साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो बोर्डिङमा पढेको छोरो

Nepal Telecom ad

म आफू गुरुकुल परम्पराको उत्पादन हुँ । त्यसैले मैले गुरुकुलमा पढ्ने विद्यार्थीका चेहरामा तक्षशिला देख्छु । त्यहाँका विद्यार्थीहरूमा आचार्य चाणक्यको प्रतिविम्ब भेट्छु । हिजोआज खुलेका बोर्डिङ स्कुलहरू त्यस्तै तक्षशिला विश्वविद्यालयका प्रारूप हुन् भन्ने ठान्दछु । त्यसै ठम्याइले होला मलाई छोरो टुकुटुकु हिँड्न पनि नसक्ने अवस्थामा नै आवासीय विद्यालयमा पढ्न पठाउन उत्पे्ररित गरिरहेको थियो ।

त्यसो त छोरालाई बोर्डिङ स्कुल पढाउँदा मलाई दोहोरो फाइदा थियो । एकातिर उसलाई हेरचाह गर्नका लागि घरमा अर्को कुरुवा राख्नु पर्दैनथ्यो भने अर्कातिर उसकी आमा चाँडै बूढी पनि हुँदैनथी । सदाबहार स्वास्नी पाएपछि कुनचाहिँ पत्नीप्रेमी पोइ प्रसन्न हुँदैन र ?, कतिपय ममतामयी महतारीहरूले छोराछोरीलाई जति स्तन चुसायो उति नै चाँडै आफू बूढी भइन्छ भनेर स्तनपायी सन्ततिलाई नर्सरीतिर पठाउँछन् रे भन्ने किंवदन्ती मैले सुन्दै आएको हुँ । त्यसैले म विवेकी पति भएको नाताले मेरी पत्नीको चिरयौवना बनिरहने अव्यक्त माग पनि मैले पूरा गरेको हुँ ।

मैले जुन गुरुकुल आश्रममा बसेर प्राच्यभाषा सिकेँ र त्यसै भाषामा लेखिएका कुरा पढेँ, तर त्यस पढाइले मलाई फाइदा भएन, अझ यसो भनूँँ त्यो पढाइ मेरा लागि उति कामयाब भएन । विद्या अर्थकरी भएन भने त्यो विद्या हिन्दूहरूका लागि बाँझी गाईजस्तै हुन्छ रे । न मासु खानु, न त दूध नै घुट्क्याउनु । गाई त दुःख दिने भाइजस्तै पो हुन्छ रे । त्यसैले मैले छोरालाई मासु र दूध सबै कुरा पूरा गर्ने विद्या पढाएँ । ‘गाई खाने विद्या पढ्ने’ भन्ने अबुझहरूलाई हप्काएँ, त्यस किसिमको झूटो लोकाचारलाई गलहत्याएँ र भनेँ– धर्म र गाईको बीचमा केही धार्मिक सम्बन्ध भए होला, अन्यथा छैन, भन्दै मेरो छोरालाई पश्चिमी भाषामा लेखिएको पश्चिमी शिक्षा नै दिलाएँ ।
मेरो छोरो तारेको तिल्केमात्र भएन कि ऊ त तिल्केको छोरो तारे पो भयो । म जन्म दिने बाबुलाई चाहिनेभन्दा बढी नै खुशी लाग्यो । छोराले आवासीय विद्यालयको अन्तिम परीक्षामा अपेक्षा गरेको भन्दा बढी नै अङ्क ल्याएछ । सबैले प्रशंसा गरे । उसैको तस्वीर राखेर उच्च शिक्षाका पसलेहरूले विज्ञापन गरे । छोराको प्रगति देखेर म पनि ‘फुलेल’ भएँ । छोराको उन्नतिले गर्दा मलाई बधाई यति धेरै आए कि मलाई त्यो बोझ धान्न नै धौधौ भयो ।

मलाई आफ्नो लगानी फुलेको, फलेको र पाकेको समेत देख्ता लाग्नु खुशी लाग्यो । स्वस्थ शिशु जन्मिएपछि नवप्रसूता माताहरूले अघिको प्रसवसमयको प्रसवपीडा भुल्छन् रे । करीब करीब मेरो स्थिति पनि त्यही रह्यो । म साँच्चै नै हर्षविभोर भएँ, मेरा आँखाबाट अजस्र रूपमा हर्षाश्रु झरिरहे ।

छोराले जस्तै ख्याति नकमाएको भए तापनि म पनि अशिक्षित नै थिइनँ, न त म मूल्याङ्कन गर्नै नसक्ने अवस्थामा थिएँ । त्यसैले मैले पनि छोराको आन्तरिक मूल्याङ्कन गर्न खोजेँ र आवासीय विद्यालयबाट केही समयका लागि भनेर उसलाई घरमा बोलाएँ ।

