सञ्जु बजगाइँलोग्नेमान्छे भएर रूनहुन्न अरे !
सीताको त्यागलाई शङ्का गर्ने राम विचार बोकेको
ए लोग्ने मान्छे !
एकपटक रोएर त हेर्
थाहा पाउनेछस्–
आँसु बर्षाउँने पीडा कस्तो हुन्छ ।
तेरो पुरूष मानसिकता थामिदिए बापत
दुई छाक खान र एकसरो लाउन दिएर
पुरूषत्व जमाउने
ए लोग्ने मान्छे !
मात्र एकपल्ट रोएर त हेर्
थाहा पाउनेछस् –
तेरो पुरूषत्वको बर्बरता ।
तँ त उजाड जङ्गलको प्रतिनिधि,
धर्ती जलाउने खडेरीको प्रतिनिधि,
तँ हिंसाको प्रतिनिधि,
भय र त्रासको प्रतिनिधि,
अप्रिय शब्द वाणहरूको प्रतिनिधि,
अरू खै के के पो भनुँ म ?
आँसु नबोक्ने ए लोग्ने मान्छे !
केवल आज रोएर त हेर्
थाहा पाउनेछस् –
तेरो पुरूष हातहरूको क्रूरता ।
रूनु कायरता होइन ।
अनि,
कसले भन्यो तेरो हाँसोमा बहादुरी झल्किन्छ ?
आँसु झार्न मुटु चाहिन्छ,
भावनाको तरङ्ग चाहिन्छ ।
तँ मुटु नभएको लोग्ने मान्छे
झुसिला रौं भरिएको शरीर बोकेर
हाँसो र आँसुको वकालत के गर्छस् ?
नारीलाई आँसुको तरलतामा जोख्ने
ए लोग्ने मान्छे !
एक क्षणका लागि रोएर त हेर्
थाहा पाउनेछस् –
रित्तो फगत रित्तो तेरो आफ्नो धरातल ।
हाल– अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































