साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दको भटभटे

Nepal Telecom ad

एकाकिहानै मोवाइलको घण्टी बज्यो । उठाइहेरेको त प्रवन्धकको सट्टामा आउनु भएका निमित्त प्रवन्धकको रहेछ । उहाँले भन्नुभो– क्यासियर साव ! आज धादिङ बन्द रैछ, घरवाट छिट्टो हिँड्नुस् । उहाँ बालाजुमा बस्नुहन्छ भने म चावेल गोपीकृष्णमा । उहाँ बालाजुबाट खानीखोला जानका लागि सधैं भटभटे चढ्नु हुन्थ्यो, म चाहिँ बाउले किनिदिएको दश लाखको गाडीमा चढ्थे । पैसा तिर्थे अनि हिँड्थे । हामी दुवैको एउटै बाटो भए पनि उहाँको र मेरो भेट कलङ्कीमा मात्रै हुन्थ्यो । कहिले उहाँकै भटभटेमा चढ्थेँ, कहिले छोड्थेँ, यो हाम्रो बीचको नैतिक सिद्धान्त । हामी दुवैलाई १० बजे कार्यालय पुग्नैपर्ने समस्या एउटै थियो ।

म जहिले पनि ८ बजे घरवाट निस्केर १० बजे खानीखोला पुग्थेँ । एकाविहानै निमित्त प्रवन्धकले फोन गरेर बन्द छ भनेपछि आधा घण्टा चाँडो निस्केँ । गोपीकृष्णदेखि कलङ्कीसम्मको माइक्रोबस चढेँ । माइक्रोवसमा म सधै झ्यालको छेउमा बसेर यात्रा गर्छु । माइक्रोवस कलङ्की पुग्न लाग्या मात्रै के थियो उनै प्रवन्धक पनि भटभटेबाट उतै जाँदै रहेछन् । झ्यालबाट बोलाएको सुनेनन्, हेलमेटले छेक्यो होला । मोवाइल गरेँ उठाए, कलङ्कीवाट अलि तल पेट्रोल पम्पमा भेट्ने कुरा भयो । माइक्रोवसवाट ओर्लेर कुद्दै पेट्रोल पम्प पुग्छु त उनी त्यहाँ भेटिएनन् । दायाँबायाँ हेर्छु कहीँ देखिन । पेट्रोल पम्पबाट ढुङ्गाअड्डातिर फर्केर हेरेको त भटभटे उकालो लाग्दै गरेको देखेंँ । मैले मोबाइल थिचेँ, उठाए । मैले भनेँ– तपाईलाई देखिरहेको छु, एकछिन अड्नुस् म आइहालेँ । उहाँले मोवाइलामा नैकाप कटेको बहाना गरिरहनु भएको थियो । मैले सम्झेँ उहाँले ठट्टा गर्नुभो । पेट्रोल पम्पबाट मोटरसाइकललाई भेट्छु कि भनेर नैकापसम्म स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै कुदेँ, त्यो कुदाइ व्यर्थ भयो । त्यहाँ पुग्दा त उहाँ गइसक्नु भएछ । जीउ सवै पसिनाले भिज्यो । जुन उदेश्यका लागि कुदेको थिएँ त्यो बेकार भयो ।

