हृदयप्रसाद मिश्रगणतन्त्र कि गनतन्त्र ?
एकाबिहानै मेरो आठवर्षे धोक्रे छोरोले आफ्नो लोकतान्त्रिक माग राख्दै भन्यो– “ऐ बाउ, म त राष्ट्रपति बन्छु डाक्टर साक्टर बन्दिन है, पहिल्यै भन्दिया छ ।” छोरोलाई डाँग्डर बनाउँला, बुढेसकालमा डाँग्डर छोरो राखेर घरलाई नर्सिङहोम भन्दा नि तगडाको बनाई छोराबुहारीबाट सेवा गराउँला भनेको त मोरोले राष्ट्रपति पो बन्छु भन्छ बा ! भन्ने सोच्दै कहिलेदेखि राष्ट्रपति बन्ने भूत सवार भएको होला भन्ने विचारले मैले भनेँ– “हैन, छोरा किन बन्ने राष्ट्र«पति ? राष्ट्रपति बन्ने भन्या सजिलो कुरो हो र ? धेरै पढनुपर्छ, ठाउँगाउँ हेरेर भाषण शासन गर्नुपर्छ । जङ्गल सङ्गलमा बस्नु …।”
“भयो, भयो बाउ– आफैँ नेता बनेर धेरै भाषण ठोक्नु पर्दैन । राष्ट्रपति बन्न के के गर्नुपर्छ भन्ने कुरा मैले पनि सबै बुझ्या छु । धेरै सोचविचार गरेर नै मैले राष्ट्रपति बन्ने भन्या हुँ । फेरि राष्ट्रपति बन्न धेरै पढ्नु सढ्नु पनि पर्दैन– मात्र गन चलाउन जाने पुग्छ । त्यसैले अब मलाई किताबसिताब होइन एउटा गतिलो घतिलो बन्दुक किनिदिनोस् हैन भने माग पूरा नभए वाइसिएल लगाएर बाउको बिहे देखाइदिन्छु ।”
हिजा फुल आजा चल्ला मोराले बडा जान्नेमान्ने भई धम्कीसमेत दिई आफ्नो अंश भाग सम्झी माग गरेको र गणतन्त्रको वकालत गरेको देख्दा मन मनै रिस उठे पनि नबुझ्या जस्तो गरी मैले सोधेँ– “हैन तैँले गणतन्त्र भन्या कुन चराको नाउँ हो भन्याँ त थाहा छ ?” मैले प्रश्नको ताना कस्दै खितितिति हाँस्दै भनेँ । “हत्तेरिका बाउ, त्यति पनि थाहा नहोला र ? त्यै गन तन्त्रको महिमा र गरिमा बुझेर नै भविष्य सपार्नको लागि त राष्ट्रपति बन्ने पवित्र विचार लिएको हुँ क्या ! के थाहा बाउलाई ।”
स्वाँठ भन्न नमिल्ने बजियाको गोंज ताल देखेर झोँक चलेकाले मैले रिसाउँदै भनेँ– “हेर, यस्तो तालले राष्ट्रपति त के स्वास्नीको पनि पति बन्न सक्दैनस् तँ, के भन्या ? राष्ट्रपति बन्न जङ्गल–सङ्गलमा बस्नुपर्छ, कन्दमूल सिस्नु खानुपर्छ, अब जङ्गलमा बस्न र जानीजानी दुःख काट्न कुनचैँ केटी आउन मान्लिन् र तँसँग ?” मेरो कुराको खिल्ली उडाउदै मलाई सिल्ली सम्झँदै मेरो छोरो बोल्न थाल्यो– “थाह छ, थाह छ बाउ, तपैँले सिकाउनु पर्दैन । राष्ट्रपति बन्न के के गर्नुपर्छ भन्ने मलाई पनि सप्पै थाह छ । दुईचार वर्ष जङ्गलमा पस्ने दुईचार वर्ष भूमिगत बस्ने, दुईचार ठाउँमा बमसम पडकाउन कम्मर कस्ने, आफूकहाँ काम गर्ने कार्यकर्ताहरूलाई मासुभात ख्वाउन गाउँका मान्छेहरूलाई दबाव दिन तम्सिने अनि आफ्नो नामलाई आकाश, पाताल, बादल आदि राख्ने, हरेक कुरामा विरोध गरी अवरोध खाडा गर्ने र पत्रपत्रिकामा