प्रकाशमणि दहालसुन्दर कुरूप भए पनि, कुरूप सुन्दर भए पनि
त्यस दिन, माईधारको त्यो पिकनिक स्थलमा, गजल वाचनक्रममा, जब एउटा नाम बोलाइयो ‘अब म आफ्नो गजल पस्किन सुन्दर कुरूपज्यूलाई आमन्त्रण गर्दछु’, शब्द झरिनसत्तैm सिरिङ्ग भयो शरीर, ठाठाडा भए कान र तिखार्रिएर घुमे नजर त्यस सुन्दर कुरूप नामधारी गजलकारलाई देख्न । हुन त त्यस्तो हतारो वा चनाखो गर्नै किन पथ्र्यो र जब उनी आमन्त्रित नै भैसकेका थिए । तर त्यस भेगका साहित्यकारहरूसँग प्रथमपल्टको साक्षात्कार भएकाले जुनै नाम बोलाउँदा पनि खुलदुलीकारक नै हुन्थ्यो । झन् नौला–अनौठा नाम सुन्दा त (स्त्रीलिङ्गीको त नअनौठै भए पनि) स्वतः कान ठडिनु, आँखा तन्किनु र मन हतारिनु सायद मानव स्वभाव नै भएपछि मचाहिँ (मानव नै भएकाले ?) अपवाद हुने कुरै कहाँ आउँथ्यो ?
त्यसभन्दा अगि नै मन उत्सुक्किसकेको थियो एकपल्ट अभागी थेगुवा भन्ने नाम सुनेर । यसमा थेगुवा होइन अभागीलेचाहिँ त्यस्तो उत्सुक पारेको थियो किनकि हाम्रो चलनमा नामको पछिल्लो भाग प्रायः थरसूचक हुन्छ र खासखास थर खासखास जातिमा हुने हुँदा त्यसले जात बोध गराइहाल्छ । त्यसबाहेक शारीरिक स्वरूप, लवाइ र बोलाइले पनि धेरथोर जाति परिचय गराउँछ । त्यसैले ती मध्यम कदका तीस–पैँतीसे मङ्गोल अनुहारका युवक लिम्बू (नभए राई) हुनुपर्छ भन्ने बोध भैसकेको थियो उनी माइकमा आइनपुगी नै ।
हो, राई, लिम्बू, मगर आदि नेपालका विभिन्न जातिका थरको शब्द चिनारी भए पनि अर्थ नजानिरहेको र खोजिगरिनरहेको वा खोजी गरेर साध्य नभैरहेर होला त्यत्तिकै मानेर चलिरहने गरेको कुरा बानी परेको एउटा सर्वविदित सामान्य सत्य हो । जस्तो मेरा चाम्लिङ थरका एक राई साथी हुनुहुन्छ, नर्मल तालिमका बेला हामी घनिष्ठ थियौँ । भेट नभएको करीब पचास वर्ष भयो । तैपनि यही राजधानीको भीडमा कहिलेकाहीँ सर्लक्कै देखिनुहुन्छ सामान्यभन्दा अग्लो–गतिलो भएकाले । अर्का राई साथी हुनुहुन्थ्यो रणकुमार साम्पाङ (कतै त साङपाङ पनि सुनिन्छ उही कतै पोख्रेल कतै पोखरेल वा कतै न्यौपाने कतै नेउपाने भएजस्तै होला सायद), तर राई नै लेख्नुहुन्थ्यो । –हुन्थ्यो किनकि उहाँले चाँडै नै लामो बाटोको टिकट काटिहाल्नुभयो । गदा पच्चीसे हुँदा, करीब पैँतालीस वर्षअगि उग्रक्रान्तिकारी भएको आरोपमा शान्तिसुरक्षा कानूनअन्तर्गत ९ महिना मामाघर बसेर पुनर्जन्मिएका हामी जुम्ल्याहा । तैपनि न एक दिन चाम्लिङ वा साम्पाङको अर्थ सोध्ने होस आयो न कहीँ अर्थ खुल्ने प्रसङग प¥यो, त्यत्तिकै चल्यो । तब त भन्छु यो नजानीकनै पनि आनन्दले चलेको छ लिम्बूको मेयाङ्बो, खजुम, साँवा, मादेन, नेम्वाङ, लावती, सौम्यहाङ्फे, तुम्बाहाङ्फे आदिको अर्थ वा मगरको पुलामी, दर्लामी, क्याप्छाकी, बल्मपखी, सारु, सिँजाली, गुर्वछान, पूर्वछान, राना आदि वा तामाङको मोक्तान, घिसिङ, वाइबा, तितुङ, ठोकर, बल, पाख्रिन, योन्जन आदि वा नेवारको