फित्काैली डटकमलेखकको सम्मान
मन्त्रीलाई आफ्नो जीवनी प्रकाशन गर्न मन लाग्यो । तर उनी आफैले कलम चलाउँदैनथे । यसैले अखबारमा चोटिलो स्तम्भ लेख्न नाम कमाएका लेखकलाई उनले आफ्नो जीवनी लेखिदिन आग्रह गरे ।
भ्रष्टाचार, डकैती, तस्करी, अपहरण जस्ता अपराधका अरोपित व्यक्तिको जीवनी लेख्न लेखकको मनले मानेन ।
लेखक अल्मलिएको देखेर मन्त्रीले हाँस्दै भने, ‘किन केही बोल्नु भएन लेखकज्यू ? तपाईको मेहनतको उचित सम्मान भइहाल्छ नि । यति लेखिदिनु भयो भने तपाईंलाई प्रतिष्ठानको कुलपतिमा सिफारिस गरौँला नि ।’
मन्त्रीका वरिपरि नामुद डनहरू थिए । लेखकले सोझै इन्कार गर्न सकेनन् । उनले भने, ‘मन्त्रीज्यू, हजुरको जीवनी त म लेखिदिउँला तर त्यसमा मेरो नाम होइन, हजुरकै नामबाट प्रकाशित हुनुपर्छ । हजुरले नै लेखेको आत्मकथाको रुपमा ।’
‘हुन्छ, त्यो पनि हुन्छ । लेखेर दिनुस् । मेरै नामबाट प्रकाशित गरौँला । तपाईंले पारिश्रमिक पाइहाल्नु हुन्छ ।’
‘त्यसो गर्नु हुँदैन मन्त्रीज्यू ।’ मन्त्रीको नजिकै बसेको एक जना मानिसले मन्त्रीलाई सल्लाह दियो । ‘यहाँले आफ्नो नाम राखेर लेख्नु भन्दा उहाँ लेखककै नामबाट पुस्तक प्रकाशित गर्नु बेस हुन्छ । समाजमा उहाँको कलमको कत्रो इज्जत छ ! ठूलाठूला नेता र कर्मचारीहरू उहाँको कलम देखेर थर्कमान हुन्छन् । जनताले पनि उहाँले लेखेकै कुरा खोजी खोजी पढ्छन् । उहाँलाई नै विश्वास गर्छन् ।’
नजिकै बसेको डनले थपे, ‘मन्त्रीज्यू, हजुरले लेखेको भन्दा उहाँले लेखेको सबैले विश्वास गर्छन् र पढ्छन् । बरु उहाँको नाम अनुसारको पारिश्रमिक र सम्मान हुनु पर्यो ।’
मन्त्रीले भने, ‘तपाईंको सुझाव राम्रो हो । लेखकज्यू, म तपाईंको मेहनतको सम्मान गर्ने पूरा व्यवस्था गर्छु । काम पूरा भएपछि म तपाईंलाई पारिश्रमिक स्वरुप रु. पचास लाख दिन्छु । त्यसको आधा अहिले नै लैजानु भए पनि हुन्छ ।’
मन्त्रीको कुराले लेखकलाई दुविधामा पार्यो । उनले मन्त्रीको वरिपरिका डनहरूतिर हेरे र आँखा झुकाए । अलिकति हच्के । मन बलियो बनाउँदै भने, ‘हजुरको जीवनी लेख्न मलाई कुनै आपत्ति छैन । तर हजुरसँग बसेर कुरा नगरी, हजुरको बारेमा हजुरसँगै नसुनी कसरी लेख्ने ? हजुरलाई फुर्सत पनि त हुनु पर्यो ।’
मन्त्रीले हाँस्दै भने, ‘त्यसको चिन्ता नगर्नुस् । मेरो बारेमा सबैलाई थाहा छ । मेरो गाउँमा जानुस् । जिल्लामा जानुस् । मलाई चिनेका र जानेका धेरै मानिस पाउनु हुनेछ । मसँगै पढेका, मैले जागिर दिलाएका र मैले मदत गरेका मानिसहरू जिल्लामा कत्ति छन् कत्ति ! तपाईंले उनीहरूबाट मेरो बारेमा बुझ्न सक्नु हुन्छ ।’
