राजेन्द्र तारकिणीसमय–कोलाज
आरुका फूलजस्ता नानीहरू
गइरहेछन् जीवनको पाठशाला हिउँमाथि टेकेर
अमिलो पसेको आँपजस्ता किशोरीहरू
तरिरहेछन् जीवनको साउन तुइनमा झुण्डिएर !
भूगोलजस्तो पेट बोकेकी स्वास्नीमान्छे
आइरन चक्की निलेसरह
सजिलै गरिरहेकी छिन् ढिकीजाँतो
बैँसको उकालो चढेर माथि भञ्ज्याङमा
मिर्मिरे जन्माएर विश्राम लिने धोको छ अरे !
साइँलीको सिउँदोमा
रातो रङ्गले लक्ष्मणघेरा कोरिदिएर
रामे माइलो हरियो राहदानी बोकी लम्किरहेछ
भरे ऊ कि भाइरस बोकेर जिउँदो फर्किनेछ
कि पैसाको सट्टा बाकसमा आफू भरिएर आउनेछ !
गल्लीका पहरेदार ल्याम्पपोस्टहरू
निभ्ने रोगले ग्रस्त छन्,
जीवनबाहिनी धाराहरू
सुक्ने रोगले ग्रस्त छन्
मानूँ, तिनीहरू अभिशप्त छन्–
जीवनमा अन्धकार, खडेरी उमार्न !
‘भोटजात्रा’ पछिको खप्परजस्तो उपत्यकामा
ठुल्दाइहरूको कल्याङमल्याङ चलिरहेछ
सुनिरहेछु पाश्र्वध्वनि–
झाडापखाला लागेर कर्णाली
जीवनजलको पर्खाइमा बसेको युगौँ भो,
नूनसँग जिन्दगी साटिरहेका महाकालीबासीलाई
सिंहदरबारभन्दा ‘कालीपार’ नजिक लाग्छ रे !
दाताहरूको एकसरो ‘कृपा’ बेरिएको जस्तो
घुमाउरो सडकबाट
दिनहुँ नागरिकले ‘सिलटिमुर’ खान पाइरहेछन्
हिउँचुलीदेखि बगेका आँसुका मूल रित्तिरहेछन्
दुःखको सगरमाथा आकाशलाई हाँक दिइरहेछ !
ठ्याक्कै
गोधूली पछिको साँझमा देखिएको आकाशजस्तो
समय–कोलाज हेर्दाहेर्दै
म आफैं अपहृत भएको छु
टुँडिखेलजस्तो सार्वजनिक मैदानबाट !
बैतडी, हाल :काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