श्रेष्ठ, महर्जन, बज्राचार्य, कर्माचार्य, लवट, राजभण्डारी, कर्णिकार, मानन्धर, डङ्गोल आदि वा खसबाहुनको घिमिरे, अधिकारी, खुलाल, बराल, बस्नेत, पोखरेल, कट्टेल, दहाल, नेपाल आदि आदि आदि चलेजस्तै । सायद बानी परेपछि जे पनि स्वभाविकै लाग्नु पनि मानवीय स्वभावै हो क्यारे । पच्चीस÷तीस वर्षअगि जोरपाटी÷बौद्धबाट मानिस हिँडेरै चाबेलमात्र होइन शहर (नयाँसडक) आउनु/जानु स्वाभाविक मान्थे जसरी अचेल टुसालबाट पाँचमिनेटमा पुगिने बौद्ध वा दशमिनेटमा पुगिने पिपलबोट वा पन्ध्रमिनेटमा पुगिने जोरपाटी जान मौकामा एकघन्टा बस पर्खेर पन्ध्र रुपिया तिर्न स्वाभाविक लाग्छ । अलिकति पैसा खर्च गर्न सकिन्छ भने अथवा ठाउँमा आफ्ना मान्छे छन् भने जे गरे पनि कानूनले नछुने बानी परिसकेपछि हेप्ता नहेपिने ठिनेमिनेलाई बोक्सी/बोक्साको बात लगाएर बेस्सरी कुटे पनि, मारे पनि स्वभाविकै लाग्छ । स्कुल नगै तलब खाने बानीपरेपछि, मिहिनेत पूर्वक नपढाई/नपढी चिटचोराउने/चोर्ने बानी परेपछि सबैथोक स्वभाविक लाग्छ । हुँदाहुँदा नेताहरूलाई पहिले गाली खाने बानी परेर सामान्य थियो, पछि त थप्पड पनि सामान्य भयो ।
त्यसैकारण ती साथीको नामसँग आएको थेगुवासँग खासै मतलबै लागेन जति लाग्यो अभागीसँग कारण उनी त्यस शब्दको सामान्यार्थले स्वभावतः मनमा उप्जाउने स्वरूपजस्ता थिएनन् । अर्थात् दुब्लोपातलो, दारीजुँगाले छोपेको, मैलो, अँध्यारो र रुन्चे अनुहार, सस्ता कपडाले मुस्किलले नाङ्गो ढाकेको, केही डराएको वा शर्माएको वा हतासिएको भावमा केही निहुरिएको ढाँचा र दबिएको बोलीको सट्टा सबैथोकमा विपरीत थिए, कुनै अर्थमा पनि अभागी लाग्दैनलाग्ने । हुन त देखिएको मात्र सत्य हुँदैन भन्ने उखानै छ र मानिसको त पियाजको पत्रजस्तै जीवनका पत्रैपत्रै हुन्छन् अरे । तब त होला भन्ने गरेको : ‘मान्छे कुहेको र फर्सी कुहेको बाहिरबाट देखेर थाहा पाइँदैन ।’ अतः उनको अभागी पत्र पनि होला कुनै तहमा, यस्तै लाग्यो, कम्तीमा उनले त्यस्तो नाम मनपराएपछि हामीले पनि त्यति त मान्दिनैप¥यो । त्यस्तैत्यस्तै होला हाम्रा भित्ते राष्ट्रपति कति कुहेका रहेछन् भन्ने फर्सी फुटेपछि मात्रै थाहा पाइनुको यथार्थ पनि !
त्यसो त अभागी नाम वा उपनाम कम लोकप्रियचाहिँ हुँदैन । यहाँ काठमाडौँमा पनि हुनुहुन्छ एकजना अभागी उपनामधारी साथी र वहाँ पनि रौसे गजलकार र उस्तै कतैबाट पनि अभागी नलाग्ने । मोटरबाइकमा पछाडि श्रीमती सहित सुटबुट घडीछडी (छडीचाहिँ त लोली मिलाएको मात्र हो भत्तासत्ताको सत्ताजस्तै तर दुवैको सत्ता करीब सँगसँगै नै हुन्छ है हुन त !)सहित गगल्स लगाएर सररर्रर्र हिँडेका बेला कतिले ईष्र्या गर्दाहुन् (मैलेबाहेक) ‘त्यस्तो खाले अभागी त हामी पनि हुनपाए कस्तो हुन्थ्यो’ भनेर ! तब त पालो परेका बेला मैले भन्ने गरेको छु ‘अब आफ्नो जोरदार भावपूर्ण गजल लिएर आउँदैहुनुहुन्छ अभागी उपनाम मनपराउने भाग्मानी गजलकार राजेशकृष्ण मानन्धर अभागी !’