अन्तरवार्ता दिइरहने गर्नुपर्छ । अनि त अरू पार्टीका नेताहरूसमेत लुतेकुकुर बनेर मिल्न आइहाल्छन्, त्यसपछि त आफ्ना इच्छा अनुसारका मानिसहरूलाई मन्त्रीसन्त्री ख्वाउन र आफू राष्ट्र«पति बन्न के गाहारो हुन्छ र ! हो आफू बाहिर निक्लिँदा दुईटा मोटर अगाडि दुईटा मोटर पछाडि राखेर २/४ जना रेश्लर जस्ता मान्छेहरू सँगसँगै लिई हिँड्नुपर्छ नि त्यति पनि थाहा छैन भन्ठान्या मैले ? जहाँसम्म स्वास्नीको कुरा छ त्यसको लागि त झन् एकदम इजी छ, एउटी गतिली घतिली मतवाली पोटवाली दिलवाली र चुष्टपुष्ट च्वाँककी केटीलाई गन तेस्र्याएर आई लभ यु भन्नुपर्छ अनि त उनको बाउ साक्षी राखेर पनि आइ लभ यु भनिहाल्छिन्, अनि त बिहे भैहाल्छ नि । लौ भन्नोस् त अब पनि स्वास्नी नपाइएला भन्ने चिन्ता छ त ?”
लाटो भन्न नहुने कोकल्याँटो मोराको कुरा सुन्दा एक क्षण त रनभुल्लमै परेँ भन्या म पनि । तै पनि साँच्चै नै यो मोरो राष्ट्र«पति बन्छ कि क्या हो !? सानैदेखि गिलाससिलास फुटाउने याने कि तोडफोड गर्ने, चढ्ने चिढ्ने, आगोसागो बाल्ने, हल्लीखल्ली हुलदङ्गा गर्ने एवम् मिनेटमिनेटमा झूठ कुरा गर्न खप्पीस बानी संझिँदा योसँग नेता बन्ने लक्षण त छ बा ! भन्ने लागे पनि गणतन्त्रको वकालत गरेकाले गणतन्त्रले देशमा विकाश गर्ने फर्मुला त जानेको छ यो मुलाले, बज्जेलाई कत्तिको ज्ञान रहेछ जाँचौँ न भन्ने विचारले मैले सोधेँ । लौ तँलाई एउटा बन्दुक त किनिदिउँला तर तैँले कसरी गण्तन्त्रलाई कार्यान्वयन गर्छस् लौ भन् त ?
कुरो सुनेर साँढे हाँसेझैँ हाँस्दै मोरो छोरोले भन्यो– “ल बाउ गन तन्त्रको सही उपयोग गर्ने आँट नभए त्यसै राष्ट्रपति बन्छु र म ? कत्ति न जाँच्न खोज्या होला । लौ सुन्नोस् म कसरी गन तन्त्रको कार्यान्वयन गरी यसको विकास गर्छु भन्ने । सर्वप्रथम देशमा विद्यमान इन्धन समस्याको समाधानको लागि आइन्दादेखि मोटरसाइकल, मोटर स्टोभ ग्याँस चुल्होलाई गन तेस्र्याएर लौ स्टार्ट होऊ र बलेस् भन्छु । यसो गर्दा पेट्रोल डिजेल मट्टितेल र ग्याँसको वचत हुन्छ । विजुली बत्तीलाई लौ बलेस् र राइसकुकरलाई लौ छिटो भात पकाएस् भनेर नन देखाउँछु । यसो गर्दा विद्युतको खर्च पटक्कै नहुने र सम्पूर्ण नेपाली लोडसेडिङको मारबाट समेत बच्ने र विद्युतको पर्याप्त मात्रामा बचत हुन्छ । त्यस्तै जनसङ्ख्या नियन्त्रणको लागि कसैले पेट बोकेको देख्नासाथै पेटमा गन देखाउँदै लौ बाहिर ननिक्लिएस् निक्लिस भने तेरो रामनाम सत्य गरिदिन्छु भन्छु । अब कोही बच्चा पनि पेटबाट बाहिर ननिक्लिएपछि त्यसै जनसङ्ख्या नियन्त्रण भैहाल्छ । स्वास्थ्यमा विशेष ध्यान दिई सबै नेपालीलाई स्वस्थ राख्नका लागि