साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माननीय अर्थात सबैले मान्ने !

Nepal Telecom ad

माननीय भनेसी जस्तो पद त्यस्तै बनेर देखाम्नुपर्ने ।

लौ न मान्नेज्यु तपाइले जितेसी हाम्रो नि जय हुन्छ भनेर दिन रात दुःख गरियो । छोरोलाई राम्रो ठाममा जागिर मिलाई दिनु पर्यो ।

लौ न मान्नेज्यु बाटो बनाम्न परो ।

लौ न मान्नेज्यु कुलो खन्नु पर्यो ।

लौ न मान्नेज्यु स्कुललाई हेर्नु पर्यो । त्यसैले बजेट मिलाम्नु पर्छ है यो पालि अलि दह्रो तरिकाले ।

आदरणीय जन–समुदायमा यो गरिबको छोराको क्रान्तिकारी जय नेपालको साथ लाल सलाम । मलाई यो पटकको चुनाउमा जिता’र पठाम्नु भो भने मेरो निर्वाचन क्षेत्रको मात्रै हैन नेपाल आमाकै मुहार झलमल्ल बनार देखाम्ने प्रण गर्छु ।

अनेक थरिको आश्वासन आफ्ना मतदाताहरलाई दिएर चुनाउ नाउको युद्ध त सजिलै जितियो तर मन्त्रालयको गद्धावाला कुर्चिमा बस्ने खरदार जत्तिकोनि पावर नभा’को पद भनेर अहिले पो देखिँदैछ र भोगिँदैछ पनि ।

हैन मान्नेज्यु हाम्रो यो मान्ने भन्ने पद साँच्चिकै सप्पैले मान्ने मान्ने हो कि खाली सर्खार बनाम्न यताकाले उता मात्र तान्ने मान्ने पद हो ? जनताले कराएर र मार्न आँटी सके, जाबो एउटा करोड पनि हैन लाखको बजेट मिलाम्न पनि खरदारदेखि सुब्बालाई ज्यु हजुर गर्नु पर्ने ? तिनीहरूको पद ठूलो कि हाम्रो पद ठूलो ? कानुनको पालना गराम्ने न्याधीश श्रीमानभन्दा नि कानुन बनाम्ने हामी मान्नेको चैँ पद ठूलो हैन र यो हाम्ले जित्या मान्ने भन्ने पद ? नजिकै जिल्लाको सालेप (साधारण लेखपढ) मान्नेजीहरूले पटक पटक सोधेर हैरान पारिसके ।

हैन यी मान्नेहरूले ५ करोड किन माग्या ? गोजीमा हाल्न ? संविधान बनाउँला भनेर तिनलाई बानेश्वर पठा त त्यारको भैली र देउसुरे जस्तरी ५ करोड दिने भे देऊ नत्र पार्टीले ह्वीप लाउन् कि स्वीप लाउन् ‘तिम्रा बजेट पास गर्न दिन्नम्’ भनेर भट्याउँदै युवा अर्थमन्त्रीलाई थर्काम्ने भनेर बिजुलीदेखि कागजेसम्ममा धरी छाप्न भ्याएछन् नि बरिलै !

अहिलेका जितालु मान्नेहरूले चुनाउ कसरी जिते ? चुनाउ जित्दा आफ्ना मतदातालाइ के के गर्छु भने ? यो खबरको हेक्का राख्नु पर्दैन ? मान्ने भन्नासाथ गोल्छा, टिबडेवाला, क.प्रचडदेखि क.बाउराम मान्नेहरू जस्तै खर्बपति हुन भन्ठानेका रैच्चन ।

घर खेत ब्याङ्काँ छ, जोइदेखि भुरीसम्मको गरगहना ‘तारेमाम’ बाँडाले लिलाम गर्ला भन्ने पिर, सयकडा २ देखि ५ को ब्याज काटेर लडेको चुनाउ ती खबराँ फुक्नेदेखि लेख्नेहरूलाई के थाहा ? लौ ५ करोड मागेर देशको ढुकुटी सक्ने भो भनेर साँढेझैं बुरुक्क बुरुक्क किन उफ्रिन्छन हँ हिजाजका यी कलमजीवीहरू ?

जिल्ला विकासले बनाएको योजनालाई हाम्ले नि मान्छम् भनेर भनेकै छम् क्यार ! जस्तो पद त्यस्तै अनुसारको काम गर्न पाइँदैन भने किन मान्नेको चुनौ लड्नु पर्यो । खालि संविधान सभाको बैठकाँ ५ दर्जन मान्ने पनि पुगेन भनेर लेख्नु मिल्छ ?

संविधान भनेको बिस्तारी बनाम्ने हो । हतपतको काम लतपत हुन्छ भन्ने कुरा नि बताम्नु पर्ला र ? एकै पटका विजयी हुनेभाको भे ऊ बेला नेपाल जोड्ने बेला किन न्वाकोट र किर्तिपुराँ पटक पटक युद्ध गर्नु पथ्र्यो ? यो संविधान पनि युद्धनै त हो नि ! यै संविधान बनाम्ने भनेर १७ हजारले जेम्राजका काज फिर्ता जानु परेको छ भने बनाम्ला नि त्यो संविधान बिस्तार हिन्दी ‘सास बहु’ सिरियल झैं गरेर !

संविधान सभामा पैला जस्तरी ‘विश्वेश्सद्र पासवान’ मान्नेले झैं कुर्चि र्फल्न बाँकी नै छ ! जिन्दावाद र मुर्दावादको नारा घन्कार माइक नभाँची बनाको संविधानले कसरी पूर्णता पाउँछ ? संविधान बन्छ, जसरी नि बन्छ तर बिस्तारो बन्छ !

तर, हामी मान्नेहरूको माग बमोजिम ५।५ करोड दामासाहीले जबसम्म अर्थमन्त्रीले दाम दिँदैनन् तबसम्म संविधानको त के कुरा बजेट पास हुन्छ भनेर हाम्रा अहिलेका सर्खारले ठोकुवा गर्नचैं अलि गाह्रै छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x