अमर अधिकारीनेतासम्बन्धी गाईजात्रे जोक
बुधलालको चुनावी भाषण
एक विकट ठाउँमा गएको चुनावमा एनेकपा माओवादीले आफ्नो पार्टीबाट उठ्ने उम्मेदवार नै भेटेनछ । धेरैलाई उम्मेदवार बन्न आग्रह गरियो, तर कसैले मानेनन् । धेरै प्रयत्नपछि एक युवक भेटिए, जो बलिया र हट्टाकट्टा थिए । उनैलाई आग्रह गरियो ।
‘तर, मलाई भाषण गर्न आउँदैन त ।’ केन्द्रबाट उम्मेदवार खोज्न खटाइएका नेतालाई युवकले आफ्नो समस्या राखे ।
‘डराउनु पर्दैन । जे आउँछ त्यही बोल, तर भाषणको अन्त्यमा चाहिँ आफ्ना लागि भोट माग्न नबिर्सनू ।’ नेताले युवकलाई सिकाए ।
भाषण गर्ने दिन आयो । मानिस जम्मा भए । युवकले दिएको भाषण यस्तो थियो– ‘मेरो नाम बुधलाल हो । मलाई भाषण गर्न आउँदैन । भाषण त गर्नुहुन्छ हाम्रा पार्टीका अध्यक्ष प्रचण्डज्यू । प्रचण्डज्यूको कोटको खल्तीमा सधैँ गुलाबको फूल हुन्छ । गुलाबबाट गुलकन्द बन्छ । गुलकन्द कब्जियतको ओखती हो । कब्जियत सम्पूर्ण रोगको मुख्य जरा हो । जरा खरबुजाको राम्रो हुन्छ । खरबुजाले खरबुजालाई देख्दा आफ्नो रंग बदल्छ । रंग जर्मनीको राम्रो हुन्छ । जर्मनीमा एउटा शासक थियो, जसले धेरै वार गराएको थियो । जस्तो सम्झनुहोस् कि आइतबार, सोमबार, मङ्गलबार, बुधबार । बुधबारलाई सम्झनुहोस्, बुधलाललाई भोट दिनुहोस् ।’
विपक्षीलाई दोब्बर वरदान
एक चुनावी क्षेत्रमा दुईजना प्रतिस्पर्धी उम्मेदवार थिए । तीमध्ये एकजना शिवको अनन्य भक्त थियो । एक दिन शिवजीले उसलाई दर्शन दिए र भने, ‘म तिम्रो भक्तिबाट प्रसन्न छु । वरदान माग । तर विचार गर, तिमीले जे माग्छौ म तिमीलाई दिन्छु, तर तिम्रो विपक्षीलाई तिमीले मागेभन्दा दुई गुणा बढी दिन्छु ।’
‘हुन्छ भगवान’ उसले खुसी हुँदै भन्यो ।
‘लौ माग !’ कैलाशपतिले आदेश दिए ।
उसले वरदान माग्यो– ‘प्रभु, मलाई कुटेर अधमरो बनाईदिनुस् ।’
नेतालाई ताली
एक नेताको बानी कस्तो थियो भने आफूले सामान्य कुरा भने पनि उनलाई ‘कत्ति न ठूलो कुरा भनेँ’ जस्तो लाग्थ्यो । त्यसमाथि कार्यकर्ताले ताली बजाइदिएपछि त उनी झन् उक्सिन्थे ।
‘वाह नेताज्यू !’
नेता भन्थे, ‘आदरणीय जनसमुदाय, वर्षा भएन भने मौसम सुक्खा हुन्छ ।’ कार्यकर्ता परर्र ताली बजाउँथे र नेतालाई हौस्याउँथे, ‘हो–हो, महान् कुरा गर्नुभयो ।’
उनको भाषण ननस्टप जान्थ्यो, ‘साथीहरू, हो म यो कुरा तपार्इंहरूलाई भन्न जरुरी ठान्छु कि जुन सिढीँबाट माथि चढिन्छ, त्यही सिढीँबाट तल पनि ओर्लिइन्छ ।’
कार्यकर्ता दिल खोलेर ताली बजाउँथे र नेताको प्रशंसा गर्थे, ‘नेताज्यू, तपाईंजस्तो ज्ञानी मान्छे यस देशमा कोही छैन ।’
दिलदार पौडेल
लोभी नेताका रूपमा सुपरिचित रामचन्द्र पौडेलकहाँ केही स्थानीय युवा चन्दा माग्न आए ।
‘नेताज्यू, हाम्रो ठाउँमा अति गर्मी हुने भएकाले हामीले एउटा स्विमिङपुल बनाउने योजना बनाएका छौँ । तपाईंले सहयोग गर्नुपर्यो ।’ पौडेलसँग सहायता मागियो । उनले एकछिन सोचे र भने, ‘यस्तो सामाजिक काममा म सहयोग गरिहाल्छु नि ।’
पौडेल घरभित्र पसे र एक छिनपछि दुई बाल्टिन पानी लिएर आए । चन्दा माग्न आएकामध्ये एकलाई दुवै बाल्टिन थमाउँदै उनले भने, ‘भाइहरूले गर्न लागेको काम एकदमै सराहनीय छ । अहिलेलाई स्विमिङ पुलका लागि चाहिने दुई बाल्टिन पानी लिएर जानुस्, पुगेन भने फेरि आउनुहोला ।’
भालेको औषधि
नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी नुवाकोटमा बस्दा कृषिमा विशेष ध्यान दिन्थे । फलफूल खेती र कुखुरापालनमा उनलाई असाध्यै रुचि थियो ।
पछि, काठमाडौँको गोंगबुमा उहाँको बसाइ भयो । राजनीतिमा पनि सक्रियता बढ्यो । एक दिन पार्टीको बैठक चलिरहेको बेला आफ्ना मित्र लक्ष्मण घिमिरेलाई नुवाकोटको आफ्नो कुखुरापालन बारे यसरी सुनाउँदै थिए– ‘मेरो कुखुराखोरमा चालीस पोथी थिए । तर, भाले भने एउटा मात्र । मोरो भालेले कहाँबाट बह्मचर्यको दीक्षा लिएर आयो कुन्नि, कुनै पोथीले अन्डा पारेनन् ।’
‘अनि ?’ लक्ष्मण घिमिरेले अभिरुचिसाथ सोधे ।
‘एक दिन एकजना जोगी आएर कुखुरालाई खुवाउनू भनेर केही औषधि दियो । मैले जम्मै औषधि भालेलाई खुवाइदिएँ । त्यसपछि त…. मोरो भालेले एउटा पोथीलाई पनि सुखसँग बस्न दिएन । चालीसैवटा पोथीले अन्डा पार्न थाले ।’
एकदम चाख मानेर सुनिरहेका घिमिरेले त्यस औषधिको नाम सोधे ।
‘नाम त मलाई थाहा छैन… ।’ केसीले भने, ‘तर, त्यसको स्वादचाहिँ अदुवा–अदुवा, लसुन–लसुनजस्तो थियो ।’
– टिपनटापन
Subscribe
Login
0 Comments
Oldest




