तर कुरा अलिक बरालियो सायद, तर थोरैमात्र । तैपनि दुईवर्षमै घर पुग्नुपर्ने संविधान बाटैमा बरालिएर अर्को चारवर्षमा पनि नपुगेजस्तो तेब्बर बरालिएको चाहिँ होइन (तर उसको के कुरा ? ऊ त अर्को चार वर्ष पनि बरालिन रहराएजस्तै छ भन्छन् मान्छेहरू !) । हुन त बाटैमा बरालिने र कहिल्यै टुङ्गामा नपुग्ने सायद हाम्रो देशको पहिचान नै हो कतै गैरहनु नपर्ने सगरमाथा, बुद्ध र खुकुरीको नामबाहेक । तब त शान्ति तथा पुनस्थापना आयोग अलमल आयोग भएर र सत्यनिरूपण तथा मेलमिलाप आयोग आफैं झुट्टो र बेमेल भएर बराल्लिएको बराल्लिएकै छन् ६ वर्षदेखि, काठमाडौँको चाल्नाखेल हुँदै निजगढ हिँडेको फास्ट ट्र्याक स्लोएस्ट ट्र्याक भएर निरन्तर बराल्लिएको जस्तै । अस्ति टिभीले भन्दैथियो कति हजार कति सय भ्रष्टाचारका मुद्दा बराल्लिएर फाइलमै हराइराखेका छन् अरे । त्यसैले पन्चैबाजाका छेउमा सारङ्गीको ¥याइँ¥याईं भनेझैं बरालिन्नेका यस्तायस्ता महान् उपमाहरूका ताँतीमा जाबो लेखमा भएको प्रसङ्गको अलिइइइइकति बरालिनु कुनै आकाश खस्नु होइन न पोखरामाजस्तो पृथ्वी भासिनु नै हो ।
कुरा थियो अनौठो वा विशेष नाम, अझ उपनामको । नाम, उपनामका कारण आफू वा अरूलाई कति प्रभाव पर्छ ? मान्छे ‘नामै प्रकाश भएपछि के बत्ती बालिरहनु पर्छ र ?’ अथवा ‘जसको नामै दौलतसिंह उसलाई केको अभाव ?’ भनिदिन्छन् तर नाम प्रकाश भएर पनि अँध्यारो भएपछि बत्ती नबाली हुँदैन न नाम दौलतसिंह हुँदैमा मान्छे निरभाव हुन्छ । अझ यो किस्साअनुसार त नाम र वास्तविकताबीच आकाश–जमीन फरक हुने देखिन्छ : सन्तान नरहेर हैरान एक दम्पतीले पछिल्लो सन्तानको नाम उसलाई कसैको आँखा नलागोस् भनेर ठटपाल राखिदिएछन् । (केटाकेटीलाई काले, काली, भुन्टे, भुन्टीजस्ता नराम्रा नाम राख्ने चलन सर्वविदितै छ यही भूतप्रेत, बोक्सीडाइनी कसैको आँखा नलागोस् भनेर ।) ठटपाल बाँचेछ, स्कुल हाल्दिएछन् र साथीहरूमा निकै अगिसरा पनि हुँदैआएछ । साथीहरूले उसलाई हेप्ने होच्याउने केही नभेटेर त्यही नाम बिगारेर ठूटे/ठूटे भन्न थालेछन् । उसलाई नराम्रो लाग्नु स्वभाविक थियो । गुरुसँग नाम बद्लिमाग्दा पहिले त जे नाम भए पनि केही फरक नपर्ने भनेर सम्झाएको उसले मानेनछ । अन्त्यमा फेरिफेरि पनि बदल्न माग्ला भनेर आफैं नाम खोजेर ले भनेछन् । नाम खोज्न जाँदा पहिलो मान्छे भेटेछ एउटी युवती खेतमा सिला खोजिरहेकी । नाम रहेछ लक्ष्मी । लक्ष्मीले शिला खोजेको देख्दा अचम्भित हुँदै अगि बढ्दा मरीमरी हलो जोतिरहेको मान्छे भेटेछ । उसको नाम रहेछ धनपाल । त्यो पनि अनौठै लागेछ । अलिक अगाडि पुग्दा लास लिएर मलामी आउँदैरहेछन् । सोद्धा अमरनाथ बाजे मरेकारहेछन् । झन् चकित भएको ठटपाल फर्किएछ । भोलिपल्ट गुरुले सोद्धा उसले भनेछ—‘शिला खोज्छिन् भने लक्ष्मी र हलो जोत्छन् धनपाल÷सागर जान्छन् अमरनाथ मरी भने ठीकै छ गुरु, ठटपाल !’
