माणिकरत्न शाक्यबन्दको भटभटे
एकाकिहानै मोवाइलको घण्टी बज्यो । उठाइहेरेको त प्रवन्धकको सट्टामा आउनु भएका निमित्त प्रवन्धकको रहेछ । उहाँले भन्नुभो– क्यासियर साव ! आज धादिङ बन्द रैछ, घरवाट छिट्टो हिँड्नुस् । उहाँ बालाजुमा बस्नुहन्छ भने म चावेल गोपीकृष्णमा । उहाँ बालाजुबाट खानीखोला जानका लागि सधैं भटभटे चढ्नु हुन्थ्यो, म चाहिँ बाउले किनिदिएको दश लाखको गाडीमा चढ्थे । पैसा तिर्थे अनि हिँड्थे । हामी दुवैको एउटै बाटो भए पनि उहाँको र मेरो भेट कलङ्कीमा मात्रै हुन्थ्यो । कहिले उहाँकै भटभटेमा चढ्थेँ, कहिले छोड्थेँ, यो हाम्रो बीचको नैतिक सिद्धान्त । हामी दुवैलाई १० बजे कार्यालय पुग्नैपर्ने समस्या एउटै थियो ।
म जहिले पनि ८ बजे घरवाट निस्केर १० बजे खानीखोला पुग्थेँ । एकाविहानै निमित्त प्रवन्धकले फोन गरेर बन्द छ भनेपछि आधा घण्टा चाँडो निस्केँ । गोपीकृष्णदेखि कलङ्कीसम्मको माइक्रोबस चढेँ । माइक्रोवसमा म सधै झ्यालको छेउमा बसेर यात्रा गर्छु । माइक्रोवस कलङ्की पुग्न लाग्या मात्रै के थियो उनै प्रवन्धक पनि भटभटेबाट उतै जाँदै रहेछन् । झ्यालबाट बोलाएको सुनेनन्, हेलमेटले छेक्यो होला । मोवाइल गरेँ उठाए, कलङ्कीवाट अलि तल पेट्रोल पम्पमा भेट्ने कुरा भयो । माइक्रोवसवाट ओर्लेर कुद्दै पेट्रोल पम्प पुग्छु त उनी त्यहाँ भेटिएनन् । दायाँबायाँ हेर्छु कहीँ देखिन । पेट्रोल पम्पबाट ढुङ्गाअड्डातिर फर्केर हेरेको त भटभटे उकालो लाग्दै गरेको देखेंँ । मैले मोबाइल थिचेँ, उठाए । मैले भनेँ– तपाईलाई देखिरहेको छु, एकछिन अड्नुस् म आइहालेँ । उहाँले मोवाइलामा नैकाप कटेको बहाना गरिरहनु भएको थियो । मैले सम्झेँ उहाँले ठट्टा गर्नुभो । पेट्रोल पम्पबाट मोटरसाइकललाई भेट्छु कि भनेर नैकापसम्म स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै कुदेँ, त्यो कुदाइ व्यर्थ भयो । त्यहाँ पुग्दा त उहाँ गइसक्नु भएछ । जीउ सवै पसिनाले भिज्यो । जुन उदेश्यका लागि कुदेको थिएँ त्यो बेकार भयो ।
त्यहीबेला थानकोटसम्म जाने लोकल वस आयो, त्यसैमा चढेँ । बसले थानकोटमा लगेर सवैयात्रुलाई ओराल्यो । थानकोटवाट पश्चिम फर्केर हेर्छु त एउटा पनि बस गुडेको देखिएन । त्यसपछि त्यहाँबाट जे पर्ला पर्ला भनेर लम्किन थालेँ । नागढुङ्गा पुग्नुभन्दा अगाडि पेट्रोल पम्पको छेउमा मात्र के पुगेको थिएँ, एउटा मोटरसाइकल तेल हाल्न पम्पभित्र छि¥यो । मैले पनि त्यही मौका छोपेँ । हेलमेट लगाएको, बाहिरको रूपरङ्ग हेर्दा बुढो बुढो देखिने मोटरसाइकलमा सवार व्यक्तिलाई सहयोग माग्न पुगेँं । बस्नुस् भन्दै उहाँले स्वीकृति दिएपछि बसेँ । त्यसपछि उहाँले कुराकानी थाल्नुभो । उहाँको गफगराई र स्वर सुन्दा चिने चिने जस्तो लाग्यो । त्यहिवेला उहाँले भन्नुभयो– तपाईंले मलाई चिन्नु भाछ ? मैले भनेँ– तपाई साहित्यकार श्रीहरि रूपाखेती होइन र ! बाबुले त ठ्याक्कै पत्ता लगाउनु भो नि ! तपाई त पहिला हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेलकहाँ आइरहनु हुन्थ्यो नि होइन र ! हो, कसरी थाहा पाउनु भो बाबुले– उहाँको जिज्ञासा । तपाईलाई मैले उहाँ गुरुकहाँ देखेको हु नि ! त्यही मौका छोप्दै उहाँले भन्नुभयो – तपाईको परिचय ? मैले भने– माणिकरत्न । ए हे..हे.. बाबुलाई किन नचिन्नु र ! वासुदेव माडसावले तपाईको बारेमा कुरा गरिरहनु हुन्थ्यो– उहाँले भन्नुभयो । उहाँसँग भेटधाट नभएको पनि झण्डै ५ वर्ष भैसकेको थियो । मलाई उपत्यका बाहिरका जिल्लामा सरुवा गरेर लखटे देखिन् गुरुकहाँको आतेजाते एकदमै कम भएको थियो । त्यही कारणको चेपुवामा पर्नुभयो साहित्यकार रूपाखेती । लामै कुराकानी पश्चात उहाँले मलाई ठीक १०.३० वजे खानीखोला लगेर छोडिदिनु भयो ।
कार्यालयभित्र पसिसकेपछि मैले प्रवन्धकले सुन्ने गरि फतफत गरिरहेंँ । प्रवन्धक बेलैमा आएर काम गरिरहेका रहेछन् । उनले चुँक्कसम्म पनि बोलेनन् त्यो दिन र भोलिपल्ट पनि । तेस्रो दिन मात्र नरम भएर के छ क्यासियर सावको हालखवर भन्दै मसँग बोल्न आए । अस्तिको व्यवहार देख्दा त भित्रभित्रै मुरमुरिएर रिस नउठ्या कहाँ हो र ! आफ्नो रिसले आफैलाई खान्छ भन्ने सम्झेँ, शान्त भएर ठीकै छ भनेँ ।
प्रवन्धकले मलाई घादिङ बन्दको सूचना नगरेको भए म आफ्नै सुरमा हिँड्थेँ, कार्यालय पुग्थेँ । म चढेर मोटरसाइकल खिइन्छ भन्ने उनलाई लाग्या भए तपाई आफ्नो बन्दोबस्त मिलाएर आउनुस्, म बाटो लाग्दै गर्छु भन्दा पनि हुने । त्यसो पनि भनेनन् कस्तो छुपेरुस्तम ! मोवाइलमा कुराकानी भएर पनि धोका दिएको देख्दा रिसको डिग्री उच्चस्तरमै पुगेको थियो । बाटोमा हिँड्दा आजकल ज्यादै सर्तक भएर हिँड्ने गर्छु । कतै उनी जस्तै भटभटे भएका निमित्त प्रवन्धक भेटिला र फेरि गोता खानुपर्ला भन्ने पिरलोले आजकल मैले कालो चश्मा लाउन थालेको छु । ताकि कसैले पनि नचिनोस् । यस्तै सोचेर म यो निर्णयमा पुगेको हुँ ।
सरस्वतीनगर, चावेल
Subscribe
Login
0 Comments
Oldest







































