन्जेल नो स्पिक नेपाली, स्पिक ओन्ली इङ्लिस ल्यावेज । त्यस्तै परे ‘इङ्लिस मेडियम’ को साइनबोर्ड लगाउँछन्, नेपाली बोले एक शब्दको ५ रुपैयाँ जरिवाना बोकाउँछन् ।
जरिवाना बाउ बिचराले तिरोस् कसरी ? आफै साउदीमा भेडा धपाउँदै हुन्छ, छोरो सक्दो अङ्ग्रेजी घोकोस्, एसएलसीले नरोकोस् । फटाफट प्लस टु सकोस् र युरोप अमेरिका पसोस् । साउदीमा भेडा धपाउँदा गर्मीले सास्ती खाइन्छ, बरु युरोप अमेरिकामा शितलमा बसेर भाँडा माझ्न त पाइन्छ ।
Subscribe
Login
0 Comments
Oldest





































