साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री महोदय

Nepal Telecom ad

हँ, म मन्त्री भएर के–के गरेँ रे ! तपाईंले जान्न चाहनुभा ? ल सुन्नुहोस् न त । तपाईं आफै मेरो मान्छे भित्रीबाहिरी थाहा छँदै छ । म व्याख्या गर्दिनँ, मुख्य मुख्य बुँदा भन्छु । बिस्तारमा पछि सुनाउँला । मैले मन्त्रीजस्तो गरिमामय पदमा पुगेसी सुहाउँदो भेसभुसा तयार पारेँ । दारीकपाल मिलाएँ, नुहाएँ जीउ बनाएँ, बधाई पोक्याएँ । श्रीमतीलाई तालिम दिलाएँ आइसियो, खाइसियो वाक्यपिच्छे सियो लाउन सिकाएँ । आफन्त र साथीभाइ माझ भाउ बढाएँ । कार्यकर्ता छल्न सिकेँ । जिउनारका लागि जिरामसिना चामल किनेँ । तुरुन्त आफ्नो मन्त्रालयको सचिव बोलाएँ । नयाँ गाडी झिकाएँ । चालक अलि सिपालु पठाइदिन भनेँ, समय निकालेर साँझ बिहान गाडी चलाउन सिकेँ । के गर्नहुन्छ ? नसिकी भएन । पदबाट खुस्केपछि गाडी फिर्ता गरेर कहीँ नभा जात्रा हाँडी गाउँमा देखाउने कुरा आएन । चालक राख्यो भने घरका मान्छे आँखा लाउलान्, जोगाउनुप¥यो ।

कति दिनपछि बल्ल श्रीमती र छोराछोरीका मागपत्रसित नत्थी गरेका सुझावपत्र बुझें, स्वकीय सचिवलाई पढेर सुनाऊ कसरी भन्ने ? घरको कुरो बाहिर जाला भन्ने डर ! अरु केही वा पत्रपत्रिका भा‘भए त पढेर मुख्य सार सुनाउन लगाउँथेँ । बानी छुटेछ पढ्नै मुस्किल, बल्लतल्ल पढँ । के गर्नुहुन्छ ? श्रीमती पनि आफैंजस्ती अल्छी परिन् । वास्तवमा मन्त्री भइएला भन्ने थिएन क्या ! नत्र त यी हेलमेट नझिकी कक्षामा छिर्ने प्रमाणपत्रका भरियाहरूलाई डेरामै बोलाएर काम दियाजस्तो गरिन्थ्यो, गृह अध्ययन हुन्थ्यो । अवसर आएजस्तो लागेर एक्कासि मलाई पनि सरकारमा भाग चाहिन्छ के भनेको थिएँ मन्त्री भइयो, पढ्याजस्तो गर्नै भ्याइएन ।

राजनीति गर्नेले मन्त्री खानु परिहाल्यो । मन्त्री भएपछि कर्मचारी ठीक पार्नुपर्ने रहेछ । ठूलो पदका कर्मचारीलाई हात लिएपछि साना खुइते त्यसै तह लाग्ने रहेछन् । पछि पदबाट बाहिरिएपछि पनि लौ मन्त्रीज्यू आउनुभो भनेर वरिपरिकालाई सुनाउने कामका लागि दुई चार जना सदस्य बनाएँ । म पार्टीको जुँगादार मान्छे हुँ भन्ने अनुभूति गराएँ । हुन पनि हो नि ! झिँगा निचरेर भरेको दुनो कोल्ट्याएर अन्त पोख्ने कुरै आउँदैन, सोझ्याएर आफ्नै भागमा पार्ने प्रयत्न गरेँ, गरिरहेँ, अन्तिमसम्म छाडिनँ ।

बेलाबखत कस्तो अप्ठेरो आइपर्ने भन्नुहुन्छ भने आफूलाई एउटा घर नभई भा‘छैन । तुरुन्त किनिहाल्न छेकथुन छ । विरोधी त विरोधी भइहाले । छिटै धनी भएको आफ्नै कार्यकर्ताले पनि देखिसहँदैनन् । आँखा छलेर वातावरण मिलाउनै पर्यो । फेरि पत्रकारहरू निदाएको मौका छोप्ने वा अलपत्र पार्ने कलामा पनि उत्तिकै निपुणता चाहिने । नत्र भने घुस खायो भनेर कटुवाली गरिहाल्छन् मोराहरू ! कुन ठाउँमा कस्तो नियम पुर्याएर खानुपर्छ खाने विधि बताइदिएर सहयोग गर्नु त कहाँ हो कहाँ उल्टै लौ खायो ! खायो ! ! भनेर उधुम मच्चाइहाल्छन् । खप्न खान दिँदैनन् भन्या । कति समय त तिनीहरूलाई थुमथुम्याउँदा थुमथुम्याउँदै बित्यो, हैरान भइयो ।

