नरनाथ लुइँटेलके सक्कली, के नक्कली ?
‘तान्न त लहरो तान्या थियो, तर पहरो पो गर्जियो ।’ यो लहरो उस्तो हो कि, पहरोको गर्जन उस्तो हो ठेगान नै भएन । एकपटक गुरुरुरु गर्जिएर थामपुर भएको भए पनि त हुन्थ्यो नि, गर्जेकोे गज्र्यै छ । संस्थान, वैंक, विभाग, विद्यालय जताततै यसैको थर्कोले थर्कमान ¹ बाफरे–बाफ, हैन यो के झ्याउलो आइलागेको हो बेला न कुबेला । ‘सबै कुरा छोडी पुच्छरमा हात’ भने झैं नक्कली कुरैैले सक्कली संसार पिटिरहेको वास्ता छैन, जाबो नक्कली सर्टिफिकेटको यत्रो होहल्ला ? ! सक्कली र नक्कली छुट्याउनका निम्ति तीनतीनवटा छानविन समिति रे ! भर्र्सेलामै परोस् यो छानविन पनि ! पुलिस समेत नक्कली बनेर राजधानीमै लाखौँ लुटिसक्यो र पनि पत्तो लाउन सक्या हैन । हजार हजारका नक्कली नोट बनाएर राष्ट्र बैङ्कलाई लाखौँको नोक्सान पु¥याइसक्यो र पनि नियन्त्रण गर्न सक्या हैन । सक्कली डाक्टरले नै नक्कली क्लिनिक मार्फत् सुरुसुरु नगद झारिहेछन्, दर्जनौँ बिरामीलाई अकालमै खुरुखुरु मारिरहेछन्, त्यसको रोकथामतिर कसैको ध्यान पुगेको छैन । ‘सबै कुरा छोडी पुच्छरमा हात’ भनेकै यही हो । जाबो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो कि सक्कली हो भनी छानविन गर्ने ! दही जमाउने ठेकीमा टम्म लागेको बिर्को झैँ बुद्धिमा यसरी बिर्को लागेको देख्दा मलाई भने उदेकै पो लाग्या छ त गाँठे ।
यो लखरठ्याकको विचारमा ‘…लाईभन्दा देख्नेलाई लाज’ भइसक्यो । लौन ¹ भन्या, ढलमती र मलमतीको भन्दा बढी दुर्गन्ध आइसक्यो । कृपया भो अब यसलाई नचलाऊँ । छानविनको नौट्ङकी नाटक रची यो दुर्गन्ध उधिनेर अझ छ्याल्लब्याल्ल नपारौँ । झन् बढ्ता लाज हुँदैजान्छ, झन् बढ्ता गनाउँदै जान्छ । होइन, हामीकहाँ फेरि के पो सक्कली छ र भन्या ? मान्छे सक्कली छैन । भान्छे सक्कली छैन । मालको कुरा के गर्ने, दाल सक्कली पाइँदैन । जाबो तेलको कुरा छाड्नुस् जेल सक्कली छैन, (सक्कली भइदिएको भए सुरुङ खनीखनी कैदी बन्दी सुइँकुच्चा ठोक्न सक्थे त ?) व्यापारीले नाफा लुट्ने गरेको रासन नक्कली भयो भनी किन चित्त दुखाउनु, हाम्रा भाग्यविधाता नेताको भासन सक्कली छैन । बसेको दुईचार महिना हुन नपाई डग्मगाउन थाल्ने मन्त्री र प्रधानमन्त्रीको आसन सक्कली देखिँदैन । हाम्रो मुलुकमा झण्डै चार दर्जन त वहालवाला मन्त्री हुने गरेका छन्, उनीहरू यो देशका जोकर हुन् कि विदेशका नोकर हुन् छुट्याउन सकिँदैन । गौतम बुद्ध जन्मेको लुम्विनी हाम्रै हो भनी नाक ठाडो पार्दापार्दै बोर्डर पारी अर्को लुम्विनी बनिसक्यो । हेर्दै जानुहोस् न तपाईं, भारती भाइले अर्को सगरमाथा उतै ठड्याउन बेर छैन ।