लामालामा कपाल पालेको, देख्तैमा तमासालाग्दो छोरो मेरो घरमा आयो र‘गुड इभिनिङ ड्याड’ भन्दै मतिर हात तेस्र्यायो र मेरो हात तन्क्याउन सङ्केत ग¥यो । त्यसपछि उसले मेरा हात समातेर ‘गुडगुड’ भन्दै झट्का¥यो । मैले के ठानेको थिएँ भने– “मेरो छोरोले मेरो दुवै गोडा समाउला र भुइँमा लम्पसार परेर ‘दण्डवत् प्रणाम, पिताश्री’ भन्ला ।” तर उसले त्यसो गरेन । छोराको त्यस कामले म दुःखी भइनँ, बरू उसको व्यवहारबाट खुशी नै भएँ । मैले मनमनै ठानेँ– मेरो घरमा पनि अब समावेशी संस्कृति भित्रियो । सिङ्गै देश समावेशी युगमा प्रवेश गरेको बेलामा मेरो घरमा पनि समावेशी संस्कृति भित्रियो, अब मेरो पनि घर सांस्कृतिक दृष्टिले समृद्ध हुने नै भयो । “ज्ञानविज्ञानको हात जोड्नु पर्दछ कर्ममा” भन्ने हाम्रा महान् साहित्यकार बालकृष्ण समको इच्छा पनि पूरा हुने भयो । छोराले लामो भइन्जेल कपालमात्र पालेको थिएन, बरु उसले त एउटा कानमा कनफट्टा बाबालाई पनि पछि पार्ला कि जस्तो गरेर एउटा मुन्द्रा पनि लगाएको थियो । मैले सोध्दा उसले उत्तरमा भनेको थियो कि त्यो मुन्द्रा उसैको ‘रुम पार्टनर’ले सदाका लागि उसलाई उपहार दिएको हो ।

छोराको गणित विषय तगडा थियो, उसले प्राप्त गरेको अङ्कले तहल्का नै मच्चाएको थियो अनि मैले पनि उसको गणित ज्ञानलाई परीक्षण गर्न भनी एउटा प्रश्न सोधेँ– “तिमी त गणितमा धेरै अङ्क पाएका मान्छे हौ, लौ त एघार हजार, एघार सय एघारलाई अङ्कमा लेख त ।” मैले लेख्न दिएको कापी÷कलम पर सार्दै छोराले भन्यो– “क्यालकुलेटर छैन र ड्याड ।” “हामीले त कलम कापीले नै काम चलाउँछौं” मैले भनेँ । अनि उसले आफ्नै क्यालकुलेटर झिक्यो र ट्याकट्याक पा¥यो र जोड्यो अनि १२१११ उत्तर देखायो । मैले भनेँ– यो त १२१११ भएन र ? मैले दुई सिता भात छामेपछि सिङ्गो कसौँडीको भात थाहा पाइन्छ भन्ने ठानेँ र छोरासित अरू कुनै दहलफसल गरिनँ । तर उसको भाषिक ज्ञानको पनि परीक्षण गरूँ कि भन्ने चाहना चाहिँ मेरो भयो । अनि मैले उससँग अनुमति लिएर सामान्य ज्ञानको एउटा प्रश्न गरेँ– “विश्वको सर्वोच्च शिखरको नाम भन त ?” उसले भन्यो– “माउन्ट एभरेस्ट ।”

मैले भनेँ– “नेपाली भाषामा भन त ?” तर छोरालाई सो शिखरको नाम नेपाली भाषामा भन्न नआएपछि मैले भनेँ– ‘सगरमाथा’ । अनि मैले भनेँ– यस शब्दलाई अक्षरमा लेख त । अनि उसले लेख्यो– ‘क्बनबचmबतजब’ । यो त रोमन लिपि, भयो देवनागरीमा लेख्न आउँदैन र ?

मैले देवनागरी भनेको कुरा उसले बुझ्दै बुझेन । उसले मलाई क्वारक्वारती हे¥यो । मलाई उसको हेराइ साङ्लाले बाँधेको टोक्ने कुकुरको जस्तो लाग्यो । अनि मैले सोचेँ– हलेदो भनेर जानेपछि नकोट्याएकै बेश । अब मैले ठानेँ– “मैले उसले घोकेको विषयबाहेकका अरू विषयमा प्रश्न गरेँ भने त हामी बाबु र छोराबीचको सम्बन्ध चिसिन्छ ।” यति सोचेर मैले चूप लाग्ने निर्णय गरेँ । मैले मेरो यो निर्णय समसामयिक नै भयो कि भन्ने ठानेको छु, ठीकै भएन र ? कुरो त कसो हो कुन्नि ।

पोखरा
फित्कौली अङ्क १८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x