साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरातल धर्म सङ्कटमा

Nepal Telecom ad

जन्मे हुर्केको धरातलको माया नगर्ने को होला ? एकाध हुन्छन् बाबु, आमा र पृथ्वीलाई माया गर्दैनन् । बम, बारुद, गोलीको होली खेल्नेहरूले भोलिलाई बिर्सिएर रडाँको मच्चाउँछन् र कालान्तरमा डाँको छोडेर रुन्छन् । प्रायश्चित गर्छन्, पछुताउँछन् र आफैलाई धिक्कार्छन् । धरामा जुन थालमा खायो त्यही थालमा थुक्ने बेहोसीहरू धेरै छन् । पृथ्वीलाई आआफ्नो पौरख र क्षमता अनुसार टुक्रा टुक्रा पार्दै देश निर्माण गरेका छन् । कसैले जानी जानी पानीलाई समेत भागबण्डा गरेका छन् भने कोही पानीको मुख देख्न नपाएर भूपरिवेष्ठित स्थितिमा आयात निर्यातको लागि बन्दरगाह र नाकाको माग राख्दै ठूला देशलाई एक तमासले स्तुति प्रार्थना गर्दै चाकरीको चरमचुलीमा पुगेर गर्भायमान सिऊर हल्लाई राखेका छन् । नसकेपछि चाकरी गर्नै पर्यो । चाकरी गरेर नै देउता खुसी हुन्छन् भने एउटालाई नमस्कार किन नगर्ने ? तर सावधान त्यहाँ हुनु पर्छ– आज गतिलो, सज्जन व्यक्तित्वलाई नमस्कार गरियो भन्दैमा भोलि दुर्जन, अगतिलो व्यक्तित्वलाई पनि नमस्कार गर्नुपर्छ भन्ने छैन तर उसले एक तमासले आस गर्छ मलाई नमस्कार किन नगरेको ?

नैतिकताले नेटो काटेपछि केटो पछि परेछ भन्ने जान्नु र मान्नु पर्छ । विकसित र ठूलो हुँदैमा मनमोजी गर्नु अख्तियारको दुरुपयोग हो । त्यसलाई फापशिद्ध मान्न सकिँदैन । स्वार्थपरस्त मान्छेहरूले अख्तियारको खुलेआम दुरुपयोग गर्ने गर्छन् तर सच्चा निस्वार्थी मान्छेले अरूको हित र जितमा ध्यान दिँदा नै भावी पुस्तामा रित बन्न पुग्छ र त्यही नै भविष्यमा प्रित बनेर फक्रिन्छ । भारत र नेपालको मामलामा भारतसँग नेपालका नेताहरू चाहिनेभन्दा धेरै नै निहुरी पर्ने गरेका छन् । नेपालका पराक्रमी भावी पुस्ताहरू त्यति धेरै निहुरी पर्छन् जस्तो मलाई लाग्दैन र पर्नु पनि हुँदैन । नेपालका वर्तमान उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले चरम चाकरी रुचाउँदै प्रहरी अधिकृतहरूलाई भनेका थिए “सबैले मलाई भेटी सके तर रमेश खरेलले किन भेट्न आएनन्” प्रत्युत्तरमा खरेलले चाकरी नगर्ने जनाउ दिएका थिए । वास्तवमा चाकरी ज्यू, हजुर, मन पराउने मान्छेको नियत ठिक हुँदैन । त्यसैले भन्ने गरिन्छ “कुरो खस्रो मिठो रोटी चिल्लो मिठो” । कस्को धरातल कस्तो भन्ने कुरा यहाँ पनि छर्लङ्ग हुन्छ ।