विदेशी मल हाल्दाहाल्दा यो देशको माटो नक्कली बनिसक्यो । विदेशकै औषधि खाँदाखाँदा अब त हाम्रो मुटु नै नक्कली बनिसक्यो । लौ, अब भन्नोस् त, नक्कली माटोको उब्जनी सक्कली खोजेर पाइन्छ ? तपाईं आफैं सोच्नोस् न, जब मुटु नै नक्कली छ भने ढुकढुकीको अनुभूति सक्कली खोजेर कहाँ भेटिन्छ ? हाम्रा गाउँघरका पणितले मात्र होइन अब त विज्ञान चलाउने गणितले समेत फेल खाइसक्यो । दुई दुना चार हुँदैन, अब सत्रै हुन्छ । तीन दुना छ भन्ने लठुवा अब अलपत्रै पर्छ । सक्कली कुरो यही हो, यसैको चुरो समाते भैगो । अनि बिनाबित्थामा भालुलाई बन्दुक पड्काए जसरी ‘नक्कली प्रमाणपत्र’को डङ्का पिट्नु र पिटाउनुमा केको तुक छ, अनि के तर्क छ हँँ ? यो त विलकुल बेतुकी कुरा हो । यो लखरठ्याकले यसलाई त अफवाहको रूपमा मात्रै लिएको छ । जुन प्रमाणपत्रलाई भ¥याङ बनाएर एउटा मुलङ्खरे अधिकृत बडो ठाँटबाँटका साथ सचिवसम्म पुगिसकेको छ, अहिले आएर उसको प्रमाणपत्रलाई नक्कली भन्न कुन नैतिकताले दिन्छ ? अहिले आएर यसो भन्न पाइँदै पाइन्न । यदि उसको त्यो प्रमाणपत्र नक्कली नै थियो भने त्यही पेश गरेर खाएको जागिरमै उसको केश पाक्यो कसरी ? यदि त्यो नक्कली नै थियो भने यत्ना वर्षसम्म भद्रो हेरेर बस्ने चाँहि को थियो हँ ? लौन, कसलाई सोध्ने– यसरी भद्रो हेर्ने महासय सक्कली थियो कि नक्कली ? हैन भने ‘भदौमा आँखा फुटेको…’ गोरुले लगाउने चस्मा पो लगाउनुभएको थियो कि उहाँले ?
हेर्ने कुराको प्रसङ्ग आएपछि आँखाको छानविन हुनुपर्छ पहिले । तपाईं भन्नुहोला आँखा त नक्कली हुने चान्सै छैन, किनभने नक्कली आँखाले हेर्नै सक्दैन, हेर्न खोजे पनि केही देख्दैदेख्दैन । म भन्छु– यही भ्रममा तपाई चुर्लुम्म डुब्नु भएको छ । सक्कली आँखाले देख्न छोड्यो अब । नक्कली आँखाले हेर्दा मात्रै सक्कली कुरो देखिन्छ । आँखाको रेटिनामा आएको यो नवीनतम् परिवर्तन हो । कुहेर फतक्क भएको आलु होस् या खोइरो लागेर अरठ्ठ परेको पिँडालु होस्– नक्कली आँखाले हेरेपछि त्यो स्वादिलो तरकारी नै देखिन्छ, त्यसपछि न त खाँदा कोक्याउँछ, न त घाँटी नै खसखसाउँछ । शरीर विज्ञानका बडेबडे विज्ञ–विद्वान्, डाक्टरहरू चकित हुँदैछन्– मानिसका आँखामा आएको यो अस्वाभाविक परिवर्तन