जीवन खत्रीसहारा
आफ्नै अनुहार हेर्न पनि
चाहिने रहेछ, ऐना
ओ, साथी
एक्लै–एक्लै दगुरिरहेछौ, कहाँसम्मका लागि ?
दौडेर एक्लै पहिरिनु छ, कुन विजयको माला ?
एक्लै चढेर, चुम्नु छ कत्रो उचाइ ?
वा देखाउनु छ कसलाई ? साहसको हिमाल
केही क्षण सौचौँ,
यी फूलमा रङहरू, क–कसको मेहनतले रङ्गियो ?
काफल, ऐँसेलुको दानामा
क–कसले भरिदयो ? यति मिठो स्वाद
हिमाल हुनुमा, पहाडको थुप्रो
हिउँको तपस्या कति छ ?
उभिनुमा यी रुख, जमिनमाथि
माटोको भूमिका हो के ?
उज्यालो भएर हाँस्नुमा, दिन
घामले बोकेको कष्ट कस्तो हो ?
कति सजिलै सोध्छन्, सोध्नेहरू
किन एक्लै कराइरहेछ मृग
अनौठो आवाजले जंगलमा
जो, झुक्किएर छुटेको थियो बथानबाट
स्कुस, चिचिन्नो, घिरौँलाको लहराले
किन खोजेका हुन् ? थाङ्ग्रोको आड
हजुरआमाको मृत्युपश्चात
हरपल किन साथै रहन्छ ? हजुरबाको लौरो
घरको दलिनमै आएर गौँथलीले
किन बनाउँछे ? आफ्नो गुँड
वा, के–के आशाले बनाउँछ ?
एउटा साथीले अर्को साथी
भो छोडौँ,
अनेक प्रश्न, एउटै उत्तरको यो खेल
पछि हिँड्ने हामीहरूलाई कहिल्यै नभेटिने गरी
छोड्छु भन्ने र छोडिजाने,
एक्लै जून टिप्छु भन्ने
प्रत्येकले उत्खनन गरून्
डाइनोसोरको समय ।
रामेछाप
Subscribe
Login
0 Comments
Oldest







































