बैरागी जेठा पानी
पानी
मलाई जाँच गर्छ
चिथर्छ
मेरो शरीरमा
पानीको जीवनले टोक्छ
हरेक पल्ट
ऋणको पहाड
खाँवोझैं उभिन्छ
मेरो मझेरीमा
पतझडझैं उडाउँछ
रातो रगत
मेरो घर
यसपालीको हिउँददेखि
मेरो संघारको काप छिचोलेर हिँड्छ
मुटुमा किला गाडेर
पानी
मलाई घुटुक्क निल्छ
चुपचाप सहन्छु
पानी हिँडिरहन्छ
मेरो आँगन उजाड बनाएर
मेरो मृत्युको पर्खाइमा
बसेको छ टोल
पानी रोकिएको छ
समवेदना व्यक्त गर्दै
आस मारेको छैन
पानीसँग
म भिज्न चाहन्छु
ऊ चाहँदैन
समाजका लेउहरू
कसिङगरझैं थुप्रिएका छन्
मानिस रुप भएका
झण्डै झण्डै उस्तै देखिने
मानिसहरू छन्
मानिस भन्न सुहाउँदैन
ऋणको पहाड मौलिएर
आकाश छुन खोज्छ
मलाई दुखाएर
म झुक्न चाहन्न टोल झुक्छ
दलाल समाज सेवी बनिरहेछ
मलाई सह्य हुँदैन
मेरो पाटि उसैले चलाइरहेको दैख्दा
आँसु उम्लिएर पोखिन्छ
ऋणको पहाड उक्लिरहेछु
विजय हासिल गर्न
सकुशल बाँचेर
चिप्लिएको छु
पटक पटक पानीमा
प्रशासक र राजनीतिले
वारुलोझैं टोकिरहँदा
मानव पाइला खोजिरहेछु
टायर पसलेको धम्की सँगै
जुकाझैं मौलाएका दलालहरू
मेरो छातीमा परेड खेलिरहेछन्
यतिवेला म
क्रोधित भएको छु
पानीसँग
पानी, नाप्न उभिएको छ
मेरो टोल सँगै
मेरै दैलोमा
वैचारिक अडानमा हारेको छैन
हार्न चाहन्न
निर्झर भएर बग्छ
मेरो छातीबाट
पानी
बेलाबेलामा किन हराउँछ
दोहोरिएको छ दोहोरिएकै छ
पटकपटक
हराइ रहन्छ
नाघ्दैछन् दलालहरू
मेरो संघार
टोलका घरहरू बास्दैनन्
धेरै होलहरू खोपिएका छन्
मेरो संघारमा छैन
म जीवित भएर होला
पानी टोकीरहन्छ
मन दुखाएर
टोल
मेरो शिर टोक्छ
मलाई हराउन
घिटिक्क बनाउँछन्
थुप्रै विकारहरू
ममाथि हमला गर्छन्
विरामी बनाएर
टोल उठीवास गर्न खोज्छ
म हुन चाहन्न
पानी टोकिरहन्छ निरन्तर
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