अबदेखि कोही पनि मान्छे विरामी भयो भने कुन चैँ रोग हो त्यसलाई ललकार्दै लौ छिटो यो मान्छेको शरीरबाट निक्लेस् भनी गन तेस्र्याउँछु । यसो गर्दा मान्छेको शरीरबाट रोग भाग्छ र त्यसपछि स्वतः सबै जना स्वस्थ हुन्छन् । शिक्षाको विकास गर्न कोही विद्यार्थी कुनै पनि परीक्षामा फेल हुन नदिन कुनै पनि प्रश्नको उत्तर परीक्षार्थीलाई आएन भने लौ छिटो जवाफ लेख्लास् भनी कलमलाई गन देखाउने नियम बसालीदिन्छु, यसो गर्दा कलमले सर्ररै जवाफ लेखी दिन्छ र कुनै विद्यार्थी पनि फेल हुँदैन र द्रूतगतिका साथ शिक्षाको विकास हुन्छ । धारामा पानी नआए धारालाई पेँडा लड्डु चढाई धूपबत्ती बाल्ने परम्परालाई त्यागी “लौ पानी निकालेस्, नत्र यमपुरी पठाइदिन्छु भनेर धारालाई गन देखाएर तर्साउने नयाँ योजना लागु गर्छु । यसो गर्दा धारा डराएर पानी निकाल्छ र खानेपानीको समस्या त्यसै समाधान हुन्छ । उब्जनी बढाउन खेतमा बिउ छर्नासाथै गन तेस्र्याएर लौ छिटोछिटो यथासक्य बढी अन्न उब्जाएस्, नत्र आर्यघाट पु¥याइदिन्छु भनेर भूमिलाई वारेन्ट दिन्छु, गनले अरू मान्छे तर्सिएझैँ खेतबारी पनि डराउँन थाल्छ र बढी से बढी उब्जनी गर्न थाल्छ । त्यसपछि खाद्यान्न समस्या सजिलैसँग चट भैहाल्छ । सम्पूर्ण क्षेत्रमै गन तन्त्र लागु गर्छु । कथंकदाचित आइन्दा कोही मान्छे जन्मे भने केटा भई जन्मिनेलाई जन्मिँदै १÷१ वटा बन्दुक साथमा लिएर आउनुपर्ने नियम बनाइदिन्छु र केटी भई जन्मिनेहरूले दुईवटा ‘बम’ अनिवार्य साथमा लिएर आउनुपर्ने नियम बनाइदिन्छु । तर महिला हक हित एवम् महिलालाई बढावा दिन तिनीहरू जन्मिदा साथमा बोकी आएका दुई वटा बम १२÷१५ वर्षसम्म लुकाई राख्न पाउने सुविधा दिन्छु । तर पन्ध्र वर्षपछि भने तिनीहरूले बम बोकी आएका छिन् भन्ने आभाष भने सबैलाई हुनैपर्ने कानुन बनाइदिन्छु ।”
“हेर बाउ, सिङ्गो नेपालमै गन तन्त्रमय वातावरण बनाइ दिन्छु, के भन्ठान्नु भा’छ मलाई ? सबै क्षेत्रमा गन तन्त्र लागु गरेर देशको विकास गरेपछि मलाई राष्ट्र«पति बन्न दिन्न भन्ने कोही माइकालालको तागत हुन्छ ? अनि सबैले साथ दिएपछि तुरुन्तै म राष्ट्रपति बन्दिन त, लौ तपैँ नै भन्नोस्त । कोकल्याँटो सम्झेको मोरो छोरो बित्पाते भै मुखलाई छुरासरी चलाएको र गन तन्त्रको कार्यान्वयनको महिमा सुन्दा म त एकक्षण छक्क र पक्कै परेँ भन्या । अनि मनमनै भनेँ यो कस्तो तन्त्र होला भनी सोच्न थालेँ । साँच्चै तपैँहरूलाई थाहा छ ? हाम्रो देशमा गणतन्त्र आएको कि न्ग्ल् तन्त्र ? भन्नोस् न भन्या प्लिज !
मरुहिटी, काठमाडौँ
फित्कौली अङ्क १५ बाट
Subscribe
Login
0 Comments
Oldest








































