सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ससुरालीको सिधा सधैँलाई बिदा

Nepal Telecom ad

आफ्नै पत्नीको माइतीघरलाई ससुराली भनिन्छ । ससुरालीले दानवीर भएर समाजका सामुन्ने वित्तीय हैसियत र ह्याउ प्रदर्शन गर्दै ज्वाइँछोरीको ह्याकुलो हाँस्ने गरी र छोरीको माइतीतर्फको बिर्सना खातिर या ज्वाईको मायामोह अङ्कुरणार्थ दिएको चौपाया, दोपाया दानदक्षिणा वा जाय–जेथालाई व्यङ्ग्यार्थमा सिधा भनिन्छ । आजभोलिका मान्छेहरूले भूत, वर्तमान र भविश्य तीनै काल अग्रिम देख्ने हुनाले ससुरालीको सिधाबाट मानमनितो बन्धकी राखेर उस्तो लाभ नहुने देखिएकाले नै ससुरालीको सिधा सधैँलाई विदा भन्न रुचाएको हुनुपर्छ । यसरी ससुरालीको पिरमर्कालाई हटाइदिने, हृदय रोगलाई मनमन्दिरबाट पन्छाइ दिन परोपकारी भावनाले ओतप्रोत सज्जन ज्वाइँहरू हाम्रा जीवन–भोगाइका सामुन्ने धेरै बग्रेल्ती र फालाफाल छन् । यिनको चुरीफुरीको मामलामा म यहाँ समक्ष बेली विस्तार लाउन तम्सिएको छु ।

राजनीतिमा साम, दाम, दण्ड, भेद नजानेको चतुरेले राजनीति गर्न सक्दैन । यी चार जुक्तिमध्ये शत्रुलाई धन सम्पति दिएर अधिनमा राख्ने वा खैँचिने उपाय मध्ये, दान एक हो । कस्ता आनीबानी सिङपुच्छर भएका ज्वाइँ छन् । बानी ब्यहोरा केही थाहा नहुँदा डरै लाग्छ– छोरीलाई अचेटेको अचेट्यै सास फेर्न बिर्साइ दिने पो हुन् कि ?

जे होस् दानवीय व्यवहार छोडून् मानवीय व्यवहार गरून् भनेर धनसम्पत्ति अघि सारिएको हुनुपर्छ । ज्वाइँको हड्डी हँसाउन र छोरीको घरजम बसाउन ससुरालीको पसिनाको यो लोकमा अहम् भूमिका हुने गरेको कुरा हाम्रा छरछिमेकबाट लुकेको छैन । यो नै हामी नेपालीको एउटा विशिष्ट पहिचान हो । ससुरालीको सिधामा लुटपुटिएका ज्वाइँ आजीवन फुक्का, निख्लो, रित्तोहात, श्रीमतीको साथ जिन्दावाद । गदै जीवन गुजार्न रुचाउनेहरूको लामो लस्करलाई सरकारले सससम्मान बिदा गनुपर्छ । ससुरालीको सिधामा र्याल काड्नु पनि अतिसार र दीर्घरोग जस्ता रोगले ग्रस्त हुनु हो र यसले बाँचुन्जेल पिरोली राख्छ । नामर्दपनको चरमावस्थामा पुर्याउँछ । हुतिहाराको लागि भने यो भरपर्दा बाटो र सुगमस्थानको एक तिरतिरे धारो नै मानिन्छ । नाक भएकाहरू यो बाटोमा हिँड्न र यस्तो धाराको पानी खान हच्किन्छन् । यसलाई शुभसङ्केतको रूपमा लिनुपर्छ । समजको दुर्गन्ध हटाउन र अगतिलालाई ठटाउन यस्ताको अहम् भूमिका हुन्छ । राज्यले यस्तालाई काखी च्यापेर विरुद्धमा फँडा फुलाउन सिक्नुपर्छ । अन्यथा ससुरालीको सिधामा गिध्दे नजर लाउनेहरू च्याउ उम्रेझैँ हर्दम उम्रिराख्ने कुरामा शङ्का गर्न मिल्दैन ।

