लक्ष्मण गाम्नागेआहा ! विसङ्गति कति कति ?
गजब सहरमा बसेको छु म । व्यङ्ग्यउत्पादनमा यो सहर संसारप्रसिद्ध हुनुपर्ने हो जस्तो मलाई लाग्छ । हास्यव्यङ्ग्यका स्रष्टालाई खेतीपाति गर्न कडा परिश्रमको खाँचो पर्दैन यो सहरमा । जस्तो कि संसारकै विचित्र भौगोलिक अवस्था यो देशमा छ भनिन्छ, त्यस्तै आश्चर्यजनक विरोधाभास र विकृति यहाँ विद्यमान छन् । जति देखेर पनि नसकिने उभिन्डा कुरा कति छन्, कति यहाँ । जति लेखेर पनि ननिख्रिने बिब्ल्याँटा विषय कति छन् कति यहाँ ।
सहरतिर घुम्दा म बडेबडे अस्पताल र रिसर्च सेन्टर देख्छु र सँगसँगै देख्छु बनझाँक्री देवीका पसल । अस्पतालबाट निरास भएकालाई म बनझाँक्री देवीको शरण परेको देख्छु । त्यहाँ नेता, अभिनेतामात्र होइन सहरका नामी वैज्ञानिक र डाक्टर पनि धाइरहेको देख्छु । आफूले पढाउने स्कुलको विश्वास नलागेर अर्कै स्कुलमा आफ्ना नानी भर्ना गर्ने शिक्षक छ्यासछ्यास्ती देख्छु र देख्छु आफूले पढेको डाक्टरीमा भर नलागेर झाँक्री र ज्यातिषीकोमा धाउने डाक्टर । अस्पतालभन्दा आधुनिक र सुविधासम्पन्न नर्सिङहोम देख्छु गल्ली गल्लीमा र तिनै अस्पतालको पेटीमा देख्छु जोखाना हेर्ने सुगा पण्डित, अछेता मन्छाउने अन्डा धामी, ग्रहदशा पन्छाउने पण्डा पुरोहित ।
म देख्छु सरकारी ढुकुटीबाट प्रसस्त तलब सुविधा डकार्ने ठूलाठूला हाकिम भएको सर्वाधिकार सम्पन्न ओखती व्यवस्था विभाग र देख्छु विभागकै कम्पाउन्डवरिपरि गानो गोला, धातुको रोग, नपुंसकताको ओखती, दुबी, क्यान्सर र एड्स निको पार्ने ‘दवा’ बेचिरहेका छिमेकी राष्ट्रका पिलन्धरे ‘डाक्टर’ । टेबुलमा भँुडी अड्याएर उँगिरहेका अधिकारी देख्छु म गुणस्तर नियन्त्रण गर्ने ठेक्का लिएका कार्यालयमा र देख्छु तिनै हाकिमको घरमा नोकर बसेको केटो दूषित मिठाइ खाएर झाडा पखालाले मर्न लागेको ।
सडकका चोकमा करोडौँ रकम वैदेशिक सहायता र ऋण खर्च गरेर जडान गरिएका अत्याधुनिक ट्राफिक बत्ती देख्छु र तिनै बत्तीमुनि असिनपसिन हुँदै ट्राफिक व्यवस्थापन मिलाइरहेका (कि बिगारिरहेका ?!) बिचरा ट्राफिक प्रहरी पनि । म लेटेस्ट मोडेलको नयाँ कम्प्युटर देख्छु र देख्छु कम्प्युटरमा उत्तेजित हुँदै तास खेलिरहेको एन्सिएन्ट मोडेलको बूढो हाकिम । म देख्छु भौतिकवादको लामोलामो व्याख्या दिएर कार्यकर्तालाई प्रशिक्षित गरिरहेको माक्र्सवादी नेता र देख्छु उही नेता सपत्नी मन्दिरमा मूर्तिको पूजा गरिरहेको अथवा ईश्वरको नाममा संसदमा शपथग्रहण गरिरहेको । नेता देख्छु सबै अरूलाई नै आदर्श र नैतिकताको पाठ सिकाइरहेका र देख्छु बडाबडा ढाडी तिनीहरूकै घाँटीमा हिँडिरहेका ।
अर्कालाई कुरीकुरी भनिरहेका नाङ्गा मान्छेको जमात पनि म देख्छु यो सहरमा जताततै । आइतबारदेखि शुक्रबारसम्म कार्यालय समयभरि अवैध सम्पत्ति सोहोर्ने, साँझभरि रक्सी, मासु र तरुनीमा डुब्ने र हरेक शनिबार उपत्यकाका सबै मन्दिरमा कुखुरा चढाउन भ्याउने राष्ट्रसेवक छ्यास्छ्यास्ती देख्छु म यहाँ । नक्कली सर्टिफिकेटधारी प्राध्यापक देख्छु र देख्छु मुद्दैमुद्दाले जेलिएका न्यायाधीश । कैयौँ तले भव्य र अत्याधुनिक भवन देख्छु र देख्छु तिनै भवनको पछाडिको भित्तामा अडेस लागेर बनेका सुकुम्बासीका लस्करै झुप्रा ।
एउटै देशमा तीनचारवटा सरकार देख्छु । संविधान छ देख्छु, संविधान छैन देख्छु । कानुन छ देख्छु, कानुन छैन देख्छु । एकै समय तीनचार जना प्रधानमन्त्री देख्छु । एउटै पार्टीभित्र अनेक सभापति, अनेक अध्यक्ष र अनेक महासचिवहरू देख्छु । चरेस चर्नेहरू राष्ट्रको उपल्लो तहमा पुगेर जनतालाई उपदेश दिइरहेको देख्छु र देख्छु डकैतीमा ठाडै संलग्न अपराधी संसदमा विजयी भएर अबिर लगाइरहेको ।
मेरा लागि उर्वर छ, आनन्ददायक छ यो सहर, अत्यन्तै लाभप्रद छ । यी सब विकृति, विसङ्गति र विरोधाभास छन् र त म पनि जीवित छु । मैले कहिल्यै भोकै बस्नु पर्दैन कि क्या हो, यो मेरो प्यारो मातृभूमिमा !
सिनामङ्गल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