देखेर । आँखाले जब नक्कली मात्रै देख्छ, अनि संसारको सृष्टिक्रमले पल्टा खाने नै भयो । आकाश चाहिँ पाताल हुने भयो र पाताल चाहिँ आकाश हुने भयो । मान्छे पशु देखिने भयो र पशु चाहिँ मान्छे देखिने भयो । मुर्ख चाहिँ सज्जन बन्ने र सज्जन भने महामुर्ख बन्नु स्वाभाविक हुने भयो । यसरी उल्टोलाई सुल्टो र सुल्टोलाई उल्टो नदेखीकन आजको विश्व बुझ्नै सकिन्न अब । होस् गर्नुहोस् है तपाईंको आँखाको अवस्था कस्तो छ । यदि सक्कली छ भने तपाईं भ्रम शिवाय केही देख्नुहुन्न, त्यस्तो रोगी आँखा लिएर नबस्नोस्, तुरुन्तै तिलगङ्गा या त्रिपुरेश्वरमा गएर तपाईं आफ्नो आँखाको रेटिना बदली हाल्नोस् ।
अँ, नक्कली प्रमाणपत्रको कुरा हुँदै थियो नक्कली आँखातिर अन्भरिएछु म ता ¹ धन्दा नमाने हुन्छ कुरो नक्कलीकै हो । जहाँसम्म नक्कली प्रमाणपत्र सम्बन्धी हौवाको सवाल छ, यो सोह्रैआना बेफ्वाँकको कुरा हो । यसरी बेफ्वाँकै हो भनी ठोकुवा गर्न यो लखरठ्याकसँग ठोसै आधारहरू छन् । पचास हज्जार जति प्रमाणपत्र नक्कली हुनसक्ने जुन आरोप लगाइएको छ, यो तिनै नक्कली आँखा बिनाका मुढाग्रहीहरूले लगाएको फत्तुर मात्रै हो । नपत्याए उनीहरूकै आँखाको पहिले छानविन गर्नोस् त, तुरुन्तै पत्ता लागिहाल्छ । “सिमानापारिबाट ल्याएका जति नक्कली होलान् नि त” भनेर चित्त बुझाउने ठाउँ पनि छैन, बल्खुवारिकै पनि कतिपय प्रमाणपत्र सक्कली नभेटिनुको तथ्यले आफैं यो कुराका खण्डन गरिरहेको छ । ह्याचरीमा पालेको पोथीले फुल पारे झैं हजारौँ हजारको सङ्ख्यामा नक्कली प्रमाणपत्ररूपी फुल पार्ने ‘पोथीहरू’को सङ्ख्या पनि सानो अवश्य नै छैन होला । अनि त्यस्तो अवैध फुल पार्ने एउटा पनि ‘पोथी’ पक्राउ परेको जानकारी कमसेकम यो लखरठ्याकले आजसम्म पाएको छैन । सुनिंदैछ बरु बेलाबेला उनीहरूलाई पोषिलो दाना ख्वाउने व्यवस्था गरिन्छ रे ¹ अवैध फुल पार्ने ‘पोथी’ लाई पोषिलो दाना ख्वाएर यसरी आनन्दसँग पाल्ने, अनि उनीहरूद्वारा पारिएका फूलहरूलाई चाहिँ वैध र अवैध भनी छानविन गर्ने हौवा पिटाउने ? सब फजूल, वाइयात, बकम्फुस ¹