ससुराली कसका हुँदैनन् राजा, प्रजा, नेता, तन्नेरी, बूढा सबैले ससुरालीको मिठो नमिठो स्वाद चाखेका हुन्छन् । नचाख्नेले देखेका हुन्छन् । जसरी एउटा अपराधीले अर्काको हत्या गर्दा एउटा सोझो मानवले देख्छ र उसलाई पनि अपराधीसरह सजायको भाग लगाइन्छ वा बलिको बोको बनाइन्छ । सोही मुतविक ससुराली देखेका छन्, ज्वाइँ देखेका छन्, तिनको लेनदेन र बानीव्यहोरा पनि थाहा छ । त्यसैले ती सोझा नभोग्ने तर देख्ने अभागीहरू पनि समाजमा र्याल काड्दै दुषित बन्ने चेष्टा जारी राख्छन् । यिनको पनि नियोजन गर्नुपर्छ जरै उखेल्ने भनेको सायद यही होला । समय सुहाउँदो पाराले चलिएन भने त्यसको असर देशलाई पर्छ । देशवासीलाई पर्छ । एउटा उट्पट्याङ नेपालले अघिल्लो वर्ष प्रजातन्त्र दिवसका दिन प्रजाका नाममा वक्तव्य प्रकाशित गर्दा जायज थियो हुन्थ्यो, भने यो साल त्यही व्यक्तिको वक्तव्य विषसमान पनि हुन्छ । सारा भाँडिन र माडिन पनि सक्छन् । किनकि यो समयको माग हो, समयअनुसार चल्नुपर्छ । समय जस्तो वलवान् उस्तै तिघ्रे पनि हुँदैनन् । त्यसैले सजिलै भन्न सक्छाँै– ज्वाइँ–ससुराले सुपाच्य तबरले स्वास प्रश्वास लिने छोड्ने गर्नपर्छ किनकि हाम्रो अन्तिम लक्ष्य भनेकै मर्नु हो मार्नु होइन ।

जब ससुरालीबाट ज्वाइँसाहेब भनेर चाकडी, सद्भाव वा सम्भावनका फोहरा फुट्छन् तब ज्वाइँका अहंकारजन्य सिउर अचम्मैसँग निहुरिन र ढल्किन थाल्छ । लयालु, दयालु र मायालु बोली र झोलीको कारण उचालेको कुकुरले मृग मार्दैन भनेझैँ अगणित ज्वाइँहरू मर्दपुत्र पराक्रमी र कर्मठ भएर निर्धक्क उघ्राउन सकेका छैनन् । बसीबसी डकार्न र हकार्न पाइन्छ भने नङ्ग्रा खियाउन को रुचाउँछ । आफ्नो आन्तरिक र वाह्य शक्ति र हैसियत बिर्सिएर पटमूर्ख बन्दै मेरा ससुराली यस्ता र त्यस्ता भन्दै धाकैधाकको थाक लगाउने जिराहा पिराहा ज्वाइँ ससुरालीको कोक्याउने सिदाको पोल्टामा पोको परेर पत्तै पाउँदैन । घिऊ, भात, मिठो–मसिनु, कवाफ रवाफ र ससुरालीको दूध कुवाको पानी पिउँदा, पिउँदा ज्वाइँको तिख्खर मष्तिष्क एकाएक मन्द, सुस्त र सिथिल भइसकेको हुन्छ । अतः ज्वाइँले यस लोकमा चिन्ने, जान्ने र मान्ने भनेकै श्रीमती, ससुराली, साला, साली अर्थात् आफू र अत्यन्त आफ्ना मात्रै । यस्ताका दृष्टिमा अन्य मानव श्रीखण्ड भएपनि खुर्पाको बिँड समान । यस अवस्थामा आजका चतुरे, चौखरे र चलाख ज्वाइँ ससुरालीको सिधा सधैँलाई विदा गर्न वाध्य, विवश र व्यग्र छन् यसमा अन्यथा नठानी दिनुहोला । किनकि म पनि उही ड्याङको मुला त हुँ । अस्तु ।

फूलवारी – ११, पोखरा

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई