सुलसुलेकवि चेतकान्त चापागाइँको देहान्त
‘सम्झन्थ्यौ पहिले छ काव्य कविता दाजु छिट्टै आउनु
त्यो माया ममता कठै अब यहाँ मैले कहाँ पाउनु
एक्लो यो घरमा निसासिइ रहें आँखा सधैं पूर्व छन्
बल्किन्छन् गहिरा तिनै विगतका घाऊ बढी भित्र झन् ।’
यस्ता सुन्दर सुललित छन्द कविताका शिल्पी चेतकान्त चापागाइँ अब हामीबीच रहनु भएन । चितवनका कवि चापागाइँको २०७१ भदौ १७ गते बिहान ३ बजे देहान्त भयो ।
भदौ १८ गते बिहान देवघाटमा चापागाइँको दाहसंस्कार गरियो । एक मात्र छोरा र बुहारी ४ वर्ष अघिदेखि बेलायतमा अध्ययनरत रहेका र तत्काल नेपाल फर्किन अनुकुल नभएका कारण उहाँका भाइ प्रकाश चापागाइँले उहाँको शवमा अग्नि प्रज्वलन गर्नुभएको थियो ।
लामो समयदेखि दमको रोगले थलिनु भएका चापागाइँ विगत दुई हप्तादेखि चितवन मेडिकल हस्पिटलमा उपचार गराइरहनु भएको थियो । मेडिकल हस्पिटलमै देहान्त भएपछि उहाँको शव क्यान्सर अस्पतालको शवगृहमा राखिएको थियो ।
क्यान्सर अस्पताल परिसरमा पुगी उहाँका आफन्तजन, साहित्यका सहकर्मीहरू र शुभचिन्तकहरूले उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
चितवनमा बसेर छन्दोबद्ध संरचनामा प्रगतिवादी जीवनदृष्टि सहित सुन्दर कविता सृजना गरिरहनु भएका कवि चापागाईंको मृत्युबाट मोफसलले एकजना प्रतिभाशाली सर्जक गुमाएको छ । उहाँ साहित्य संगम, चितवन, अखिल नेपाल लेखक सङ्घ, जनसाँस्कृतिक महासङ्घ, प्रलेस लगायतका चितवनका थुप्रै साहित्यिक सङ्घसंस्थामा आबद्ध र क्रियाशील हुनुहुन्थ्यो ।
दिवङ्गत चापागाइँका हालसम्म ‘दासढुङगाको व्यथागाथा’ (खण्डकाव्य), ‘यात्रा मुक्तिशिखरतिर’ (कविता सङ्ग्रह) ‘राता फूलहरू’ (कविता सङ्ग्रह), ‘चेतन मनका गुञ्जनहरू’ (कविता सङ्ग्रह), ‘कलम गङ्गा’ (संयुक्त सहलेखन) प्रकाशित रहेका छन् ।
२००५ सालमा पोखराको तारकानमा जन्मिनु भएका चेतकान्त चापागाइँ पिता गजाधर चापागाइँका ४ भाइ छोरा मध्ये जेठा हुनुहुन्थ्यो । पोखराबाट उहाँका पिताजी बसाइँ सराइ गरी चितवन पृथ्वीनगर आउनु भएको हो । विफरको महामारीले असमयमै आमा, पाँच वर्षीय भाइ र एउटी बहिनी गुमाउनु भएका चापागाइँका पत्नी, ४ छोरी र १ छोरा छन् ।
Subscribe
Login
0 Comments
Oldest











































