साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिठी पुगोस् भानुभक्तकहाँ

Nepal Telecom ad

आचार्यज्यू, नमस्कार !

सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इंको तस्बिरमा एउटा चिठी दिन्छु । तर त्यही गर्न पनि सकिनँ । त्यही दिन अर्थात् २०४४ साल असार २९ गते बिहानैदेखि नै टिर्रीले धड्यो । के गर्ने तपाईंका पालाका यहाँका सारा ढुङ्गेधाराहरू मासिइसके, छैनन् । घरघर पुर्याइएका विशुद्ध खानेपानीका कलधाराबाट भने हिजोआज कादो र ढल मिसिएर आउन थालेको छ । नउमाली खायो कि मान्छेको पेटमा त देवासुरसङ्ग्राम हुन थालिहाल्छ ।

बाँचुन्जेल साहित्यकारहरूको वास्तै नगर्ने तर मरेपछि चाहिँ वचनका दुई–चार पिण्ड लडाएर कर्तव्य पूरा गरेको ठान्ने परम्परा अझै पनि यहाँ कायमै छ । साँच्चि भन्ने हो भने यस्ता कुराको म विरोधी नै छु । म त के भन्छु भने केही गर्ने हो भने बाँचेकै अवस्थामा गर, मरेकाका लागि गोहीको आँसु नचुहाऊ । सके ठान्नुहोला यो यस्तो खस्रो कुरा गर्ने मान्छे रहेछ ? तपाईं सम्झनोस् त, सोतीकी बूढीले बास नदिँदा तपाईंले कसरी उनको हुर्मत लिनुभएको थियो ? त्यसरी तपाईंको दाँजोमा पुग्न नसके पनि मानिसहरूको अर्घेल्याइँहरूमा व्यङ्ग्यवाण भने मैले पनि हान्ने गरेको छु ।

चिठीमा यत्तिका जसो कुराहरू लेखिसकेँ, कहीँ म तपाईंका लागि ‘चिन्नु न जान्नु घचेडी माग्नु’ त भइरहेको छैन ? म केशवराज पिँडाली हुँ क्या केशवराज पिँडाली, ५० वर्षदेखि नेपाली भाषासाहित्यको सेवा गर्दै हुरुक्क हुन आँटिसकेको साहित्यिक डुकुलन्ठू । आठ–दस वर्षअघि ‘गोरखापत्र’ मा मैले तपाईंलाई एउटा चिठी लेखेर सोधेको थिएँ, त्यो ‘अमरावती कान्तिपुरी नगरी’ भन्ने कविता तपाईंले आफैँ लेख्नुभएको हो त ? ‘जसै ता, तसै ता भया र गया’ जस्ता तुकबन्दीमा सम्पूर्ण कविता रच्नुभएकै हो त ? मोतीराम भट्टले श्रद्धावश आफ्नो कवितामा तपाईंको नाम हालिदिएका हुन् कि ? मेरो यस शङ्काको निवारण अझै हुन सकेको छैन ।

के गर्नु र ? महाभारतको युद्धपछि यताबाट त्यता मान्छे जिउँदै गएर फर्केर आउने चलनै पनि अब रहेन । तपाईंसँग भेटेर थुप्रै कुरा गर्ने मन थियो तर नमरी आउन नसकिने हुँदा यो चिठी लेखेको हुँ । स्वास्थ्यको कारणबाट अब त म पनि त्यता छिटै आउँछु कि जस्तो लाग्न थालेको छ । सन्तानलाई सम्झाउनु, बुझाउनुपर्ने न मेरा कुनै लहना छन्, न ब्याङ्कमा चार पैसा र न घरमा सुनका कुनै गहना छन् । अवस्था जनमभर नै ‘हिँड् जोगी फट्कार छाला, जहाँ जाला तहाँ खाला’ जस्तो रहेर आयो । त्यसैले मलाई हुरुक्क हुन कुनै खास गाह्रो पर्ने छैन । तर कुन दिन हुरुक्क हुन्छु र यताबाट हिँड्छु त्यो भन्न भने म सक्तिनँ । बरु तपाईंलाई म आउने दिन जान्ने नै इच्छा हुन्छ भने चित्रगुप्तको यसो चाकडी र खुसामद गरिटोपल्नोस्, उनले चाहे भने खाता नै देखाइदिन सक्नेछन् । नेपालमा त हिजोआज खुसामदले ढुङ्गामा पनि गणेशको सूँड निस्कन थालेको छ । यो हावा मरेर त्यहाँ पुगेका मानिससँगै गएर त्यहाँ पनि त फैलिसक्यो होला नि ! यस्तै खुसामद, चाकडी र चाप्लुसीबाट अहिले यहाँ एउटा भयानक अनैतिक र घोर चरित्रहीन मान्छे मन्त्री भएको छ । त्यही अनैतिक, फटाहा अब अहिले हामीलाई नीतिसम्बन्धी अर्ती र उपदेश दिने भएको छ ।