त्यसो भए अब के गर्ने त ? यो लखरठ्याकको दिमागमा एउटा गज्जबको बुद्धि फुरेको छ । आखिर यो पनि लारेलुरे लठुवा होइन क्यारे, खाँटी बुद्धिजीवी न ठह¥यो । त्यसैले फुरेको बुद्धि पोको पारेर एकथान सुझाव पेश गर्दैछु, सम्बन्धित निकाय, विभाग वा फाँटले ग्रहण गरे हुन्छ, शुल्क लाग्दैन । सर्वप्रथम नक्कली भन्ने शब्दलाई सबै नेपाली शब्दकोशबाटै झिकिदिनु पर्छ । शब्दै झिकेपछि ‘न रह्यो बाँस, न बज्यो बाँसुरी ।’ त्यसपछि ‘नक्कली प्रमाणपत्र’ को अफवाहलाई प्रभावकारी ढङ्गले रोकथाम गर्न सरकारले वारिपारि जतासुकैबाट आएका वा ल्याइएका सबै प्रमाणपत्रहरू सक्कली हुन् भन्ने व्यहोराको एउटा ‘श्वेतपत्र’ जारी गर्नुपर्छ । यसरी अवैध प्रमाणपत्रलाई वैध बनाइसकेपछि त्यस किसिमका प्रमाणपत्र कोरल्ने प्रक्रियालाई एउटा नयाँ उद्योगकै रूपमा व्यवस्थित गर्नुपर्छ । यसको स्थायी वैधताका निम्ति “सक्कली प्रमाणपत्र उद्योग” नामकरण गर्नु सर्वथा उपयुक्त हुनेछ । यस किसिमको उद्योगलाई अरु इनेगिने उद्योगलाई लगाएभन्दा बढी नै कर लगाउँदा पनि फरक पर्दैन । यस किसिमको उद्योग मार्फत् एकैसाथ हजारांैँ बेरोजगारहरूले रोजगारको अवसर पनि पाउनेछन् अनि कर बापत वर्तमान सङ्कटग्रस्त राजस्वमा पनि उल्लेखनीय वृद्धि हुनेछ । लौ भन्नुस् त, देशलाई दोहोरो फाइदा भएन त ?
‘वैद्यको आफ्नै गलगाँड, ज्योतिषीकै छोरी राँड !’ अरुलाई बुद्धि बाँड्न सजिलो हुन्छ तर आफ्नो व्यावहारिक माम्लो अर्कै छ । यो लखर्ठ्याकले पनि भोकैतिर्खै लुखुरलुखुर क्याम्पस धाएर केही प्रमाणपत्रहरू प्राप्त गरेको थियो । नक्कली प्रमाणपत्रको कोकोहोलो मच्चिन थालेदेखि अर्को भुटभुटी शुरु भएको छ । नक्कली जति सिमानापारिका त होलान् भनेर मन बुझाउँदै थिएँ, लौ बल्खुवारिकै पनि नक्कली छन् रे भन्ने बुइँबुइँ चल्न थालेपछि भने मेरै हंशले पनि ठाउँ छोड्यो । बल्खुको आधिकारिक कार्यालयबाटै प्रदान गरिएको एम.ए.को मेरो प्रमाणपत्र सक्कली नै होला कि नक्कली चाहिँ प¥यो ? नाम, नम्बर, थर ठेगाना, बल्खु कार्यालयको छाप र नियन्त्रकको दस्तखत त सबै दुरुस्त देखिन्छ । आजै मात्र पनि कन्तुरबाट झिकेर तीनतीन पटक ओर्काइफर्काई हेरिसक्यो लखर्ठ्याकले तर सक्कली हो या नक्कली हो भनेर कुनै भेउ पाउन सकेन । अब भन्नुहोस् जब मेरै प्रमाणपत्र सक्कली हो कि नक्कली हो भनेर म आफैंले छुट्याउन नसक्ने अवस्था आइसक्यो । अनि यी अनमनीका छानविन समिति र छानविन कार्यदलले छुट्याउँछन् कसरी ?
यसर्थ पनि लखरठ्याकको सुझाव सोह्रैआना मनासिव छ । कृपया, भो अब यसलाई नचलाऊँ । छानविनको नौट्ङकी नाटक रची यो दुर्गन्ध उधिनेर अझ छ्याल्लब्याल्ल नपारौं । झन् बढ्ता लाज हुँदैजान्छ, झन् बढ्ता गनाउँदै जान्छ ।
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