घुमिफिरी उही नाममेँ क्या रक्खा है ? मै पुग्यो कुरा । तर सुन्दर कुरूप बडा अर्थपूर्ण लाग्छ किनभने सुन्दर भए कसरी कुरूप हुन्छ कुरूप कसरी सुन्दर हुन्छ ? यी दुई विरोधार्थी शब्द हुन् भने एकै ठाउँमा कसरी हुन्छन् ? वैयाकरणीय दृष्टिले हेर्दा यहाँ कुरूप नाम र सुन्दर त्यसको विशेषण भएका छन् । अर्थात् यस्तो कुरूप जो सुन्दर छ । त्यसो भए के कुरूप सुन्दर पनि हुनसक्छ ? यहाँ मनको सुन्दर, कामको सुन्दर भन्ने भनाइ सम्झिनु पर्नेहुन्छ । रूप चाटेर पेट भर्दैन, छालाको सुन्दरताले के गर्नु भन्ने गरिन्छ प्रायः देख्दा राम्रो तर काम, सीप, आर्जन, बोलिवचनमा राम्रो नभएको वा झगडालु, अल्छी, बेइमान मान्छेलाई । ‘देख्दाको डाल ढिँडाको काल’ पनि यसैको नजिक आउँछ । अनुहार र जीउडालले सुन्दर युवक÷ती यौन विचलनले आफ्नो जोडीलाई हैरान गर्नेमा निकै बदनाम हुन्छन् । यसको कारण सुन्दरताका कारण ऊनीप्रति सजिलै लहसिदिने, कहिले त दवाब, प्रभाव र मौकामा जबर्जस्तीसमेत गर्ने/भोग्ने एउटा जानेकै सत्य हो । यसैलाई त भन्छन् ‘रूपै वैरी ।’
यस हिसाबले हेर्दा गजलको ‘चिटिक्क पर्छ ठूल्ठूला गफ गर्छ कडकड हात्ती चपाउँछ/स्वाङ नायकको पार्छ तर खलनायक बन्न छोड्दैन’ भन्ने यो सेरमा भनेजस्तै रातापीरा, चिटिक्क परेर, हजारौँका सूट लगाएर, लाखौँको नमस्ते खाँदै, करोडौँका गाडीमा सयर गर्ने तर काम भने काम अलमल्याइरहने बाहेक फिटिक्क सिन्को नभाँच्ने हाम्रो देशका खाले नेताहरू पनि यही वर्गमा पर्ने देखिन्छ ।
प्राचीन ग्रीसेली चिन्तक सोक्रेटस कुरूप थिए अरे । अर्थात् सुन्दर थिएनन् अरे अचेलका फिल्मी वा राजनैतिक नायकजस्ता । तब उनकी स्वास्नीले समेत हेपेर टोकसो लगाइरहन्थिन् अरे । तर उनको चिन्तन, सोच र व्यवहारका निमित्त संसार ऋणी रहेको सर्वविदित छ । यही कुरा लागु हुन्छ ऋषि अष्टावक्रका सन्दर्भमा पनि । मानवताका पुजारी मानवीय एकताका नायक अब्राहम लिंकन पनि रूपका सुन्दरचाहिँ थिएनन् अरे । अनि हाम्रा बीपी कोइराला, देवकोटा, भानुभक्तचाहिँ मन तथा कामका पनि रूपका पनि सुन्दर थिए अरे सुन पनि सुगन्ध पनि एकै ठाउँमा भएजस्तै । तर त्यस्तो बिरलै हुन्छ जसलाई जनाउन ‘सुनमा सुगन्ध’ भनिन्छ । तर रूप र काम सुन्दर भए पनि यी तीनै जनाले खाएको गोताचाहिँ निकै कुरूप रहेको सत्य हो ।
यस आलेखको प्रसङ्ग सुरु गराउने सुन्दर कुरूप पनि तीस आसपासका सुन्दर मङ्गोल युवक थिए र उनको गजल पनि निकै चोटलो थियो र साथीभाइको थप्पडी र पछिको ह्यान्सेक हेर्दा उनी मित्रप्रिय नै लाग्थे भलै भरे भेटेर सोझो परिचय गर्नचाहिँ त्यत्तिकै भयो । यस हिसाबले उनी सुन्दर कुरूप नभएर सुन्दर सुन्दर नै लागे तर उही, भित्री कुराचाहिँ कि रामलाई नै थाहा होला कि उनका छिमेकीलाई नै ।