चौथो चरणमा पुगेर बल्ल घरको बन्दोबस्तीमा लाग्न पाएँ । केही राजदूतहरू गुहारेँ विदेशतिर लखारिएँ । रातो राहदानी दुरुपयोग गरेर घर सजाउने सामान बटुलेँ । छोराछोरीको बसोबासका लागि विदेशमै चाँजो मिलाएँ । बल गरेर सम्भव भएजति देशकै बजेट सिद्धयाएँ । निकै ठूलो कसरत गरेपछि पो बल्ल लामो सास फेर्न सकेँ । फेरि आफन्तले त्यतिकै आस गर्दा रहेछन् पदमा पुगेसी । पार्टीलाई लेबी समयमा चाहिने, चुनावमा जोतेका कार्यकर्ता पछि लागेर घेर्ने त्यस्तै, दुख दिन पनि कति सकेका दैवहरूले ! टाल्नुपर्ने प्वाल त कति कति तैपनि सकेसम्म धेरैको चित्त बुझाउने कोसिस गरेँ । हुँदाहुँदा कतिपटक त मन्त्री परिषद्को बैठकमा जान नभ्याएर भत्तै छुट्ने भन्या ! यसो चल्ने गोजीखर्चै समस्या पर्ने । परिवारसित घुमेर होटेलतिर खाना खाने समय नपाएर फसाद । भरे श्रीमती ओछ्यान अर्को लाउली भन्ने पीर । उता पार्टीले संविधान सभामा हाजिर किन नभा’को ? भनेर स्पष्टीकरण माग्छ । पार्टीकै बैठकको त झन् कुरै भएन । कार्यकर्ताको माग अनुसार विभिन्न कार्यक्रम उद्घाटन समारोहमा पुगेर उटपट्याङ बोल्ने अभ्यास नभएपछि फेला परिनेरहेछ । पत्याउने गरी ढाँट्नै मुस्किल आत्तिएर पसिना पसिना भइने । समय मिलाउँदैमा दाँतबाट पसिना चुहुने भन्या !

विदेश जानलाई पनि फुर्सत नहुने यहाँसम्म कि एउटा राम्रो दौरासुरुवाल किन्नै भ्याइनँ । परिवार, साथीभाइ सम्झनु त कहाँ छ कहाँ ? विना भन्सार ल्याउन पाइने मूल्यवान् सामान छान्नै पाइनँ । एकैजोर लुगामा महिनौं बिताइदिएँ भन्या विदेशमा । तपाईं भन्नुहोलाआफ्नो काम त गर्नुभएछ देश र जनताका लागि के गर्नभो ? कुरो के भन्नुहुन्छ भनेर भन्देखि देश विकास, सीमा सुरक्षा, गरिबी निवारण, महङ्गी नियन्त्रण, सिपमूलक शिक्षा, स्वास्थ्य सेवा, खानेपानी, सरसफाइमा जनताको पहुँच पुर्याउने र लोडसेडिङ भनेका घोषणा पत्रका कुरा हुन् लेख्नका लागि । यस बारेमा पार्टी आपैm बोल्छ । मैले त खालि लेबी तिर्ने हो । यस बाहेक गर्ने भनेको सांसद कोटामा रकम बढाउन सरकारलाई दबाब दिने आफूखुसी बाँड्ने हो । देख्नु भा’छ यो भन्दा बर्ता गर्ने जनप्रतिनिधि ? ल, कुरा बुझ्नुभएन ? सरकारमा गएर गर्ने काम त आफ्नो हो । कति वर्षपछि बल्ल सरकारमा जाने साइत जुरेको छ ! यस्तो मौकामा देश र जनताको कुरा गरियो भने आफ्नो काम कहिले गर्ने ? त्यसैले म त हजुर पुरै कार्यकाल ढुक्कले आफ्नै काममा व्यस्त रहेँ ।

हो, तपाईंले भनेको कुरा ठीक हो, मन्त्री पद छाडेपछि फुर्सत हुन्छ । हो ! त्यही बेलामा सडकबाट चर्को आवाज निकालेर जनताका कुरा गर्ने हो । महशयले भन्नुहुन्छ भने म जनताका लागि मन्त्री भा’ मान्छे परिनँ । म त मेरै लागि मन्त्री भा’ हँु । पदमा भएका बेला मान्छे कुरा सुन्छन्, माग्न पाइन्छ । योजना कागजमा देखाए पुग्छ, काम गर्न पर्दैन त्यसैले मेरो ध्यान एकोहोरिएर यतैतिर केन्द्रित रह्यो ? अर्को कुरा के भने म पहिला पहिलाका मन्त्रीजस्तो आफ्नै भुँडी र गोजीतिर लाग्ने मान्छे होइन भनेर छलेका कुराले विश्वास दिलाउनै नसकिने भन्या ! मेरो पालो आइपुग्दा त जनता पनि कति बाठा भइसकेछन् क्या । जेनतेनम तपार्इंहरूकै सेवक हुँ भनेर अभिनय गरेँ । थोरै थोरै सफलता मिल्यो । अहिले अलिकति राहत दिने एउटा घर छ, गाडी छ, छोराछोरी विदेशमा खोइ के–के गर्छन् । म व्याज उठाएर कहिले काहीँ सोल्टीतिर सेल्टिन्छु । छोटो समयमा यतिका काम सक्नु भन्या चानचुने क्षमता होइन भन्ने मेरो ठहर छ । यसरी सिङ्गै जीवनमा मैले भन्ने गर्या आमूल परिवर्तन ल्याएँ । नपत्याए मसँगै मन्त्री भा’ शरणजीसँग सोधिलिनुहोस् ल । ओ, हो ! महाशय आजलाई यति नै ढिला भो । उता घरमा श्रीमतीले स्पष्टीकरण माग्छे, लौ, विदा मागेँ, पछि भेटौंला है ! ‘अस्तु’

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x