साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिबी जिन्दावाद

Nepal Telecom ad

नेपाल ‘कृषिप्रधान’ देश हो भन्नेहरूसँग म पटक्कै सहमत छुइँन । हाम्रो देश ‘गरीब प्रधान’ मुलुक हो । यसैलाई मलजल गरेर हामी विश्वमा चिरपरिचित र अति सुरक्षित हुनु पर्दछ तर, म छक्क पर्छु– किन यस देशका सरकारहरू वर्षै पिच्छे ‘गरीबीको रेखा मेट्ने’ दष्प्रयत्न गर्ने गर्दछन् हँ ?

गरीबहरू घटाएर देश विकास हने पनि हैन, गरीबीलाई लखेटेर मुलुक माथि जाने स्थिति पनि छैन । हामीसँग भएको एउटै कमाइखाने भाँडो ‘गरीबी’ को रेखा मेटेर जनतालाई दुख दिनु त भएन नि । अहिलेसम्म जे–जति विकासका रेखाहरू कोरिएका छन्, ती सबैको कारक तत्व गरीबी नै हो ।

उदाहरणको लागि हामी म्यानपावर कम्पनी चलाएर बस्ने साहुहरूलाई लिन सक्छौं । गरीब र बेरोजगार युवाहरूलाई महँगो दरमा विदेश पठाएर साहुहरूको भुँडी विकास भइरहेको छ । तपाईं नै भन्नोस् ,देशका युवाहरू गरीब नभएका भए श्रम विभागका हाकिमहरूले आफ्नो बैंक खातामा रकमको विकास गर्न कसरी सक्दथे ? त्यति मात्र होइन्, विश्वमा सबैभन्दा गरीब मुलुक भनेर चिनिने राष्ट्रहरूको सङ्ख्यामा पनि विकास भईनै रहेको छ । दुनियाँका साना साना राष्ट्रहरू विश्वमा आफ्नो देशको नाम फैलाउन थरिथरि प्रयासमा रहेका छन् र पनि चिनिन सकेका छैनन् ।

हामीले त न प्रचार गरिरहेका छौं, न त विश्वमा परिचित हुनका लागि खर्च गरेका छौं । ‘धनी देशका गरीब जनताहरू’ भनेर नचिन्ने देश अहिले कुनै छ ? हाम्रोजस्तो सानो देशले विश्वमा चिनिनु सानो विकास हो र ! टाढा किन जानु, तपाईंहरूकै घरको कुरो गर्दा कसैका आफन्तको माओवादीले हत्या गरे होलान् । मारिने र स्वाहा पारिने क्रम पनि कम्ति विकास भएको छ त ?

जो जो मारिएका छन्– सबै गरीबहरू मारिएका छन् । कोही साहुको ऋण तिर्न सरकारी जागीरे भएका थिए होलान् । कसैलाई शोषकले सताएर ‘सत्यानाश हुने बाटो’मा सामेल भएका थिए होलान् । साहूको ऋण र शोषकको सताई दुवै गरीबीकै कारण हुन् । यसै कारणले ‘यमराजको पाहुना’ हुने क्रम त झन् कति विकास भएको छ कति !

गरीबी हाम्रो प्रजातान्त्रिक आन्दोलनको ठूलो सहयोगी भएको छ । यसैको कारणले शहीदको खेती अत्यन्तै फस्टाएको छ । नौलो जनवादको सपनामा ‘शहिद हुनेहरू’ हुन्, अथवा शान्तिसुरक्षाको नाममा ‘वीरगति प्राप्त गर्नेहरू’ होउन्, दुवैथरिले संयुक्त रुपमा शहीदको संख्यामा विकास गराइरहेका छन् । शहीदहरू सँगसँगै देशमा बिधुवा र टुहुराहरूको दिनदिनै बढोत्तरी भइरहेको छ । कात्रोको बिक्री भएर होस् अथवा दाउराको माग बढेर होस्– गरीबीको कारणले नै यस्तो खालको व्यापारमा दिन दुगुना रात चौगुनाको हिसाबले विकास भइरहेको हो ।

देशमा राजनीतिक पार्टीहरू गन्न थाल्नोस् त्, तपाईंको हातका औंलाले नभ्याएर खुट्टातिर निहुरिनु पर्दछ । छ दर्जनभन्दा बढी राजनैतिक पार्टीहरू खोलिनु सानो विकास हैन ।

