हरिकला उप्रेतीकोदरस
कुरो यो कविताको हो । कविताको पनि के भनौ कविताको अर्थको भन्नुपर्ला । एकजना बुढा दाह्रीवाल कविले कविता कथेका छन् । “गाई सरी छन् साधु जो जो यहाँ जगत्मा… ।” पाठशालामा पढ्दा लय हालेर गाउन नजान्दा नन्दलाल गुरुले चड्कनचिउरा चखाएका थिए । चड्कनचिउराको चोटिलो प्रहारले ईलामको तोरीबारी आँखामा तिर्मिराएर तीन दिनसम्म बेहोस् भएकी थिएँ । त्यो साँझमा संझियो भने रातभर निन्द्रा लाग्दैन । नन्दलाल गुरुको चड्कनसँगै बिजारोपण भएको गाईप्रतिको अन्तरबिरोध आज चरमचुलीमा पुगेको छ ।
क्या मज्जा !! आजभोलि त गाई चर्ने चौरीमा गधामात्तै चर्न थालेका छन् । उबेलादेखि धारेहात पारेर सत्तोसराप गरेको यो बेला आएर पूरा भयो । नासिएकाको दरसन्तान मासिएछन् क्यार । अलेली भएकाले पनि मानिसको बिष्टा मिठो मानेर खान थालेछन् । लु लेखून् बुढा कविता “गाई सरीछन् साधु…भनेर । गाईले धर्म, परम्परा संस्कृति सबै छोडे । बरू त गधा कता हो कता नैतिकवान् छन् । त्यसैले त्यो कवितालाई पुनर्लेखन गर्नुपर्छ भन्ने मेरो रहर नभएर ‘ठहर’ भएको छ– “गधा सरीछन् साधु जो जो यहाँ जगत्मा… ।”
मुर्खहरूले गाईलाई धनकी देवी भनेर पूजा गरे । लक्ष्मी रिसाएर सबै नेपालीहरू हरिकङ्गाल भइसके । दिनेले देको देईछ, लिने रित्ताको रित्तै छ । त्यसैले पक्कै गौपूजामा अनिष्ट परेको छ । गाई पाल्ने अर्को कारण दूध, दही, घिउ खाएर जिउ मजबुत बनाउनका लागि हो । तर “आफ्नै विष्टाको झोल” गाईबाट निचोरेर खाएपछि लाग्दैन त पखाला ? यस्तो अस्वस्थ चिज खानुखुवाउनु सोह्रैआना अपराध हो ।
यो कलीमा त कोदरसले क्या कमाल गरेको छ । बिहानैदेखि टन्न टनकपुर भएर, दसफिटे बाटोमा बीस ठाउँमा ठोकिँदै पोखिंदै हिंड्दा व्यक्तित्व पनि झल्किने । घाँटीमा टाइ, कुममा कोट, नालीमा खुट्टा र आचिमा ओठ हुनु नै आधुनिकताको पहिचान हो । गाईको दूध र घिउ खाने, दौरासुरूवाल र अस्कोट लाउने त गएगुज्रेका गाउँले हुन् । ‘कहाँकी इन्दिरा गान्धी, कहाँकी गल्लीमुनि भाउजू’ भने जस्तो कोदरसका सामु कसैको केही लाग्दैन । अहिलेको पहिलो आवश्यकता नै कोदरसको पक्षमा राष्ट्रिय सहमति जुटाउनु हो । त्यसैले “गाईगोठको ठाउँमा भट्टीकोट खोलां” भन्ने खुलासासहितको सन्देश सञ्चारमाध्यमबाट संप्रेषण गर्नुपर्छ । चोकचोक र गल्लीगल्लीमा हल्लिखल्ली मच्चिने गरी होडिङ बोर्डहरू राख्नुपर्छ ।
आखिर सत्ययुगमा पनि देवताहरूले सोमरस भनेर त्यही झोल सुइँक्याए । दानवहरूले ‘सुरापान’ भनेर तन्काए । हामीले चाहिँ त्यही पवित्र जललाई नयाँ नामले विभूषित गर्दै किन नतान्ने ? ‘कोदरस’ भनेर । यस्तो बहुआयामिक प्रतिभाशाली भट्टीलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्छ । राष्ट्रिय आय–आर्जनमा बृद्धि गर्नुपर्छ । यस विषयमा राष्ट्रिय सहमति हुनु अत्यन्तै आवश्यक छ ।
गाई त अजोडी जीव हो । बिहान हुँदा नहुँदै बाँ–बाँ गरेर गावैं थर्काउँछ । त्यसैलाई घाँस पराल र स्यारसुसार गर्दागर्दै दिन जान्छ । फेरि अलि उमेरले डाँडा काटेकी बुढीगाईका छेउमा त उग्रिगन्ध भएर गइसक्नु हँदैन । सबै छेउ पर्न छि–छि र दुरदुर गर्छन् । बल्लबल्ल दुधेरो लिएर दुहुन बस्यो मुठीपन्द्रेक पारेपछि लात्तीले हानेर पुर्पुरो उक्काई दिन्छ । दूध जति बनदेवीलाई दूधकुण्ड बनाएर गोबरका थाप्रामा चढाए जस्तो सबै समाप्त । नरहे बाँस न बजे बाँसुरी ।
यदि भट्टीको खेती गर्ने हो भने चौतर्फी रोजगारीको अवसर खुल्छ । गाउँले कृषकको कोदोले भाउ पाउने । रस निचोरी सकेको छोक्राले धराने बङ्गुर बलियो हुने । अझ उन्नत जातको कोदरस बनाउन सके त बनाउने, खन्याउने बोतलमा हाल्ने, बिर्को टाल्ने साराले स्वरोजगारको अवसर पाउँछन । त्यति मात्र नभएर छिमेकी भैयाको व्यवसायले पनि व्यापकता ल्याउँछ । बिहानको सूर्योदयसँगै बोरा बोकेर “खाली बोतल खाली सिसी” भन्दै निस्कन्छ ।
उहिले हाम्रा हजुरबाले “बाबै शरीरमा लाग्ने खानेकुरामात्रै खानु” भन्थे । बुढा मास छर्न हिंडेका आज बीस बर्ष बितेछन् । उनका कुराको गाँठी चुरो भने बल्ल बुझियो । दूध खायो, दही खायो, माछामासु खायो खै कहिल्यै लाग्दैन । कोदरस भने एक टीप दिनेबित्तिकै आहा !! शरीरका एकासी अङ्ग एकैचोटि जाग्छन् । यस्तो प्रत्यक्ष लाभ पु¥याउने कोदरसको बिरोध कसले गर्ने ? सर्वगुणी कोदरस एक, फाइदा अनेक । वाह !! कोदरस, कोदरस भेसी गाई किन चाहियो ? गाई फिर्ता !!
तेह्रथुम
Subscribe
Login
0 Comments
Oldest











































