रमेश गौतम ‘पाल्पाली’धन्य प्रजातन्त्र
हामी प्रजातन्त्रका लागि किन मरिमेट्यौँ ? आज त तपाईंको घैँटोमा घाम लागेहोला नि ! खास गरेर नेताहरू जनताको लागि प्रजातन्त्र दिन कसरी ज्यान फाल्छन्, अब पनि तपाईंले बुझ्नुभएन भने कृतघ्नै भन्नुपर्छ तपाईंलाई । २०४६ सालको परिवर्तनपछि नेपालमा कुन क्षेत्रमा विकास भएन सम्झनुस्त ! अलिकति खस्केको भनेको नैतिकता र अनुशासन न हो ! त्यसले के भयो त ? त्यो खस्कोस् कि बिलाओस् । त्यसैको झन् विकास भएकै छ क्यारे !
हेर्नुस् आज हामी कति स्वतन्त्र छौँ । मन लागेको कुरा बोल्न सक्छौँ, मनमाफिक काम गर्न सक्छौँ, हामीलाई रोक्ने कसले ? दश÷बीस जना हाम्रा पछाडि रहनुपर्छ अथवा एक दुई जना टाउको माथि हात रखिदिने मान्छे हुनुपर्छ बस् ! त्यति भयो भने हामी जे पनि गर्न सक्छौँ ।
हाम्रा पछि लाग्ने कुनै राजनैतिक कार्यकर्ता मात्र हुनुपर्छ भन्ने छैन । लट्ठी र मुड्की उठाउन सके पनि हुन्छ । अरू त अरू मुड्की उठाएकै भरमा लेक्चरर त बन्न सक्छौँ भने माध्यमिक शिक्षक जस्ता पदमा नियुक्ति लिनलाई “अंश लेखियोस् कि अंस” छुट्याई रहनुपर्छ र ? “विद्यालयलाई जोड गरि गरि विध्यालय” “विद्यार्थीलाई विध्यार्थी” उच्चारण गरेर त काम चलेको छ । हिन्दी समाचार पढ्नेले “बारिस होगा, बस गया था” भने पनि भएकै छ । आखिर बारिस हुनु भनेको पानी पर्नु न हो ! यति त श्रोताले आफै बुझिहाल्छन् नि ! जब नेपालका ठूला विद्वान्हरूले बोल्दा जे बोलिन्छ त्यही लेखे हुन्छ । भनिसकेका छन् भने धेरै किन बिचार गर्नु प¥यो ? त्यसले कसैसित खान मागेको हुँदैन क्यारे ! कुरा बुझ्नु हो बुझिहालिन्छ ।
हिन्दीको त झन् कुरै गर्नुपरेन । हिन्दी पढ्ने सुन्ने सधै नेपालमा बस्ने होनन् त । नेपाली भाषा त झन् आफ्नै भाषा । नेपाली बोल्न नजान्ने कति होलान् त ? प्रजातन्त्रमा बहुमतलाई मान्यता दिने त हो । विभक्ति जोडिएन, ह्रस्व दीर्घ मिलेन भनेर किन टाउको दुखाइ ? यो त चाहिएको बेलामा आफै मिलिहाल्छ नि !
हाम्रो नैतिकता र अनुशासन घटेको छ ! भन्नेले बुझ्नुपर्ने के भने त्यसले कसको के बिगारेको छ ? खान मागेको छैन, लाउन मागेको छैन । बरू खान नपाउनेलाई रोजिरोजि खान र लाउन नपाउनेलाई मन लागेको लाउन सक्ने मात्र होइन आलिशान महलमा बसेर ब्ल्याकलेबल र रेडलेबलको चुस्की लिन सक्ने बनाएको छ ।
तपाईंसँग बल छ र चेन चक्कु देखाउन सक्नुहुन्छ वा अलिकति राजनैतिक समर्थन छ भने तपाईंलाई पैसाको पनि कमी हुने छैन । पैसा भएपछि तपाईंले चाहेको काम गर्न सक्नुहुन्छ । आखिर भुक्ति मुक्ति जे भने पनि त पैसैमा छ । हो, अलिकति देशको आत्मा बेच्नुपर्ला । त्यसले के बिग्रिन्छ र ? कोशी बेचिए, गण्डकी बेचिए, महाकाली जान तयार भएकै छ भने सुस्ता, लखनियाँले के पो लछारेका छन् र ? आखिर चाहिने धनै रहे छ । राजनीति गर्न पनि धनै चाहिएको छ, पत्रकार बन्न पनि धनै चाहिएको छ । वकिल, डाक्टर, इन्जिनियर सबैलाई धनै चाहिने भएपछि देश र जनता भनेर कति दिन बस्ने ? शिक्षक लेक्चरर हुनु परेको पनि त धनकै लागि हो । घुक्र्याएर हुन्छ वा चेन कुखुरीले हुन्छ, आन्दोलन गरेर हुन्छ वा तोड्फोड् र गालीगलोच् गरेर हुन्छ ।
“विद्याददाति……..ततः सुखम् ।” भन्ने नैतिक शिक्षाले रूप बदलिई सकेको छ । किन कि यो त संस्कृतमा लेखिएको शिक्षा हो । संस्कृत भाषा त मरिसकेको छ । धत् ! मरेको भाषामा लेखेको शिक्षा पनि शिक्षा हो र ? अब त परिवर्तन भइसकेको छ । त्यसैले भाषा मात्र होइन सैद्धान्तिक शिक्षामा पनि परिवर्तन भइसकेको छ । अबको नैतिक शिक्षा त यस्तो भएको छ–
विद्याले हीनता दिन्छ, मुड्कीले पात्र बन्दछ ।
पात्रले धन वर्षन्छ धनले स्वर्ग बन्दछ ।
आजभोलि चलेको शिक्षा यही हो । समय अनुसार चल्न सकेनाँै भने पछि परिन्छ । हेर्नुस् हाम्रा अग्रजहरू कति अगाडि गैसके । हामी जस्ता धेरै नेपालीले विकास गर्न नसकेको कारणै यही हो । आउनुस् अब हामी पनि नेताको अनुशरण गरौँ । हाम्रा नेताजीहरूले सवै नेपालीलाई समान बनाउन कति मेहनत गरेका छन् ? खै हामीले बुझेको ? पढेर मात्र को ठूलो भएको छ र ? मन्त्री बन्नलाई शैक्षिक योग्यता तोकिएको छैन क्यारे ! शिक्षाका प्रमाणपत्र त लोक सेवा आयोगले मात्र हेर्ने न हो ! प्रमाणपत्र आवश्यक परे सीमापारीबाट ल्याए भइहाल्छ । आखिर लेक्चरर बन्न त मुड्की बलियो भए पुग्छ भने पढेर को ठूलो भएको छ र ?
