साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी परीक्षण अभियान

Nepal Telecom ad

तपार्इंको भुँडी कस्तो आकार प्रकारको छ ? कहिल्यै अवलोकन गर्नु भएको छ ? मूल्याङ्कन गर्नु भएको छ ? भुँडीको बारेमा कहिल्यै एकान्तमा बसेर घोत्लिनु भएको छ ? यदि छ भने तपाईलाई मुरी मुरी धन्यवाद । कमसेकम जीवनमा अरू केही गर्न नसके पनि आफ्नो भुँडीको विषयमा त सोच्नु भएको रहेछ नि । संसारमा कति प्रकारका भुँडीवाल मानवहरू देख्नु भएको छ ? कुनैका घ्याम्पे भुँडी, कसैका पुटुस्स परेर बाहिर निस्किएको फर्सी आकारको भुँडी, कसैका केराका दाम्चा आकारका ख्याप्से भुँडी, कसैका माटाका घैटो आकारका घैटे भुँडी, कसैका जतिसुकै हसुरे पनि बाहिर नदेखिने सुलुत्त परेको लाम्चे भुँडी । मान्छेपिच्छेका फरक फरक भुँडी आदि ।

यी माथिका भुँडीका आकार प्रकारमध्ये तपार्इं कुन प्रकारको भुँडी बोकेर यस धर्तीमा लखरलखर हिँडिरहनु भएको छ ? कुन प्रकारको भुँडीले मलाई रातोदिन हैरान पारेको छ भनेर आफै छुट्याउनुहोस् । आफ्नै परिश्रम गरेर, आफै व्यवसाय सञ्चालन गरी आएको आर्जनले खाएको खानाबाट भुँडी लागेर घ्याम्पे होस् कि घैँटे, अरू महाजनलाई के को टनक टनक ? मतलब विहिन कुरामा अनावश्यक टाउको दुखाएर किन बस्नु हुन्छ ? केही काम छैन भने बरू एक किलो तोरी लिएर गन्न थाले त भैहाल्यो नि ।

तर नेपाल प्रहरीको कुनै पदमा कार्यरत हुनुहुन्छ भने विचारणीय कुरा छ । “सत्यं सेवा सुरक्षणम्” को उद्देश्यलाई पूरा गर्न नेपाल प्रहरीमा भर्ना हुनु भयो । भर्ना भएपछि सेवा अवधिभर कुनै पनि पदमा रहँदा बस्दा गरिने कामकाजको बारेमा किरियाकाष्टा खानु भयो होला । सेवामा रहुन्जेल नेपाल र नेपाली जनताको शान्ति सुरक्षामा प्रतिवद्ध हुनेछु । कुनै पनि मोलाहिजामा लागेर कर्तव्यबाट विचलित नभई लागिरहनेछु । कुनै पनि खराव तत्वको संगतबाट नेपाली जनतालाई दुःख दिने छैन । दश पाँचको कार्यालय समय भन्दा पनि आवश्यक परेको बखत अहोरात्र समय दिनेछु । तर के गर्नु र ? चोरहरूलाई समात्दा समात्दै के कसरी चोर्न सकिन्छ भन्ने जानेर होला । चोरीको मुद्धामा प्रहरी नै संलग्न भएका थुप्रै घटनाहरू तपाई हाम्रो माझ भइरहेका छन् । तस्करहरूको मिलोमतोमा रातारात कानूनले निषेध गरेका बस्तुहरू निकासी र पैठारीमा सहयोग गरिरहेका छन् । कोही रातारात धनी बन्ने लोभमा फसेर गैरकानुनी क्रियाकलापमा संलग्न भएर नेपाली जनताले नै नेपाल प्रहरीको निगरानी गर्नु परिरहेको छ ।