धनी देश अमेरिकामा हेर्नोस्, त्यहाँ दुई तीनवटाभन्दा धेरै पार्टी छैनन् । तर नेपालमा हात र खुट्टाका औंलामा समेत गन्न नसकिने गरी पार्टीको विकास हुनु गरीबीकै कारण हो । र, ती प्रत्येक पार्टीहरू थरि थरिका गरीबहरूले भरिएका छन् ।कोही जागीर खान पाउने लोभमा सत्तासीन पार्टीसँग टाँसिएका छन् । कोही बिदेश जान पाउने आशमा विपक्षी पार्टीसँग जोडिएका छन् । तिनले न कुनै कष्टबिना नोकरी पाएको भेटिन्छ, न त सजिलैसँग विदेशमा टोकरी बोक्न गएको देखिन्छ ।

उनीहरू प्रत्येक पटक सपना देख्छन् । त्यतिनै पटक आश्वासनमा रासनहरू बाँडिन्छन् । यति गर्दा पनि न कहिल्यै गरीबहरू घटेका छन्, न त गरीबी हटेर गरीबहरूले शान्तिको स्वास फेर्न पाएका छन् । बरु प्रत्येक वर्ष सरकार फेरिएका छन् र नयाँ नयाँ पार्टीका नेताका भुँडीहरू बढेका छन्, बुढीहरू विकास भएका छन् ।

गरीबीकै कारण हो– एन.जि.ओ. र आइ.एन.जि.ओ. हरू थपिएका थपिएकै छन् । दाताले पनि आखिर गरीबी देखेरै दान दिने हो । हामीले पनि गरीबहरूलाई उद्धार गर्न भनेरै लिने हो । यदि हामी धनी हँुदा हौं त विदेशीले हामीलाई किन रुपैयाँ दिन्थ्यो ! न हामीलाई डलरमा किनेर धर्मको कलर दल्न पाउँदथ्यो । न त सहयोगको सातु बाँडेर शोषणको ‘सुतली बम’ बिछ्याउन सक्दथ्यो ।

दाताहरूले हामीलाई जेजति दिएका छन्, ती सबै हाम्रो गरीबी देखेर दिएका छन् । जे कुरो हामीबाट उनीहरूले लिएका छन्– हाम्रो गरीबीकै फाइदा लुटेर लिएका छन् । गरीबी नहुँदो हो त अहिलेसम्म यो देश कहाँ यस्तो रहन्थ्यो र ! उहिल्यै, टाट पल्टिएर हरिकङ्गाल भईसक्ने देशमा धन्न पर्यटकहरू आउने क्रम विकास भएर यतिको टिकिरहेको छ ।

पर्यटकहरू जो नेपाल आएका छन्, तिनीहरू थोडै हिमाल हेर्न आएका हुन् र ! स्वीजरल्याण्डजस्ता देशमा सजिलै र सस्तै पुग्न सकिने मात्रै होइन, हिमालका टुप्पामा गाडीबाटै हिउँ टेक्न पाइने हुँदाहुँदै नेपालमै आउनुको पछाडि एउटै कारण छ– त्यो हो हाम्रो गरीबी ।

उनीहरूले सुन्छन्– ‘नेपाल भन्ने देश यस्तो छ कि त्यहाँ असङ्ख्य खोलानाला र पहाडहरू छन् । तिनबाट करोडौं वाट बिजुली निकाल्न सकिन्छ । सयौं हिमटाकुरा र पर्यटनस्थलहरू छन्, तिनको उचित प्रचार प्रसार गरेर अरबौं रुपियाँ कमाउन सकिन्छ । तर पनि नेपालीहरू उहिल्यैदेखि भुईंको भुईंमै बस्ने गर्दछन् ।’ यस्तो सुनेपछि उनीहरू आउँछन् र अचम्म मान्दै हाम्रो ‘गरीब बुद्धि’ हेरेर गलल्ल हाँस्ने गर्दछन् । शहरमा विकास भएका फोहोरका थुप्राहरूको फोटो खिच्छन् र धनी देशको गरीब स्वास्थ्य र वातावरणबारे सिनेमा बनाएर बेच्छन् ।

उनीहरू हाम्रा गरीबीका थरिथरिका उत्पादनहरू हेरेर दङ्ग पर्दा हुन् । कुनै बेला शत्रुको मुटु थर्काउने वीर गोर्खालीहरू आज आफ्नै दाजुभाइको छाती छेड्ने ‘गरीब मनःस्थिति’ को कथा लेख्दा होलान् ! एक जमानामा विश्वको शान्तिक्षेत्र नेपालमा शान्तिको अकालमृत्यु भएको प्रत्यक्ष प्रसारण गर्दा होलान् ! यहाँ गौतम बुद्घको शान्ति अनुभव गर्नका लागि पर्यटकहरू आएका होइनन्, बुद्घको अगाडि परेवाको हत्या भएको यथार्थ जानकारी लिन मात्रै आएका हुनुपर्छ !

