साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिबी जिन्दावाद

Nepal Telecom ad

नेपाल ‘कृषिप्रधान’ देश हो भन्नेहरूसँग म पटक्कै सहमत छुइँन । हाम्रो देश ‘गरीब प्रधान’ मुलुक हो । यसैलाई मलजल गरेर हामी विश्वमा चिरपरिचित र अति सुरक्षित हुनु पर्दछ तर, म छक्क पर्छु– किन यस देशका सरकारहरू वर्षै पिच्छे ‘गरीबीको रेखा मेट्ने’ दष्प्रयत्न गर्ने गर्दछन् हँ ?

गरीबहरू घटाएर देश विकास हने पनि हैन, गरीबीलाई लखेटेर मुलुक माथि जाने स्थिति पनि छैन । हामीसँग भएको एउटै कमाइखाने भाँडो ‘गरीबी’ को रेखा मेटेर जनतालाई दुख दिनु त भएन नि । अहिलेसम्म जे–जति विकासका रेखाहरू कोरिएका छन्, ती सबैको कारक तत्व गरीबी नै हो ।

उदाहरणको लागि हामी म्यानपावर कम्पनी चलाएर बस्ने साहुहरूलाई लिन सक्छौं । गरीब र बेरोजगार युवाहरूलाई महँगो दरमा विदेश पठाएर साहुहरूको भुँडी विकास भइरहेको छ । तपाईं नै भन्नोस् ,देशका युवाहरू गरीब नभएका भए श्रम विभागका हाकिमहरूले आफ्नो बैंक खातामा रकमको विकास गर्न कसरी सक्दथे ? त्यति मात्र होइन्, विश्वमा सबैभन्दा गरीब मुलुक भनेर चिनिने राष्ट्रहरूको सङ्ख्यामा पनि विकास भईनै रहेको छ । दुनियाँका साना साना राष्ट्रहरू विश्वमा आफ्नो देशको नाम फैलाउन थरिथरि प्रयासमा रहेका छन् र पनि चिनिन सकेका छैनन् ।

हामीले त न प्रचार गरिरहेका छौं, न त विश्वमा परिचित हुनका लागि खर्च गरेका छौं । ‘धनी देशका गरीब जनताहरू’ भनेर नचिन्ने देश अहिले कुनै छ ? हाम्रोजस्तो सानो देशले विश्वमा चिनिनु सानो विकास हो र ! टाढा किन जानु, तपाईंहरूकै घरको कुरो गर्दा कसैका आफन्तको माओवादीले हत्या गरे होलान् । मारिने र स्वाहा पारिने क्रम पनि कम्ति विकास भएको छ त ?

जो जो मारिएका छन्– सबै गरीबहरू मारिएका छन् । कोही साहुको ऋण तिर्न सरकारी जागीरे भएका थिए होलान् । कसैलाई शोषकले सताएर ‘सत्यानाश हुने बाटो’मा सामेल भएका थिए होलान् । साहूको ऋण र शोषकको सताई दुवै गरीबीकै कारण हुन् । यसै कारणले ‘यमराजको पाहुना’ हुने क्रम त झन् कति विकास भएको छ कति !

गरीबी हाम्रो प्रजातान्त्रिक आन्दोलनको ठूलो सहयोगी भएको छ । यसैको कारणले शहीदको खेती अत्यन्तै फस्टाएको छ । नौलो जनवादको सपनामा ‘शहिद हुनेहरू’ हुन्, अथवा शान्तिसुरक्षाको नाममा ‘वीरगति प्राप्त गर्नेहरू’ होउन्, दुवैथरिले संयुक्त रुपमा शहीदको संख्यामा विकास गराइरहेका छन् । शहीदहरू सँगसँगै देशमा बिधुवा र टुहुराहरूको दिनदिनै बढोत्तरी भइरहेको छ । कात्रोको बिक्री भएर होस् अथवा दाउराको माग बढेर होस्– गरीबीको कारणले नै यस्तो खालको व्यापारमा दिन दुगुना रात चौगुनाको हिसाबले विकास भइरहेको हो ।

देशमा राजनीतिक पार्टीहरू गन्न थाल्नोस् त्, तपाईंको हातका औंलाले नभ्याएर खुट्टातिर निहुरिनु पर्दछ । छ दर्जनभन्दा बढी राजनैतिक पार्टीहरू खोलिनु सानो विकास हैन ।

