साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नगरै नगरको नयाँ नेपाल

Nepal Telecom ad

नगरपालिका भनेपछि गाविसभन्दा ठूलो हुनैपर्‍यो । त्यसैले सीमाना जोडिएका दशवटा र नजोडिएका सातवटा गरी सत्रवटा गाउँ विकास समितिलाई समेटेर सरकारले भर्खरै हाम्रो गाउँ विकास समिति समेतलाई नगरपालिका घोषणा गरेको छ ।

धेरै नगरवासीहरू प्रफुल्ल छन् । कोही कोही भने रणभुल्ल छन् । विकासका प्रशस्त पूर्वाधारहरू भएकोले अर्थात् विकासै विकासले पुरिएको हुनाले यसको नाम विकासपुर नगरपालिका राखिएको हो भन्ने कुरामा कुनै सन्देह नै छैन । यो घोषणा संगै सरकारको उपलब्धिमा थप एक उपलब्धि वृद्धि भएको छ ।
कतिपय मान्छेहरूले विकासपुरमा विकासका कुनै पूर्वाधारै छैन, हचुवाको भरमा पहुँचको भरमा त्यसलाई नगरपालिका बनाइयो भनेर विरोध जनाएछ्न् । जून सरासर झूठ हो । हामीसँग के कस्ता पूर्वाधार छन् त्यसो भन्नेहरूलाई हेर्न आउन चुनौती दिन चाहन्छु ।

विकासपुर नगरपालिकामा फराकिलो कालोपत्रे सडक नै हजार मिटरभन्दा बढी छ । थोरै हो र हजार मिटर भन्या ! अनि प्रत्येक मिटरमा साना, ठूला, गहिरा, छिपछिपे किसिम किसिमका खाल्टाखुल्टीहरूको दूर्लभ दृश्य देखिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै दशौं हजार मिटर लम्बाइमा रहेका ग्राभेल र कच्ची बाटोमा भने बर्षातको समयमा पोखरी, ताल र आहाल कै दृश्यावलोकन गर्न पाइन्छ । दुइपांग्रे सवारी साधन लिएर गए डुबुल्की मार्ने व्यवस्था समेत मिलाइएको छ ।
विद्यूतको कुरा गर्नु हुन्छ भने महानगरपालिका, उपमहानगरपालिकाका मान्छेहरू अहिले साताको जाबो सन्ताउन्न घण्टा लोडशेडिंगको उपभोग गरिरहेका छन् भने हाम्रो विकासपुर नगरपालिकामा साताको एकसय अठसट्ठी घण्टा लोडशेडिंगको उपभोग गर्न पाइराखिएको स्थिति हो ।

आदरणीय पाठकवृन्द ! यसलाई चानचुने उपलब्धि नमान्नु होला । यो विकासको उत्तम सूचक हो। नगरपालिका घोषणाको एउटा भरपर्दो मापदण्ड हो । त्यसै गर्छ सरकारले नगरपालिका घोषणा !

शिक्षाको कुरा गर्नु हुन्छ भने नगर बाहिरै गएर सही, दर्जनौं मान्छेले एसएलसी पास गरेका छन् । सयौं मान्छे साक्षर छन् । हजारौं मान्छे ल्याप्चेमा पारङ्गत छन् । बिद्यार्थीहरूले वातानुकुलित अर्थात् एसीयुक्त कक्षा कोठामा पढ्न पाएका छन् । वातानुकुलितको मतलब जाडोमा न्यानो गर्मीमा शीतलको अनुभव हो ।

जाडो महिना यानेकि मङ्सिर देखि माघ सम्म कक्षाकोठामै घाम झलमल्ल अनि गर्मी याम मतलब असार साउन भदौ त्यही घाम आउने ठामबाट चिसो पानी दररर । वातानुकुलित अवस्थामा त्यति पढेको मान्छे फेरि उच्च शिक्षाको लागि त्योभन्दा रद्दी ठाउँमा जानु पर्दा भाईबैनीहरूलाई एड्जस्ट हुन गारो भएको पाइएकोले उच्च शिक्षाको लागि हाम्रो नगरपालिकामा भएको प्राथमिक विद्यालयलाई निम्न माध्यामिक विद्यालयमा स्तरोन्नति गर्ने अभियानमा नगरबासीहरू जोडतोडका साथ लागिरहेका छन् ।

जनसंख्या भन्नुहुन्छ भने केवल तीन दिनको पैदल दूरीमा रहेको गाउँका मान्छेहरू जोड्दा नै बीस हजार पुगेको आज होइन, उहिल्यै हो । करीव करीव नौ दश बर्ष भो कि जस्तो लाग्छ ।

खानेपानी भन्नुहुन्छ भने गाग्री, गिलास, अम्खोरा, बाल्टिन नभाको घरै छैन । कतिपय नगरवासीले ड्रम र घ्याम्पाकै जोहो गरेको पनि पाइएको छ । बलेंसीबिनाको घरै छैन । खोला नभाको वडा नै छैन । कुवा नभाको गाउँ नै छैन । पँधेरा त कति हो कति । तैपनि जनतालाई अझै सफा सुरक्षित खानेपानी उपलब्ध गराउन भनेर नगरभरि नै लाखौँ सेन्टिमिटर खानेपानीको पाइप बिच्छ्याइएको छ ।