हाम्रो गरीबीको यस्तो प्रचार पहिले कहिल्यै भएको थियो त ? गरीबी नै बिकासको आधार हो । हिजोसम्म शान्तिको घण्टा बज्ने गाउँमा बम र गोलका आवाजहरूको बिकास भएको छ । सुरक्षा खोज्न सरकारको शरण पर्नु पर्ने जनताहरू जीउ जोगाउनकै लागि जङ्गल पस्ने क्रमको विकास भएको छ ।

जो सम्पन्न थिए, उनीहरू सुरक्षित हुन शहर पस्ने क्रम चल्यो, जो दुई छाक खान सङ्घर्ष गर्दै थिए– तिनीहरू बाध्य भएर कि बन्दूक बोक्न थाले, कि सुरक्षाकर्मीले झ्यालखानामा हाले । अहिले झ्यालखानाहरूमा कहिल्यै नभएको कैदीहरूको विकास भएको छ । यो विकासको कारक तत्व हाम्रो गरीबी नै हो ।

‘विकास’ भनेको पुल बन्नु वा बाटो खन्नुमात्रै होइन । मानिसहरूको इमानदारिता रित्तिनु र नैतिकता सिद्घिनु पनि विकास हो । देश चलाउने ड्राइभरहरूको इमान्दारिता हराउँदा भ्रष्टाचारको विकास भएको छ । तिनीहरूले नै थरिथरिका ‘केश’ घटाउँदा दुराचारको विकास हुँदै गएको छ । जति भ्रष्टाचारको विकास भएको छ त्यति नै मानिसहरूको खाने पेटको विकास भएको छ ।

जसजसको खाने पेट विकास भएको छ, तिनीहरूको घरको गेट पनि बिकास हुँदै गएको छ । गेटभित्रका गलत कामहरू पनि उत्तिकै विकास भएको कुरा कसैबाट लुकेको छैन । यो पनि हाम्रो गरीबीको कारणबाट नै संभव भएको हो ।

जब हामी गरीबीबाट मुक्त हुन्छौं, तब हाम्रो विकास क्रम ठ््याक्कै रोकिन जान्छ । नेताजीहरूका खोक्रा भाषणमा थपडी बजाउने क्रम रोकिनेछ ।

हाम्रो अहंकार र लोभमा ह्रास आउन थाल्छ । कुटाकुट र मारामारको ‘सङ्घर्षशील’ परम्परामा बुजो लाग्न सक्दछ । जब षडयन्त्रको ‘वैज्ञानिक यन्त्र’ ले काम गर्न छोड्दछ तब तपाईं शान्ति र सुखसँग बस्न नसक्नु मात्र हैन, त्यो अवस्थाको कल्पना गर्न पनि सक्नुहुन्न ।

शान्ति र भातृत्व त हाम्रो आदर्शमात्रै हो, व्यवहार त उही हो क्यारे –महाभारत ! त्यसैले आउनोस्– हाम्रो विकासको मूल जरो ‘गरीबी’ लाई संरक्षण गरौं । वषौैंदेखि चलेको ‘गरीबी अन्त्य गर्ने’ सरकारी घोषणाको विरोध गरौं । ‘गरीब’ हाम्रो पहिचान हो, ‘गरीबी’ हाम्रो परम्परा हो । आफ्नो पहिचान र परम्परालाई जोगाउनु प्रत्येक नेपालीको दायित्व पनि त हो ।

जसले हाम्रा जीवनका हरेक दुःख, पीडा, भ्रष्टाचार, दुराचारजस्ता कुराको विकास गर्न मद्दत पु¥याएको छ– त्यो ‘गरीबी’ को संरक्षणका लागि काँधमा काँध मिलाऔं । गरीबी बचाऊँ आन्दोललाई सहयोग गरौं–
‘यो नेपाली शीर उचाली
गरीबीमा लम्किन्छ ।
भोकै नाङ्गै शरीर लिई
संसारमा चम्किन्छ ।’

हाल  : काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x