धनी देश अमेरिकामा हेर्नोस्, त्यहाँ दुई तीनवटाभन्दा धेरै पार्टी छैनन् । तर नेपालमा हात र खुट्टाका औंलामा समेत गन्न नसकिने गरी पार्टीको विकास हुनु गरीबीकै कारण हो । र, ती प्रत्येक पार्टीहरू थरि थरिका गरीबहरूले भरिएका छन् ।कोही जागीर खान पाउने लोभमा सत्तासीन पार्टीसँग टाँसिएका छन् । कोही बिदेश जान पाउने आशमा विपक्षी पार्टीसँग जोडिएका छन् । तिनले न कुनै कष्टबिना नोकरी पाएको भेटिन्छ, न त सजिलैसँग विदेशमा टोकरी बोक्न गएको देखिन्छ ।

उनीहरू प्रत्येक पटक सपना देख्छन् । त्यतिनै पटक आश्वासनमा रासनहरू बाँडिन्छन् । यति गर्दा पनि न कहिल्यै गरीबहरू घटेका छन्, न त गरीबी हटेर गरीबहरूले शान्तिको स्वास फेर्न पाएका छन् । बरु प्रत्येक वर्ष सरकार फेरिएका छन् र नयाँ नयाँ पार्टीका नेताका भुँडीहरू बढेका छन्, बुढीहरू विकास भएका छन् ।

गरीबीकै कारण हो– एन.जि.ओ. र आइ.एन.जि.ओ. हरू थपिएका थपिएकै छन् । दाताले पनि आखिर गरीबी देखेरै दान दिने हो । हामीले पनि गरीबहरूलाई उद्धार गर्न भनेरै लिने हो । यदि हामी धनी हँुदा हौं त विदेशीले हामीलाई किन रुपैयाँ दिन्थ्यो ! न हामीलाई डलरमा किनेर धर्मको कलर दल्न पाउँदथ्यो । न त सहयोगको सातु बाँडेर शोषणको ‘सुतली बम’ बिछ्याउन सक्दथ्यो ।

दाताहरूले हामीलाई जेजति दिएका छन्, ती सबै हाम्रो गरीबी देखेर दिएका छन् । जे कुरो हामीबाट उनीहरूले लिएका छन्– हाम्रो गरीबीकै फाइदा लुटेर लिएका छन् । गरीबी नहुँदो हो त अहिलेसम्म यो देश कहाँ यस्तो रहन्थ्यो र ! उहिल्यै, टाट पल्टिएर हरिकङ्गाल भईसक्ने देशमा धन्न पर्यटकहरू आउने क्रम विकास भएर यतिको टिकिरहेको छ ।

पर्यटकहरू जो नेपाल आएका छन्, तिनीहरू थोडै हिमाल हेर्न आएका हुन् र ! स्वीजरल्याण्डजस्ता देशमा सजिलै र सस्तै पुग्न सकिने मात्रै होइन, हिमालका टुप्पामा गाडीबाटै हिउँ टेक्न पाइने हुँदाहुँदै नेपालमै आउनुको पछाडि एउटै कारण छ– त्यो हो हाम्रो गरीबी ।

उनीहरूले सुन्छन्– ‘नेपाल भन्ने देश यस्तो छ कि त्यहाँ असङ्ख्य खोलानाला र पहाडहरू छन् । तिनबाट करोडौं वाट बिजुली निकाल्न सकिन्छ । सयौं हिमटाकुरा र पर्यटनस्थलहरू छन्, तिनको उचित प्रचार प्रसार गरेर अरबौं रुपियाँ कमाउन सकिन्छ । तर पनि नेपालीहरू उहिल्यैदेखि भुईंको भुईंमै बस्ने गर्दछन् ।’ यस्तो सुनेपछि उनीहरू आउँछन् र अचम्म मान्दै हाम्रो ‘गरीब बुद्धि’ हेरेर गलल्ल हाँस्ने गर्दछन् । शहरमा विकास भएका फोहोरका थुप्राहरूको फोटो खिच्छन् र धनी देशको गरीब स्वास्थ्य र वातावरणबारे सिनेमा बनाएर बेच्छन् ।

उनीहरू हाम्रा गरीबीका थरिथरिका उत्पादनहरू हेरेर दङ्ग पर्दा हुन् । कुनै बेला शत्रुको मुटु थर्काउने वीर गोर्खालीहरू आज आफ्नै दाजुभाइको छाती छेड्ने ‘गरीब मनःस्थिति’ को कथा लेख्दा होलान् ! एक जमानामा विश्वको शान्तिक्षेत्र नेपालमा शान्तिको अकालमृत्यु भएको प्रत्यक्ष प्रसारण गर्दा होलान् ! यहाँ गौतम बुद्घको शान्ति अनुभव गर्नका लागि पर्यटकहरू आएका होइनन्, बुद्घको अगाडि परेवाको हत्या भएको यथार्थ जानकारी लिन मात्रै आएका हुनुपर्छ !