त्यसो त मन वा व्यवहारको सुन्दरता र देख्ताको सुन्दर रूप, चिप्लो बोलीबीचको यो द्वन्दभाव कहिल्यै सकिँदैन । यो पनि सर्वहारा र बुर्जुवा वा नारी र पुरषबीच चलिरहने शाश्वत विवादजस्तै हो सायद ।
के यसलाई उल्टाएर कुरूप सुन्दर पनि बनाउन सकिन्छ ? यो खाले समासन भने औपचारिक चलनमा देखिँदैन । मान्छेको जात सुन्दरताका पछिमात्रै कुद्ने भएकाले होला । तर यो झन् धेरै हुन्छ सायद यथार्थमाचाहिँ । कारण सबैजसो मान्छे सुन्दरै त हुन्छन् नि देख्नमा । सिनेमाका खलनायक/नायिकाहरू कम सुन्दरी हुँदैनन् तर असली नायक÷यिकालाई सताउनसम्म सताउँछन् र दर्शकबाट खानसम्म गाली खान्छन्, सरापिन्छन् । त्यस्तै दुनियाँलाई पेलेर मनोमानी गर्ने गुन्डा, दादा, डन आदि भनिने र देशभक्तिका नाममा, मानवताका नाममा तिनीहरूलाई पालेर, मौकामा अपहरणदेखि लूट र हत्याको साम्राज्य चलाइरहने एकमुट्ठी महामहिमहरू पनि कम सुन्दर हुँदैनन् गजलको यी सेरमा भनेजस्तै : बुटवल पु¥याइसक्यो बीर्तामोड हिँडेको भन्न छोड्दैन/घाँटीसम्मै डुबाइसक्यो तैपनि खाडल खन्न छोड्दैन ।
तर कुरूप सुन्दर वा सुन्दर कुरूप दुवै संरचनाले यो यथार्थ व्यक्त गर्छन् बाहुन काठो भने पनि काठो बाहुन भने पनि कुरा एउटै भएजस्तै । अर्थात् स्वरूप सुन्दर भए पनि मति कुरूप हुनु र कुरूप मति भएको सुन्दर स्वरूप एउटै कुरा हो । मेरी प्यारी, तिमी मेरी रानी म तिम्रो सेवक भन्दै लगे पनि, हातखुट्टा बाँधेर, मुखमा पट्टी लगाएर वा क्लोरोफर्मसर्मका बलमा बेहोस पारेर पूरा अपहरण शैलीमा लगे पनि कोठीमा पु¥याएर बेच्नु भनेको एउटै कुरा हो प्रचण्ड शैलीमा थर्काए पनि सुशील शैलीमा चिप्ल्याए पनि बार वर्ष रामायण पढ्यो सीता कसकी जोइ भनेजस्तै ।
त्यसैले एउटै कामना के रहन्छ सर्वसम्मत भने (हाम्रो प्रचलित उच्चस्तरीय राजनैतिक संयन्त्रको काम गर्ने सम्बन्धी नभएर खानेसम्बन्धी खाले सर्वसम्मतजस्तो चाहिँ)सकेसम्म रूप पनि काम वा मति पनि सुन्दर होस्, कथं रूप सुन्दर नभैगए पनि काम वा मतिचाहिँ वास्तवमै सुन्दर भैदेओस् यसरी कामना गर्दैमा भैदिने भए । हुन त सोझो औँलाले कामना गरेको हजारौँ वर्ष भैसक्यो, हालत उस्तै छ, त्यो अर्को कुरा । तर पशुपतिका देशमा निरन्तर कामना गर्नुबाहेक बिकल्प नै के छ र !
जोरपाटी, काठमाडौं
prakashmanidahal@gmail.com
Subscribe
Login
0 Comments
Oldest







































