साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिस्टर योद्धा

Nepal Telecom ad

क्रान्तिमा भूमिगत थियो योद्धा
खुला थिए उसका परिबन्दहरू
खुला प्रकट भयो जब क्रान्तिमा
भूमिगत हुन थाले क्रमशः योद्धाका सम्बन्धहरू
कवि झस्कियो
तर निर्माण भयो मिस्टर योद्धा !
मिस्टर योद्धा सोचमग्न छ
तर भूमिगत छ उसको मस्तिष्क
खाली खप्परमा कोचिएको छ पेन्डोराबक्स
जसबाट निस्कन्छ कहिले नयाँ बहुराष्ट्रिय कम्पनी चिन्तक रामदेव जोगी
कहिले प्रकट हुन्छ स्टालिनसँग हैरान माओको दुब्लो तस्बिर
अनि निस्कन्छ अकस्मात् ‘ब्ल्याक लेबल’को ओभरडोज वान्ताजस्तो
रामदेव र माओबीच मितेरी साइनो लाइदिने ‘अफर’ !
कवि छक्क पर्छ
तर हुर्किंदै गयो मिस्टर योद्धा !
मिस्टर योद्धा गाउँसहरमा कुदिरहेछ
तर भूमिगत छन् उसका खुट्टाहरू
खुट्टाको सट्टा जडिएको छ बूढो भित्ते घडीमा हल्लिरहेको लङ्गुर
ऊ भाले बासेको प्रभाततिर हिंडें भन्छ
तर पुग्दछ कुकुर रोइरहेको एकलासमा
कहिलेकाहीं छाप्राहरूको जङ्गलतिर यात्राको फर्माइस गर्छ
लङ्गुरहरू पुर्याइदिन्छन् उसलाई सेयर बजारमा
त्यस्तो आपतकालीन बेला
ऊ न रिसाउँछ न दुःखी हुन्छ
निमेषमै प्रकट हुन्छ उसको मुहारमा विचित्र उदासी
जुन कार्ल माक्र्सको जन्मपछि कसैको ओठमा देखिएको थिएन
कवि चकित छ
तर अघि बढिरह्यो मिस्टर योद्धा !
मिस्टर योद्धा
गाडी चढ्छ तर ‘ब्ल्यु बुक’ भूमिगत छ
घरमा बस्छ तर लालपूर्जा भूमिगत छ
तेल भर्छ गाडीमा तर तेलको कुवा भूमिगत छ
जाडो या गर्मी सजिलै झेलिरहेछ
तर उसको शरीरको वस्त्र भूमिगत छ
वस्त्रको सट्टा उसको शरीरमा छन्
वातानुकुलित खुला कम्पनीका भूमिगत सेयरहरू
यस्तो भूमिगत प्रणालीबीच
व्यापारीको सामूहिक बलात्कारबाट जन्मेको महँगी
उसको दैलोमा पुग्दछ जब
महँगी स्वयम् भूमिगत हुन्छ !
कवि मूर्छा पर्छ
तर यात्रामा वेगवान छ मिस्टर योद्धा !
मिस्टर योद्धा बैठक गर्छ तर एजेन्डा भूमिगत हुन्छ
उसले निर्णय लिन्छ तर निर्णय नै भइदिन्छ भूमिगत
रहर छ भने एक घण्टा भेटेर समस्या भन्नोस्
टाउको यसरी हल्लाएर सुन्छ मानौं घण्ट बजिरहेछ
तर छुट्टिने बेला सोध्नेछ उसले– ‘तपाईंको समस्या के हो ?’
तपाईंलाई देखेर अचम्मित ऊ हाँस्न खोज्नेछ
तर थाहा पाएर आफ्नो मुस्कान भूमिगत
हतारमै टाँस्नेछ ओठमा उसले
पेसेवर एयरहोस्टेजको प्रायोजित मुस्कान !
जुन मुस्कान सुताऊ पर्दा साटासाट गर्न मिल्दैन
जुन मुस्कान घाटबाट फर्किंदा हाँस्न मिल्दैन
मूर्छनाबाट ब्युँझेर चिच्याउँछ कवि
गुहार ! गुहार !
कविहरू हो ! कविता भन
खेलमा भुलेका नानीहरूलाई बोलाऊ
निदाइरहेका बच्चाहरूलाई ब्युँझाऊ
कविहरू हो ! जोड जोडले कविता भन !!

कान्तिपुर कोसेली, २०७१ साउन २४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x