हाम्रो गरीबीको यस्तो प्रचार पहिले कहिल्यै भएको थियो त ? गरीबी नै बिकासको आधार हो । हिजोसम्म शान्तिको घण्टा बज्ने गाउँमा बम र गोलका आवाजहरूको बिकास भएको छ । सुरक्षा खोज्न सरकारको शरण पर्नु पर्ने जनताहरू जीउ जोगाउनकै लागि जङ्गल पस्ने क्रमको विकास भएको छ ।

जो सम्पन्न थिए, उनीहरू सुरक्षित हुन शहर पस्ने क्रम चल्यो, जो दुई छाक खान सङ्घर्ष गर्दै थिए– तिनीहरू बाध्य भएर कि बन्दूक बोक्न थाले, कि सुरक्षाकर्मीले झ्यालखानामा हाले । अहिले झ्यालखानाहरूमा कहिल्यै नभएको कैदीहरूको विकास भएको छ । यो विकासको कारक तत्व हाम्रो गरीबी नै हो ।

‘विकास’ भनेको पुल बन्नु वा बाटो खन्नुमात्रै होइन । मानिसहरूको इमानदारिता रित्तिनु र नैतिकता सिद्घिनु पनि विकास हो । देश चलाउने ड्राइभरहरूको इमान्दारिता हराउँदा भ्रष्टाचारको विकास भएको छ । तिनीहरूले नै थरिथरिका ‘केश’ घटाउँदा दुराचारको विकास हुँदै गएको छ । जति भ्रष्टाचारको विकास भएको छ त्यति नै मानिसहरूको खाने पेटको विकास भएको छ ।

जसजसको खाने पेट विकास भएको छ, तिनीहरूको घरको गेट पनि बिकास हुँदै गएको छ । गेटभित्रका गलत कामहरू पनि उत्तिकै विकास भएको कुरा कसैबाट लुकेको छैन । यो पनि हाम्रो गरीबीको कारणबाट नै संभव भएको हो ।

जब हामी गरीबीबाट मुक्त हुन्छौं, तब हाम्रो विकास क्रम ठ््याक्कै रोकिन जान्छ । नेताजीहरूका खोक्रा भाषणमा थपडी बजाउने क्रम रोकिनेछ ।

हाम्रो अहंकार र लोभमा ह्रास आउन थाल्छ । कुटाकुट र मारामारको ‘सङ्घर्षशील’ परम्परामा बुजो लाग्न सक्दछ । जब षडयन्त्रको ‘वैज्ञानिक यन्त्र’ ले काम गर्न छोड्दछ तब तपाईं शान्ति र सुखसँग बस्न नसक्नु मात्र हैन, त्यो अवस्थाको कल्पना गर्न पनि सक्नुहुन्न ।

शान्ति र भातृत्व त हाम्रो आदर्शमात्रै हो, व्यवहार त उही हो क्यारे –महाभारत ! त्यसैले आउनोस्– हाम्रो विकासको मूल जरो ‘गरीबी’ लाई संरक्षण गरौं । वषौैंदेखि चलेको ‘गरीबी अन्त्य गर्ने’ सरकारी घोषणाको विरोध गरौं । ‘गरीब’ हाम्रो पहिचान हो, ‘गरीबी’ हाम्रो परम्परा हो । आफ्नो पहिचान र परम्परालाई जोगाउनु प्रत्येक नेपालीको दायित्व पनि त हो ।

जसले हाम्रा जीवनका हरेक दुःख, पीडा, भ्रष्टाचार, दुराचारजस्ता कुराको विकास गर्न मद्दत पु¥याएको छ– त्यो ‘गरीबी’ को संरक्षणका लागि काँधमा काँध मिलाऔं । गरीबी बचाऊँ आन्दोललाई सहयोग गरौं–
‘यो नेपाली शीर उचाली
गरीबीमा लम्किन्छ ।
भोकै नाङ्गै शरीर लिई
संसारमा चम्किन्छ ।’

हाल  : काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x