खगेन्द्र नेउपानेपहिरो
यी गोरेटाहरूमा
महाराजको सेतो घोडा अचेल आउँदैन
कोही नआएको त हैन
यही बाटो भएर
आउँछ
बिहानीको घाम
आमाका दुखहरू
बाका सपना
यो बाटो अन्तध्र्यान भएपछि
आईपुग्छ ठाडो भीर
जहाँ बस्न भिरमाहुरी पनि डराउँछन्
खसे भने ढुङ्गाहरू माटो हुन्छन्
अलि अँधेरो छ यो ठाउँ
हामी निमुखा जूनकीरिहरू
यो ठाउँ छाडेर जान सक्दैनौँ
केही नगएको त हैन
यही बाटो भएर जान्छ
मधेशबाट खाध्यान्न
चुरेबाट काठ
कर्णालीबाट विद्युत
जान्छन् जडिबुटीहरू
र बिरामी पर्छ मेरो गाउँ
गाउँमा भोजनको सट्टा भोक खाएर
किताबको सट्टा जिन्दगी पढेर
सिक्रीको सट्टा साङला लाएर
हुने भए
युगौँको दुर्गन्ध घोलेर
किन लाग्थ्यो हाम्रो आकाशमा कुहिरो
सुनौलो घाम खोज्दै
अस्ति केहि युवाहरूले मुलुक छाडेर गए
आज
आँगनीको डिल पुरिने गरी शित परेको छ
देश रोएछ क्यार
दुस्मनहरू मेरो गाउँमा हमला गरिरहन्छन्
काँचको जस्तो देखिने
हिराका मूर्ति हुन् गाउँलेहरू
जो कहिल्यै फुट्दैनन्
र
मूर्तिझैं आफै उठ्दैनन् पनि
कोही नउठेको त हैन
यहीँबाट उठेको छ
देश बदल्ने मुद्दाहरू
रगत अनुसारको जात
मन अनुसारको भाषा
बैंश अनुसारको पोशाक
नीति अनुसारको धर्म
यी सबै समेटेर अब म पहाड बनाउँछु
यही पहाडमा पुरिनेछन्
सामन्ती घोडाहरू
बदलिनेछन् घाममा जूनकीरीहरू
देशको नक्शालाई खम्बा बनाएर
बाले पढेको जिन्दगी लगाएर
आमाको दुखलाई छाएरै
भए पनि
म यो पहाडको टुप्पोमा घर बनाउँछु
यहीँ हुनेछ न्याय
यहीँ हुनेछौ तिमी
यहीँ हुनेछु म
यहीँ हुनेछ सुनखानी
र
सुन निस्कने डरले भए पनि
अब
यो पहाडमा पहिरो जाँदैन ।
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































