साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजमार्गकी राजकुमारी

Nepal Telecom ad

थरी–थरी बहानाबीच
थरी–थरी विडम्बनाबीच
आफ्नै बिम्बलाई बिर्सदै
राजमार्गकी राजकुमारी
राजमार्गजस्तै
कतै घुम्ती
कतै सपाट रेखामा देखिएकी हुन्छे
राजमार्गजस्तै
कतै आरोह
कतै अवरोहमा छेकिएकी हुन्छे ।

भूगोलका भिन्न– भिन्न परिधिहरूलाई
लमतन्न सुतेर अँगाली बसेको
एकतमासको राजमार्गछेउ
कतै उखु बेच्दै
कतै उमेर जोख्दै
कतै चिया बेच्दै
कतै चञ्चलता पोख्दै
कतै रक्सीको प्यालामा
कतै जवानीको ज्वालामा
कतै व्यस्ततामा
कतै अस्तव्यस्ततामा
कति कति कामुक आँखाहरूले भेट्न सक्छन्
राजमार्गकी राजकुमारीसँग
कति कति अधैर्य पिपासुहरूले
प्यासै मेट्न सक्छन्
राजमार्गकी राजकुमारीसँग ।

जिन्दगी नामको श्लीलताका हरफहरू
च्यातिँदै च्यातिँदै शून्यतामा पुगेको दिन
यौवनका इन्द्रेणीहरू
ओर्लंदै ओर्लंदै बन्धकीमा डुबेको दिन
कति नै बेर लाग्दो रहेछ र
आफ्नै आँखा अघिल्तिर
आफै विरोधाभास बन्न
कति नै पर्खन पर्दोरहेछ र
आफ्नै दृष्टि अघिल्तिर
आफै कहालीलाग्दो भास बन्न
आफै उच्चाटलाग्दो अत्यास बन्न ।

भिन्न भिन्न भङ्गालामा
भिन्न भिन्न भावावेशमा
आफ्नै भयलाई भुल्दै
राजमार्गकी राजकुमारी
राजमार्गजस्तै
कतै घुम्ती
कतै सपाट रेखामा देखिएकी हुन्छे
राजमार्गजस्तै
कतै आरोह
कतै अवरोहमा छेकिएकी हुन्छे ।

मधुपर्क २०६८ जेठ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासै-लासलाई हेरेर

लासै-लासलाई हेरेर

दीपेन्द्रसिंह थापा
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x