सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिश्रमामाका मार्मिक कुरा

Nepal Telecom ad

मेरा ख्यालख्यालका मामा, मिश्रमामा । उनको र मेरो यदाकदा भेट हुने गर्दथ्यो र हाँसिने गरिन्थ्यो पहिले पहिले । म उनलाई एउटा हास्यपात्रका रूपमा हेर्ने गर्दथें । ऊ थिए नै त्यस्ता । यसको खास कारण के थियो वा हो भने मलाई हाँस्न मन लाग्ने । हाँस्न त्यसै सकिने कुरा भएन, कुनै न कुनै बिषय चाहिने । खोजिरहने गर्दथें म हास्य प्रसङ्ग । यसै क्रममा मिश्रमामासँग भेट भएको हो ।
मिश्रमामा पहाडतिरका एक साधारण गाउँले परिवारका युवक हुन् । उनी बेसार बेच्न आएका बखत हाम्रो भेट भएको हो । छिमेकीले ‘बेसार ! ए बेसार ! !’ भनेर बोलाएको सुनेर मेरो ध्यान त्यतातिर गएको हो । एउटा पहेँलो बोरामा बेसार बोकेका नौजवान थिए उनी । उनको जिउका कपडा पनि बेसारबाट पहेंलै भएका थिए । अनुहार पूरै पहेंलो । दाँत भने सेता टलक्क टल्कने । देख्दै हाँसौं हाँसौं जस्तो लाग्ने थिए उनी । मेरो हाँसो आइहाल्यो । त्यसै हाँस्न त भएन भनेर मैले पनि भनें– ‘ए बेसार ! बेसार ! यता आऊ’ भनेर बोलाएँ र एक हल्को हाँसो हाँसिहालें । उनले पुलुक्क मतिर हेरे । मैले हाँस्दै भनें– ‘एक माना मलाई पनि बेसार !’
मिश्रजी अर्थात बेसार आए रमाउँदै । मैले त बेसार एक माना मात्रै किनें । तर हाँस्ने नाता बनायो त्यसैले । उनलाई उल्याउँदै हाँसियो एक पटक । मेरी श्रीमती आइन् हाँस्दै । फेरि हाँसियो । छिमेकीहरू त्यसै गरि आउँदै मिश्रजीलाई उल्याउँदै हाँस्दै एक एक माना बेसार किन्दै गरे । उनको बेसार सकियो ।
बेसार सकिएपछि मिश्रजी बेसार राखेको थैलो ओच्छ्याएर बसे । भित्रबाट चिया आयो । मिश्रजीको चियामा त बेसार हालेर ल्याइएको रहेछ । थाहा लागेपछि सबै मरिमरि हास्यौं । मेरा मावली पनि मिश्र हुन् भन्दै मैले उनलाई मामा साइनु लगाएपछि मिश्रजी रमाए । उनले सेता दाँत देखाउँदा उनको रूप गजवको बन्यो । फेरि एक पटक हाँसो हल्कियो । मिश्रजी खुसी भए । भन्न थाले हो, हो म मामा नै हुँ । तपाईं भाञ्जा ।’ उनी रमाएको देखेर मैले पनि स्विकारें मामा भाञ्जाको नाता । त्यसपछि समय समयमा मिश्रमामा मेरा घरमा आउने र चिया नास्ता गरेर जाने मात्र होइन म र मेरी श्रीमतीजीलाई हँसाउने पात्र नै बने । हामीले जसरी जिल्याए पनि नरिसाई हाँस्ने पात्र बने उनी अर्थात मिश्र मामा ।
लामो समयपछि अस्ति टुप्लुक्क टुपुल्किए मिश्रमामा । हामी बुढाबुढी अव हाँस्न पाइयो भनेर रमायौं । मिश्र मामा भने यस पटक सारै रिसाएर आएका रहेछन् । उनी नारी जातिलाई नै होच्याएर कुरा गर्न थाले । एक मन त साफसँग हप्काउँ जस्तो पनि लागेको हो किनभने पवित्र नारी जातिलाई त्यसरी भन्न हुन्न भन्ने मेरो बिचार छ । तर पनि मैले त्यसो गरिन । म र मेरी श्रीमती कुरा सुन्न लालायित भयौं ।
मिश्रमामा भन्दै गए– “हेर्नोस् भाञ्जाबाबु ! यस पटकको निर्वाचनमा म महिलाका पक्षमा लागेर हिँडें । महिला उमेदवार जिताउन । तर आलु खाइयो । यी हाम्रा नारीजाति त बदमास पो रहेछन् त । नारी जाति आधा धरती हौं, हामीलाई आधा अधिकार चाहिन्छ’ भन्छन् हामी पनि मान्दै आएका छौं । जहाँ जहाँ पनि नारी जाति आधा आधा हकका हुनुपर्दछ भन्छन् उनीहरू । हामी मान्छौं । भाग खोज्दा त्यसै गरि खोज्छन् । हामी पनि हो हो भन्दै जाने गरेका छौं । उनीहरू भने आफ्ना खुट्टामा आफै बञ्चरो हान्दा रहेछन् । अहिलेको चुनावको नतिजा हेर्नोस् त नारीले नारीलाई कति भोट दिए ?
बा…बा ! कुरा त गम्भीर बनाए मामाले । राजनैतिक दलले नारीजातिलाई त्यतिका सिट छुट्याए । तर विजय परिणाम सारै न्यून आयो । निधो भयो महिलाले नै महिलालाई भोट दिएनछन् ।
मामाले कुरा थप गर्दै भन्नुभयो– एउटा महिला भेला रहेछ । महिलाहरू आपसमा कुरा गर्दै रहेछन् । उनीहरू आपसमा भन्दै थिए रे– मैले त महिलालाई भोट नदिएकै हो । अर्कीले त्यसै भनिछन् । अर्की अर्की र अर्कीले पनि त्यसै भन्दै गएका कुरा मामाले कानैले सुनेका रे ।
मिश्रमामाका कुरा सुनेर हाँस्दै थियौं हामी, भित्रबाट मेरी श्रीमती आउँदै थिइन् । उनको अनुहार पनि अमिलो खाए जस्तो भयो । उनी फरक्क फर्किन् । मामाले भनिहाले– ऊ हाम्री भाञ्जीबुहारीले पनि महिलालाई भोट नदिएको पोल खुल्यो… । मिश्रमामा र म फेरि एक हल्को हाँस्यौं । मिश्रमामाका मार्मिक कुरामा रहस्य भएको म अझै सम्झदै छु ।
नयाँवानेश्वर, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
हाम्रो भाषा चमत्कार

हाम्रो भाषा चमत्कार

मुक्तिनाथ शर्मा
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
तीन ठोक्तक

तीन ठोक्तक

मुक्तिनाथ शर्मा
टाउको व्यापार

टाउको व्यापार

मुक्तिनाथ शर्मा