हेर्नुस्, पत्रकार बन्न त ज्ञान, शीप, नैतिकता, इमानदारिता केही चाहिँदैन रे ! अरुलाई के चाहिन्छ ? आउनुस् राजनीतिको पक्ष लिनुस्, तपाईंको समर्थन सबैले गर्छन् । डाक्टर, वकिल, इन्जिनियर सबै पत्रकार बन्न सक्छन् । यत्ति मात्र होइन, आवश्यक प¥यो भने पत्रकार पनि वकिल मात्र होइन डाक्टर र इन्जिनियर बन्न सक्छ । कार्यालय सहयोगीले त हेल्थपोस्ट चलाइराखेका हुन्छन् भने पत्रकार त बुद्धिजीवी प्राणि । हो, पालोको पैँचो, ऋण त तिर्नै पर्छ । आज तपाईंले सहयोग गर्नुभयो भने भोलि तपाईंलाई सहयोग नगरेर हुन्छ र ? कर्मचारीको जुलुसमा पत्रकार र राजनैतिक कार्यकर्ता गएपछि पत्रकारको जुलुसमा कर्मचारी नगएर हुन्छ ?
तपाईंलाई के चाहिएको छ ? तपाईं त्यही पाउन सक्नुहुन्छ । तर तपाईंले के भुल्नुहुन्न भने त्यसलाई तपाईंले अलिकति राजनैतिक जलप लगाउनै पर्छ । आजकाल पित्तलमा सुनको जलप लगाएर बजारमा कस्ता कस्ता गहना आएका छन् ? तपाईंले देख्नुभएकै होला । त्यसैले तपाईंले पनि जलप लगाउन बिर्सनुहुन्न । तर त्यस्तो जलप अरूको लाएर भने हुन्न नि ! राजनीतिकै लगाउनुपर्छ है । धोका खानुहोला नि !
हेर्नुस् राजनीतिमा जे पनि हुनसक्छ । नेपोलियनले कुनै कुराको असम्भव नदेखे जस्तै राजनीतिमा असम्भव भन्ने कुनै कुरा हुन्न । राजनीति भनेको जे पनि बोल्न पाइने र जे पनि गर्न पाइने पवित्र स्थल हो । वागमतीमा लगेर ढल सोझ्याइदिए पनि भयो, पवित्र गङ्गा सम्झेर डुबुल्की मारे पनि भयो । राजनीति पनि त्यस्तै हो । जनतासित नजिक पर्न डर लाग्यो भने चुनावको कुरा ढोँग हो, हामी चुनावमा जान्नौँ, भन्न पनि पाइन्छ । सोभैm संसद् गठन गरेर आन्दोलन गर्न पनि पाइन्छ । योभन्दा सजिलो पेसा अरु के हुनसक्छ ?
हेर्नुस् आज राजनीतिमा नलाग्ने को छ ? यो प्रजातन्त्र मात्र होइन गणतन्त्र समेतको देन छ यसमा । अस्पतालमा छट्पटाइरहेको विरामी छोडेर डाक्टर साहबहरू त्यसै निजी क्लिनिकमा गएका हुन्छन् र ? सरकारलाई राजस्व बुझाउन आएको मानिसलाई पर्खाएर कर्मचारी आन्दोलनमा भाग लिन किन सडकमा पुगेका थिए ? उनीहरूको पनि त हक छ, अधिकार छ । के कर्मचारीले राजनीति नगर्नु भन्ने छ र ? बीच सडकमा गाडी पार्किङ गर्न नपाए सडक जाम गर्न हुन्छ भने कर्मचारीले राजनीति गर्न किन नपाउने ? प्रजातन्त्र भनेको यही त हो । आपूmखुसी गर्न नपाए केको प्रजातन्त्र ? त्यसैले आउनुस् प्रजातन्त्रलाई धन्यवाद दिउँ र आफ्नो अधिकार प्रयोग गरौं । लोकतन्त्र, गणतन्त्र सबैलाई बलियो बनाऊँ ।
धुम्बाराही– ४, काठमाडाैं
२०७० कार्तिक १५ गते
Subscribe
Login
0 Comments
Oldest








