नजिकै बसेको डनले थपे, ‘हो, मन्त्रीज्यूको बारेमा मन्त्रीज्यूलाई भन्दा हामीलाई धेरै थाहा छ । मन्त्रीज्यूको नाममा हामीले पनि धेरै काम गरेका छौं । तपाईंलाई मदत गर्न हामी छँदैछौँ नि ।’
‘तपाईंले को कोसँग भेट्ने भन्ने लिस्ट हामीले दिन्छौँ । उहाँहरूसँग भेट्नु भयो भने मन्त्रीज्यूको बचपनदेखि अहिलेसम्मको धेरै कुरा थाहा पाउनु हुन्छ ।’ अर्का डनले थपे ।
लेखक पच्चीस लाखको क्याँट झोलामा बोकेर घरतिर लागे । बाटोभरि उनले मन्त्रीका कर्तुतहरू सम्झिरहे ।
घर पुग्दा श्रीमती सरस्वती भान्छामा खाना पकाउँदै थिइन् । आफूलाई नभेटी सोझै कोठामा जान लागेको देखेर उनले लेखक पतिसँग टाढैबाट सोधिन्, ‘होइन, त्यो मन्त्रीले किन बोलाएको रैछ तपाईंलाई ?’
‘त्यो मन्त्री नभन । मन्त्रीज्यू भन । उहाँको कृपाले अब हाम्रो घरमा सरस्वतीसँगै लक्ष्मीको पनि बास हुँदैछ ।’
‘को हो त्यो लक्ष्मी ? त्यसलाई किन हाम्रो घरमा बास दिने ?’ सरस्वतीले सशङ्कित हुँदै सोधिन् ।
‘त्यसो होइन सरस्वती ! अब हाम्रा दुःखका दिन गए । छोराछोरीले विदेशमा पढ्न जान पाउने छन् । तिम्रो घर बनाउने, गहना लाउने इच्छा पनि पूरा हुनेछ ।’ लेखकले स्पष्ट पार्न खोजे ।
‘अनि तपाईंले के पाउनु हुन्छ नि ?’ सरस्वतीले व्यङ्ग्य गर्दै सोधिन् ।
‘मलाई प्रतिष्ठानको कुलपतिमा सिफारिस गर्ने भएका छन् !’
‘ए… हो र ? अनि त्यसको लागि तपाईंले के गर्नु पर्छ नि ?’ सरस्वतीले उत्सुक हुँदै सोधिन् ।
‘मन्त्रीज्यूको जीवनी लेखिदिनु पर्छ । लौ यो पच्चीस लाख रुपैयाँ भित्र राख’ भन्दै लेखकले आफ्नी पत्नीलाई नोटको पोको दिए ।
सरस्वतीले त्यो नोटको पोकोलाई अनौठो जन्तुलाई जस्तै गरी हेरिरहिन्, पोकोतिर हात बढाइनन् ।
‘लेऊ न, किन अल्मलिएकी ? यो पैसा दराजभित्र राखेर आऊ । मलाई भोक लागेको छ ।’
सरस्वती दुविधामा परिन् । छोराछोरीको भविष्य सम्झिन् अनि लेखकको ख्याति सम्झिन् । मनमनै दुबैको तुलना गरिन् । उनले पैसा लिँदै भनिन्, ‘यो पैसा लिन त लिन्छु तर एउटा कुरा सम्झिराख्नुस् है । त्यो किताब लेखेपछि तपाईंले रत्नाकरलाई बाल्मीकी बनाउन सक्नु होला । तर यसले बाल्मीकीलाई रत्नाकरमा परिणत गर्नेछ । यो कुरा नबिर्सनु होला ।’
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