एउटा खुसीको कुरो तपाईंलाई भनिहालौँ । लेखनाथ पौड्यालको पनि पोखरामा सालिक रहृयो नि ! साहित्यकार चाहे आधा पेट खाएर बाँचोस् वा औषधिपचारको अभावले असमयमै सिद्धियोस् त्यसको अब चिन्ता भएन, किनभने मरेपछि उसले पाउने यस सालिक–सम्मानले राष्ट्रको, समाजको, साहित्यकारको र साहित्यको गरिमालाई बढाउने कुराको कुनै शङ्का रहेन । तर मलाई काठमाडौंमा स्थापित तपाईंको सालिकलाई लिएर अलि चित्त बुझेको छैन । त्यो के भने तपाईंप्रति अति श्रद्धा गरेर तपाईंको सालिकको स्थापना गर्नेहरूले तपाईंलाई त्यो खुम्चने ढोकाभित्र राखेर खोल्ने र थुन्ने किन गरेको ? जीवितावस्थामा त तपाईंलाई खोरमा थुने–थुने अब फेरि मरेपछि पनि थुन्ने ? तपाईंलाई राणाशासनले थुनेझैँ मलाई पनि मरीचमान शासनले थुनेको थियो नि, थाहा पाउनुभयो ? हालै त्यता आएका पत्रकारहरू रामराज पौड्याल र नारायणबहादुर सिंहले भने नै होलान् । तपाईंलाई सङ्गीत सुनाउने ती लामखुट्टे, नृत्य देखाउने ती उपियाँ र ‘रक्तदान महादान’ भन्ने पवित्र भावनाबाट प्रेरित भई शरीरबाट तात्तातो रगत झिक्ने ती राता उडुसहरू अझै पनि त्यहाँ रहेछन् । तिनले मेरो पनि मनोरञ्जन गरे । हाम्रा प्राचीन सांस्कृतिक यी प्रतीकहरू भानुभक्त आचार्यका समयदेखि केशवराज पिँडालीका समयसम्म पनि जिउँदोजाग्दो रुपमा खोरमा कायम रहनु र संरक्षित रहनु देशका लागि ठूलै गौरवको कुरो हो ।

अँ साँच्चि, तपाईंको सालिकको टाउकोमा कागहरूले बराबर बिस्टयाएको देख्दा कहिलेकाहीँ त तपाईंलाई दिक्क लाग्दो हो हगि ? के गर्नुहुन्छ, यहाँ यस्तै छ । तै तपाईं जिउँदै छँदा त यहाँ तपाईंको टाउकामा अवश्यै पनि कुनै कागले बिस्ट्याएको थिएन होला । तर अब अहिले त बाँचेकाहरूमा मजस्ता भारेभुरे साहित्यकारहरूको टाउकामा समेत कागहरूले बिस्ट्याउने र हल्ला मच्चाउने गर्न थालेका छन् । लौ भइगयो, म डुकूलन्ठूको त कुरै छोड्नुस्, ती फटाहा, हल्लाबाज कागहरूले महाकवि देवकोटाको टाउकामा समेत बिस्ट्याएका थिए । नपत्याए देवकोटाज्यूसँग त्यहीँ सोध्न सक्नुहुन्छ ।

मुख्य कुरो हिजोआज यहाँ साहित्यकारको खूब विकास हुँदै गइरहेको छ । के भयो होला, कसो भयो होला भन्ने तपार्इंले चिन्ता लिनै पर्दैन । अहिले त यहाँ साहित्यको विकास गर्ने जिम्मा लिएका मठ र तिनका मठाधीशहरू थुप्रै भइसकेका छन् । ती सबैले यहाँ वर्षको एकचोटि पुरस्कार वितरण गरेर रमझम ल्याउने गरेका छन् । साहित्यका ती मठाधीशहरूले यता साहित्यकारको द्रुततर विकासका लागि कहिले शासनमा माथि पुगेकाहरूका शरीरमा त कहिले साधारण मानिसका शरीरमा साहित्य घुसारेर तिनको श्रीमुखबाट कविताश्रीको निर्झरिणी बगाएर हामीलाई मुग्ध पार्ने गरेका छन् । यी कहिले समारोह गरेर साहित्यका बाह्रौं खेलाडीलाई नम्बर एक खेलाडी बनाइदिन्छन् भने कहिले नम्बर एक खेलाडीको तिरस्कार गरेर अरुलाई नै पुरस्कार भिडाइदिन्छन् ।

त्यस दिन नेपाल ब्याङ्कको स्वर्णजयन्तीका दिन यस्तै एउटा समारोहमा महादेवको जटाबाट पटापट प्रेत पैदा भएझैँ नेपाल ब्याङ्कको कर्मचारीगणबाट भटाभट कविहरू पैदा भएर झटाझट कविता ओकली चटाचट पुरस्कार चड्काएको देखेर को मुग्ध भएन होला ? नेपाल ब्याङ्क केवल एउटा सराफी संस्था हो भन्ने मेरो गलत धारणाले त्यसै दिन बाजीमाथ खायो । त्यो त पैसाको खानी भएझैँ कविहरूको पनि खानी पो रहेछ । त्यस दिन नेपाल ब्याङ्कका कर्मचारीहरूको शरीरमा साहित्य पसेर तिनको मुखश्रीबाट कविताश्रीको निर्झरिणी बगेको देखी कविता पढ्न नबोलाइए तापनि त्यहाँ बसेका स्थापित प्रतिभाहरू मग्न र प्रसन्न भएका थिए । त्यस दिनदेखि अब कामविशेषले नेपाल ब्याङ्क जानुपर्दा मैले त्यहाँका पियन र सेक्युरिटी गार्डलाई समेत बडो श्रद्धाले नमस्कार गर्न थालेको छु । क्या हो क्या हो, त्यही नै नेपाल ब्याङ्कमा लुकिराखेको बेजोड साहित्यिक प्रतिभा पो भइदिने हो कि ?

‘प्रसन्न हुनुहोस्’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x