ढल निकासको त कुरै गर्नु परेन । बरू काठमाण्डौ महानगरपालिकामा वा ललितपुर उपमहानगरपालिकामा ढलको समस्या छ्याप्छ्याप्ती देख्न भोग्न पाइन्छ । तर, यो विकासपुर नगरपालिकामा यसको कुनै गुन्जाइस नै छैन ।
त्यति मात्रै कहाँ हो र, वातावरणीय समस्या विकासपुर नगरपालिकामा शून्यू बराबर छ । महानगरपालिका र उपमहानगरपालिकामा होलान् वातावरणीय समस्या पनि । त्यसैले हाम्रो नारा नै अब ‘स्वच्छ सफा हराभरा स्वस्थ विकासपुर’ हुने भएको छ । नझुक्किनु होला भविष्यमा महानगरपालिका नै हुने भएकोले नारा पनि महानगर कै नक्कल गरेको हो हामीले ।

शौचालयको व्यवस्था अति उत्तम छ । अधिकांश घरले खेत, बारी, ढिस्को, चुचे-ढुङ्गो वा कान्लामुनिको क्षेत्र आधुनिक शौचालयको रूपमा प्रयोग गरिरहेको अवस्था हो । सय मिलिलिटर पानी भए दीर्घशंका सम्पन्न हुन्छ । त्यही पानी पनि उपलब्ध नभए पात, पतिंगर, स्याउलाको व्यवस्था हरेक शौचालय छेउछाउमा गरिएको छ । हरेक डिलमुनि, बजारका भित्ताहरू, झाडी, बुट्यान अनि कुनाकाप्चामा सार्बजनिक शौचालयको उत्तम प्रबन्ध गरिएको छ । एकदम नि:शुल्क रूपमा । त्यत्तिकै हुन्छ र नगरपालिका !

सञ्चारको कुरा गर्दा करोडौं मिलिमिटर टेलिफोनको तार बिच्छ्याइएको छ । मोबाइलको टावर नटिप्ने समस्या दूर गर्न दूरसञ्चार कम्पनीसँग पत्राचार गरिसकिएको छ । नगरपालिकाका प्रत्येक वडा कार्यालयमा एकएक वटा डेस्कटप कम्प्यूटरको व्यवस्था गरिसकिएको छ । ती कम्प्यूटरमा विद्यूत भएमा हप्तामा कम्तीमा पनि एकसय बीस मिनेट इन्टरनेट सुविधाको व्यवस्था गरिएको छ । सञ्चारका परम्परागत स्रोतहरूको पनि संरक्षण गर्नु पर्छ भनेर घर घरै परेवा पनि पालिएको छ । परेवाको खोर बनाउन प्रत्येक घर परिवारलाई नवगठित नगरपालिकाले निर्ब्याजी ऋणको व्यवस्था गरेको छ ।

रंगशाला भन्नु हुन्छ भने हिउँद याममा घरैपिच्छे हुन्छन् । बर्खामा हिलोले खेल्न अलिक असुबिधा हुने भएकाले त्यसमा आवश्यकताको सिद्धान्त आनुसार धान, मकै, कोदो इत्यादि लगाइन्छ । सिंचाइको कुरा गर्नु हुन्छ भने असारदेखि भदौसम्म नगरका पुरै खेतीयोग्य जमीनले सिंचित हुने अवसर पाउँछन्।

जनताको स्वास्थ्यको ख्याल राख्दै हरेक वडामा विशेषज्ञसहितको धामी झाँक्रीको व्यवस्था गरी झारफूकको उत्तम प्रबन्ध गरिएको छ । आवश्यकता अनुसार कालो बोको, कुखुराको भाले इत्यादि चाहिने हुनाले हरेक घरमा कम्तिमा पनि कालो बोको र कुखुराको भाले पाल्नैपर्ने नियम बनाइएको छ ।

अलिक आधुनिक हौँ भन्नेहरूलाई नगरपालिकाको केन्द्रमा अत्याधुनिक सुविधा सम्पन्न हेल्थपोष्टको स्थापना भएको दुई बर्ष भयो, जहाँ हेल्थ पोष्ट सहयोगीले सम्पूर्ण रोगको निदान र उपचार गर्ने प्रयास गर्दछन् ।
विकासपुर नगरपालिकाको आम्दानीको कुरा गर्दा बार्षिक करोडौं पैसा (रूपैयाँ होइन नि) आम्दामी गर्ने देखिएको छ ।

यति सुबिधा सम्पन्न हाम्रो गाउँलाई नगरपालिका बनाइदिएकाले सरकारप्रति सम्पूर्ण नगरवासीहरू हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । दुइचार बर्ष भित्रै सरकारले विकासपुर नगरपालिकालाई उप-महानगरपालिकामा अनि त्यसको आठ दश बर्ष भित्रै महानगरपालिकामा स्तरोन्नति गर्नेछ भन्ने पूर्ण विश्वास सम्पूर्ण नगरवासीहरूले लिएका छन् । र, यो देशमा अझै ३ हजार ६ सय बत्तीस गाउँ बिकास समिति बाँकी नै छन् र गरीवको ठूलो हिस्सा पनि त्यहीं छ । सरकारले ‘गाउँ निवारण कार्यक्रम’ बनाएर ती बाँकी गाविसलाई पनि यसैगरी यथासक्य छिटो नगरपालिका घोषणा गरिहाल्ने हो भने ‘नगरै नगरको नयाँ नेपाल’ बन्नेछ जहाँ गरीवको संख्या न्यून हुनेछ।

\’अनलाइन खबर डटकम\’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x