नेपालका वरिष्ठ हास्यव्यङ्ग्य लेखक नरनाथ लुइँटेल एकचोटि एउटा मित्रको आग्रहलाई टार्न नसकेर पोखरा भ्रमणमा गएछन् । विन्दवासिनी मन्दिरको आसपास त्यो साथीको कोठा रहेछ । दुई रात जतिसँगै बसेपछि म काठमाडौंं गएर फर्किहाल्छु भन्दै त्यो साथी हराएछ । कोठामा भएको अन्न पानी सिद्धिएपछि पनि साथी फर्किएन । कहाँ गयो अत्तोपत्तो भएन । बिहान बेलुका, दिउँसो पढ्ने र सुत्ने शिवाय अरू खानपिन बन्द भएको एघारौँ दिनमा एउटी बहिनी काम विशेषले कोठामा पुगिछन् । उनले ढोका ढकढक पारेपछि निन्द्रा खुलेछ । उनको नाम सकुन्तला बराल, कक्षा दसमा पढ्थिन् अरे र कुरा २०३७ सालको रहेछ । ती बहिनीले मलाई खानपिन र खर्चको व्यवस्था मिलाई दिएर काठमाडौँ फर्किन सहयोग पु¥याइन् । मन र व्यवहारमा हरि भएकी नानी रहिछन् तिनी । तिनको गुन र साथीको बैगुन पोखरा आउँदा प्रायः हरेक कार्यक्रममा प्रसङ्ग मिलाएर सुनाउने गर्छन् नरनाथ लुइँटेल । आज काठमाडौँ कलङ्कीमा व्यङ्ग्यकार नरनाथजीको बाँदर लड्ने घर छ । फित्कौली हास्यव्यङ्ग्य पत्रिका प्रकाशित गर्ने, अनलाइन पत्रिका चलाउने, दर्जनौं पत्रिकाको सम्पादन र प्राध्यापन पेशा गरेर जीवनका आरोह अवरोहहरूलाई पार गरिराखेका छन् । उनी भोजपुर जिल्लामा जन्मिएका हुन् । आफ्नो वाल्यकाल सौतेनी आमाको कहर अनि पोखरामा खाएको हण्डर शायद साहित्य सिर्जनाको लागि अजस्र स्रोत र ऊर्जा बनेर आयो क्यार । उनमा धनोन्माद, घमण्ड, अहङ्कारको हर्दम हर पक्षमा अनिकाल परिरहन्छ । मित्रवत् व्यवहार, मिलनसार, मृदुभाषी र परोपकारमा रमाउने नरनाथ लुइँटेल आफू रोएर अरूलाई हँसाउन खप्पिस र प्रेरणाका स्रोत सिद्ध भएका छन् भने उनको पहिलेको धरातल हेरेर हुन्छ ?

भनिन्छ वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिया पसलेका चिया पु¥याउने भर पर्दा हेल्परको रूपमा काम गरेका मान्छे हुन् । बुद्ध धर्मका प्रवर्तक गौतम बुद्ध राजाका छोरा हुन् तर उनको मरण सुखद् थिएन । नेपालका अन्तिम शाह वंशीय राजा ज्ञानेन्द्रलाई कुनै समय दाम राखेर दर्शन गर्दै आत्माशौच गर्ने प्रजातन्त्रवादी नेताहरू अहिले पनि डेमोक्रेसी डेमोक्रेसी भन्दै डुक्रिराखेकै छन् । कुनै समय हस्तिनापुरको राज गर्ने ज्ञानेन्द्रको आज चपरी मुनिको बासलाई कसैले नकार्न सक्दैन । ज्ञानेन्द्र आज शाह वंशीय धरातलभन्दा तल छन् कि माथि ? मानवीय आचरण र व्यवहार कपट रहित र शुद्ध छैन भने हालत ज्ञानेन्द्र बाबु छोराको जस्तो हुन्छ । समाजमा कोही हिङ नभए पनि हिङ बाँधेको टालो देखाउँदै डिङ हाँक्दै भन्ने गर्छन् मेरा बालाई दुनियाँले नमस्कार गरे मलाई तिरस्कार गर्न पाइँदैन । समय पुर्खाको धरातललाई लिएर फूर्ति गर्ने छैन । आफ्नै पौरख र विवेकले आर्जित आफूनुकुलको धरातलमा बुर्कुसी मार्न आनेकाने गर्नु हुँदैन र सबैले गर्ने पनि त्यही हो ।

