मुक्तिनाथ शर्माटाउको व्यापार
त्यो के भने पूजारी... वादी... सुराकी आतङ्ककारी पनि त हुनसक्छ । कतै फेरि नराम्रोसँग फसिने त होइन ? तसर्थ मैले भने- ‘किन्ने हो म दर्शन गरेर फर्कन्छु । अनि लिएर जान्छु ।’

मुक्तिनाथ शर्मा :
बूढापाकाहरू भन्छन्- पेशामा अति उत्तम पेशा व्यापार हो । मलाई पनि त्यस्तै लाग्छ- व्यापार अपार । तर, के गर्नु, आफ्नो बुद्धि त्यतातिर लाग्दै लागेन । जागिरबाट गिरेपछि पनि कलम समात्न छाडिएन । बुद्धिमा बिर्कै लागेको हो क्यारे । कहाँबाट लेखक हुने धनले अड्यायो – मलाई । लेख्यो, केर्यो, फेरि लेख्यो अनि कागजै घ्यार्र च्यात्यो । यदाकदा यो त छपाउनुहुन्छ होला भनेर सकी नसकी साफी गरेर सम्पादकज्यूलाई दियो, उहाँले फेरि नराम्रोसँग अँठ्याइदिने । यस्तो हुँदाहुँदै पनि एक-दुई लेख पत्रिकामा छापिएपछि आफैलाई स्याबासी दियो र कसैले परिचय माग्दा भन्न थालियो लेखक । तात्तो न छारो । उत्ता आफ्नै गाउँको साँवा अक्षर छिचोलेका कटहरे जेठाले व्यापार गरेर धन कमाएको देख्दा मुखै रसाएर आउँछ । तसर्थ व्यापार थालौं कि जस्तो हुन्छ र सोच्न थाल्छु । मनले भन्छ- के व्यापार गर्ने ?
सुनेको हुँ- पारिवने कान्छाले कालो गुदरगानो पाए पित्तललाई सुन बनाउन सकिन्छ रे भन्ने सुनेछन् । कालो गुँदरगान खोज्दा खोज्दा ऋणमा फसेर आठबिसेको खेतै सुइँक्याएका हुन् रे । रतुले घर्तीलाई कुनै उट्पट्याङले लगाइदिएछ, कालो कुसको व्यापार साह्रै उत्तम हुन्छ । त्यो व्यापार गर्छु भन्दाभन्दै रतुलेले साह्रै ठूलो हैरानी पायो रे । पुछारघरे कान्छाले भने खुर्सानी व्यापार गरेर अलिकति कमाएकै हो रे । तसर्थ म के व्यापार गरेँ भनेर सोच्दै थिएँ, मेरो मनमा एउटा विचार आयो- घरजग्गा खरिद-विक्री । कति पैसा लाग्छ भनेर बुझेकी त मेरो सातो गयो । अनि सम्झे- आलू व्यापार । फेरि आफ्नै मनले भन्यो त्यस्तो जाबी आलु व्यापार पनि व्यापार हो ? यस्तैमा एउटा पत्रिका बेच्ने केटो मेरो घरनजिकैको बाटोमा ठूलो स्वरले कराउँदै भन्दै गयो- ‘एउटा टाउकाको मोल पचास लाख ।’ अनि त मेरो मनले मलाई आदेश दियो- ‘गर्ने भए टाउकोकै व्यापार गर ।’
मनकामना देवीको दर्शन गर्न जाँदा पूजारीसँग सुतोमा टाउको किनेर खाएको सम्झना भयो पुजारीसँग टाउका प्रशस्तै भएको पनि सम्झना भयो । मनमनै भने- अब मनकामना गएर टाउका खरिद गर्ने र नाफामा बेच्ने तर फसाद के भयो भने नेपाल बन्द छ, कसरी जाने ? अनि मनैले भन्यो- टाउका दक्षिणकालीमा पनि पाइहालिन्छ । त्यहाँ गएर टाउकाको व्यापार गर् । आदेश सिरोपर गरेकै नेपाल बन्द हुनासाथ हिँडेरै त्यतातिर लागे ।
पूजारीसँग टाउका थुप्रै रहेछन् । मनले भन्यो- साइत परेकै हो । अनि म टाउका छान्न थालेँ । एउटा गजबको टाउको भेटेर सोधे- ‘यो टाउकोको मूल्य कति ?’ पूजारीले मतिर टुनुक हेरे- ‘किन्ने हो ?’
म अकमकाएँ । केही सोच्नै सकिनँ । अनि जे पर्ला-पर्ला भनेर प्रतिप्रश्न नै हुर्याएँ भन्नुहोस्, मूल्य कति ? पूजारीले मेरो टाउकोदेखि पाइतालासम्म हेर्यो । मलाई अर्को डर लाग्यो । त्यो के भने पूजारी… वादी… सुराकी आतङ्ककारी पनि त हुनसक्छ । कतै फेरि नराम्रोसँग फसिने त होइन ? तसर्थ मैले भने- ‘किन्ने हो म दर्शन गरेर फर्कन्छु । अनि लिएर जान्छु ।’
म सरासर भगवतीको दर्शन गर्ने लाइनमा लागे । मनमनै देवीको प्रार्थना गरिरहे- ‘हे भगवती, दया गर । मलाई टाउको व्यापार गरेर पैसा कमाउनु छैन । बरू त्यो व्यापारीका आँखा छलेर यहाँबाट उम्कन सकेँ । नभन्दै भगवतीको निगाह भयो । पुजारी आफ्नै काममा व्यस्त भएको मौका पर्यो । त्यहाँबाट कुलेलम ठोकेँ । अहिले पनि मेरो मन भनिरहेछ- ‘टाउकोको व्यापार नगर्नु ।’
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