समय सापेक्ष प्रहरीलाई परिचालन गर्न र परिचालित सुरक्षाकर्मीहरू सही ढङ्गबाट परिचालित भएका छन् कि छैनन् भनेर केन्द्रबाट भुँडी परीक्षण अभियान चलाएका छन् । चाहिएका सयममा तुरून्त खटिन सक्छन् कि सक्दैनन् । दैनिक कसरत गर्छन् कि गर्दैनन्, कि दशैका लागि भनेर पोसेर राखिएका जखमले घोर्ले खसीको हालतमा छन् कि ? कतै तल्लो तहमा कार्यरत सुुरक्षाकर्मीका रासन भत्ता, पोशाक भत्तामा अनियमितता गरेर उपल्लो दर्जाको अधिकारीहरूले दुनियाको खुन पसिनामा मोज मस्ती गरेर बडेको भुँडी तेस्र्याएर कतै ससुरालीमा गएका बखत मेजमानीमा परेका जस्ता जागिरबाट मोजमस्ती गरिरहेका त छैनन् ? नत्र भने नेपाल प्रहरी सधै इमान्दार हुन्छन् । सधै कसरत गरेर शरीरलाई फुर्तिलो बनाइराख्छन् भन्ने मानसिकतामा हुन्थे । यदि नियमित रूपमा कसरत गर्ने र सरकारले दिएको रासन मात्र खाने हो भने ग्लोब जस्तो वृताकार भुँडी हुँदै हुँदैन थियो । ठूलो भुँडी हुनुमा केही न केही कैफियत छ । भुँडेवाल प्रहरीहरूको भुँडी अपरेसन गर्नु पर्दछ । उसले कहाँ कति र कसरी अनियमितता गरेको छ । सबै नालीवेली पत्ता लगाएर हदैसम्मको कारवाहीमा पारिनु पर्दछ । चोरी गर्दै हिँड्ने, बालवालिका, युवती अपहरण गरेर फिरौती रकम माग गर्ने कार्यमा सरिक छन् कि ? आम नागरिकका दुश्मनलाई तेस्र्याउनु पर्ने हतियार उद्योगपति, व्यापारीहरू माथि उठाएर लाखौ लाख चन्दा असुल्दै हिँड्ने भुँडेवाल प्रहरीहरूका भुँडी अब आम नागरिकका अगाडि सबैले देख्ने गरी चिरफार गरिने भएको छ । रक्तचन्दन तस्कर गर्नेहरूसँग हिसाब किताबको हिस्सा लिएर तस्करका मतियारहरूका भुँडी पनि परीक्षण गरिने भएको छ । त्यस कारण अहिलेसम्मका गैर कानूनी क्रियाकलापहरूलाई आफैले मम गरेर अब आइन्दा त्यस्तो काम कदापि गर्ने छैन भन्ने प्रतिवद्धता गर्नुहोस् । वर्दीको सम्मान गनुहोस् ।

भुँडी परीक्षणमा पाल्नु हुने महानुभावहरूको पनि आप्mनै किसिमको भुँडी होलान् । त्यसकारण ठूला भुँडीवालहरू तपाई धुर्त हुनुहुन्छ भने परीक्षणका पाल्नुहुने महोदयका भुँडी फुलाउने हावा ठिक्क पारेर राख्नुहोस् कि त सजग भएर बस्नुहोला । जे जसरी भए पनि बढेको भुँडी घटाउने तरखरमा लागिहाल्नुहोस् । उषाकालदेखि गोधुलीसम्म लगातार कसरत गरेर हुन्छ कि उफ्रीपाफ्री गरेर हुन्छ । नियमित खाने खानामा कटौती गरेर हुन्छ ज्यानलाई फुर्तिलो बनाउने कार्यका ढिला नगरीकन आजैबाट अझ भनौ अहिलेबाटै लागिहाल्नुहोस् । जवकि परीक्षण कर्ता आउँदा तपाईको भुँडी माथि शंका गरेर परीक्षण कार्यको थालनी गर्न नपरोस् । अस्वभाविक रूपमा बढेको भुुडीलाई सामान्य अवस्थामा ल्याउन के गर्दा उपयुक्त हुन्छ । सोही सूत्र लगाएर तन्दुरूस्त अवस्थामा बस्नुहोस् । भुँडी परीक्षण अभियानलाई सफल बनाउने दायित्व हामी सबैको हो । त्यसकारण भुँडी परीक्षण अभियानमा हामी सबै सरिक हौं । जय होस् भुँडी परीक्षण अभियान ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x