त्यहीबेला थानकोटसम्म जाने लोकल वस आयो, त्यसैमा चढेँ । बसले थानकोटमा लगेर सवैयात्रुलाई ओराल्यो । थानकोटवाट पश्चिम फर्केर हेर्छु त एउटा पनि बस गुडेको देखिएन । त्यसपछि त्यहाँबाट जे पर्ला पर्ला भनेर लम्किन थालेँ । नागढुङ्गा पुग्नुभन्दा अगाडि पेट्रोल पम्पको छेउमा मात्र के पुगेको थिएँ, एउटा मोटरसाइकल तेल हाल्न पम्पभित्र छि¥यो । मैले पनि त्यही मौका छोपेँ । हेलमेट लगाएको, बाहिरको रूपरङ्ग हेर्दा बुढो बुढो देखिने मोटरसाइकलमा सवार व्यक्तिलाई सहयोग माग्न पुगेँं । बस्नुस् भन्दै उहाँले स्वीकृति दिएपछि बसेँ । त्यसपछि उहाँले कुराकानी थाल्नुभो । उहाँको गफगराई र स्वर सुन्दा चिने चिने जस्तो लाग्यो । त्यहिवेला उहाँले भन्नुभयो– तपाईंले मलाई चिन्नु भाछ ? मैले भनेँ– तपाई साहित्यकार श्रीहरि रूपाखेती होइन र ! बाबुले त ठ्याक्कै पत्ता लगाउनु भो नि ! तपाई त पहिला हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेलकहाँ आइरहनु हुन्थ्यो नि होइन र ! हो, कसरी थाहा पाउनु भो बाबुले– उहाँको जिज्ञासा । तपाईलाई मैले उहाँ गुरुकहाँ देखेको हु नि ! त्यही मौका छोप्दै उहाँले भन्नुभयो – तपाईको परिचय ? मैले भने– माणिकरत्न । ए हे..हे.. बाबुलाई किन नचिन्नु र ! वासुदेव माडसावले तपाईको बारेमा कुरा गरिरहनु हुन्थ्यो– उहाँले भन्नुभयो । उहाँसँग भेटधाट नभएको पनि झण्डै ५ वर्ष भैसकेको थियो । मलाई उपत्यका बाहिरका जिल्लामा सरुवा गरेर लखटे देखिन् गुरुकहाँको आतेजाते एकदमै कम भएको थियो । त्यही कारणको चेपुवामा पर्नुभयो साहित्यकार रूपाखेती । लामै कुराकानी पश्चात उहाँले मलाई ठीक १०.३० वजे खानीखोला लगेर छोडिदिनु भयो ।

कार्यालयभित्र पसिसकेपछि मैले प्रवन्धकले सुन्ने गरि फतफत गरिरहेंँ । प्रवन्धक बेलैमा आएर काम गरिरहेका रहेछन् । उनले चुँक्कसम्म पनि बोलेनन् त्यो दिन र भोलिपल्ट पनि । तेस्रो दिन मात्र नरम भएर के छ क्यासियर सावको हालखवर भन्दै मसँग बोल्न आए । अस्तिको व्यवहार देख्दा त भित्रभित्रै मुरमुरिएर रिस नउठ्या कहाँ हो र ! आफ्नो रिसले आफैलाई खान्छ भन्ने सम्झेँ, शान्त भएर ठीकै छ भनेँ ।

प्रवन्धकले मलाई घादिङ बन्दको सूचना नगरेको भए म आफ्नै सुरमा हिँड्थेँ, कार्यालय पुग्थेँ । म चढेर मोटरसाइकल खिइन्छ भन्ने उनलाई लाग्या भए तपाई आफ्नो बन्दोबस्त मिलाएर आउनुस्, म बाटो लाग्दै गर्छु भन्दा पनि हुने । त्यसो पनि भनेनन् कस्तो छुपेरुस्तम ! मोवाइलमा कुराकानी भएर पनि धोका दिएको देख्दा रिसको डिग्री उच्चस्तरमै पुगेको थियो । बाटोमा हिँड्दा आजकल ज्यादै सर्तक भएर हिँड्ने गर्छु । कतै उनी जस्तै भटभटे भएका निमित्त प्रवन्धक भेटिला र फेरि गोता खानुपर्ला भन्ने पिरलोले आजकल मैले कालो चश्मा लाउन थालेको छु । ताकि कसैले पनि नचिनोस् । यस्तै सोचेर म यो निर्णयमा पुगेको हुँ ।

सरस्वतीनगर, चावेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x