मेरा बाबु ज्योतिषका प्रकाण्ड विद्वान् र पण्डित थिए । खोटाङ जिल्लाको सुङ्देल गा.वि.स. वडा नं. ३ हाँसुमा बसेर मलाई विराटनगर मामाघरमा हाइस्कुल पढ्न पठाए । मैले मामा घरमा रहँदा गाई भैँसी हेर्दै घाँस काट्दै फुर्सदमा काम गर्दै एसएलसीसम्म पढँे । त्यसपछिको उच्च शिक्षा पोखराको पृथ्वी नारायण क्याम्पसबाट आर्जन गरेँ । आज म पोखराको बुद्ध विशाल बजारमा पोतेको व्यापार गरेर बसेको २३ वर्ष भयो । फुर्सदको समयमा साहित्य सिर्जना गर्दा गर्दै चार वटा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित गरिसकेकोे छु । ६ जनाको परिवारलाई आफ्नै पौरखले तयार पारेको घरमा इच्छाएको शिक्षा दिँदै अमन चयनमै बसेका छन् । मेरा पुर्खाको पौरख र धरातलको तुलनामा आफ्नो ल्याकत न्यून लागे पनि मलाई चिन्ने जान्नेहरू मेरो पौरख देखेर लोभिन्छन् । डाहा र इस्र्याले पिरोलिन्छन् । हुँडलिन्छन् । बाहु र बुताले मेरो कालखण्डमा जुन जे जस्तो धरातल तयार भयो मेरा पुस्तामा भोलि त्यो नहुन सक्छ या स्तरोन्नति हुन पनि सक्छ । यस स्थितिमा हुनेले या नहुनेले धरातलको धाक लगाउनु सर्वथा व्यर्थ र निरर्थक लाग्छ ।

मेरा एक जना विराटनगरका हेलो साथी अमेरिकामा बसेको दश एघार वर्षै भएछ । फेसबुकमा उनीसँग भेट भयो र मैले “सरोज थापाजी नमस्कार, बा, आमा, भाइ बहिनी सबैलाई सन्चै छ ?” सोधेको यत्ति हो तर उनलाई ‘जी’ लगाएर सम्बोधन गरेको मन परेन छ र उनले जवाफ फर्काए आफ्नो धरातल बिर्सिएर मलाई ‘जी’ भन्ने ? सरोज दाइ भनेको भए राम्रो हुन्थ्यो । तिमीमा धनको घमण्ड चढेछ भने । तर सन्चो विसन्चोको जवाफ आएन । मामाघरमा बसेर गाई वस्तुको सिहार गर्नेले आज मलाई ‘जी’ भन्ने भन्ने लागेछ क्यार उनी ठुस्किए । मैले प्रत्युत्तर दिनु आवश्यक ठानिनँ ।

मान्छेको धरातल सधैँ एक नास हुँदैन । मान्छेको विवेकले उसलाई क्षणभरमै माथि या रसातलमा पु¥याउन सक्छ । विवेक, ज्ञान, सिप, जाँगरले साथ दियो भने मान्छेले आफ्नो जन्मभूमि, घर, आँगन र आमा छोडेर अर्काे देशमा भौतारिनु पर्दैन । बुद्धि, विवेक, वर्गत र जाँगरलाई आफ्नो गाउँ ठाउँको प्राकृतिक स्रोत र साधनमा उपयोग ग¥यो भने पैसाकै लागि भनेर सात समुन्द्र तर्नै पर्दैन । अर्काको शरण पर्नै पर्दैन । असली पसिना, पौरख र पाखुरी देखाउनु पर्ने धरातललाई लात मारेर परदेशमा पाखुरा बजाउँदै आफ्नो जन्म धरातललाई माया मार्नु शिक्षित र विवेकशील मान्छे सुहाउँदो कदम भन्न सकिँदैन ।

फूलबारी– ११, पोखरा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x