इन्द्रकुमार श्रेष्ठरक्स्याहा स्वभाव
धेरै छन् पिउने मान्छे के के पिएर गर्दछन् !
चेहरा बदली हुन्छ अनेक रङ्ग भर्दछन्
तमासा अति नै गर्छन् मान्छेपिच्छे अहा ! कति
गरूँ कि बयानै भन्छु मैले देखे सुनेजति ।
झगडा गर्न तम्सन्छन् कोही मातेर टन्न भै
छेउभित्ता गरी हिंड्छन् कोही मातेर झन्न भै
कोही रुन्छन् बिगारेर ‘आँ आँ’ त्यो मुख बाउँदै
कोही हिंड्छन् रमाएर हाँस्तै गीत सुनाउँदै ।
बाझ्नुपर्छ कसैलाई फलाक्तै गाउँ डुल्दछन्
कोही मस्त हरामी भै आफ्नै संसार भुल्दछन्
जत्ति दियो उति माग्छन् भट्टीमा अझ पल्कँदै
पोथी खोज्न कुनै हिंड्छन् मातेर अझ ढल्कँदै ।
कस्ता ज्ञानी कुनै बन्छन् फिँज काढी मजासँग
पिएपछि ढली सुत्छन् चासो छैन कसैसँग
छोडेमा निँदले फेरि एक गिलास लाउँछन्
फेरि सुत्छन् मुढो बन्दै कस्तो मस्ती ! रमाउँछन् ।
कसैलाई कुरा गर्नु पर्दौ रै’छ थरी थरी
सानो स्वर हुँदै हुन्न ठूलो स्वर गरी गरी
नालीतिर कुनै लड्छन् विष्टामा मुख गाड्दछन्
अप्ठ्यारोमा कुनै पर्छन् त्यत्तिकै सास छाड्दछन् ।
नाच्नुपर्छ कसैलाई फोन गर्ने कुनै भए
साथीभाइ जुवातासतर्फ रम्ने कुनै भए
कुस्ती खेल्न रमाएर कोही ‘आइज’ भन्दछन्
अघिपछि लुतेलाम्रे पिएर बाघ बन्दछन् ।
सुत्नुअघि कसैलाई कसैलाई उठेपछि
खानासँग कसैलाई मासु अन्डा भएपछि
सधैं प्युँनेहरू हुन्छन् सधैं मात्नेहरू कुनै
थोरैमा मातिने कोही धेरैमा मातिने कुनै ।
खोयाबिर्के कुनै भन्छन् रक्सी रम बिअर् अरे
तीनपाने झनै राम्रो अँगेरी पनि भन्दिए
बान्तो भन्छन् कुनै फेरि बिजुलीट्वाँक एउटै
मान्छेमात्र कहाँ लिन्छन्– लिन्छन् धेरै त देउतै ।
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest








































