आगे कमरेडको जो विचार
कमरेड प्रचण्डको मुड फ्रेस भएको मौका छोपेर एकान्तमा बाबुरामले फकाउनुसम्म फकाएछन् । \’हामी त उहिल्यैदेखिका साथी । कहिल्यै कुनै झै-झगडा र मनमुटाव नगरी नेपाली क्रान्तिलाई यहाँसम्म ल्याएर संसारको ध्यान तान्न सफल जोडी । तपाईं अझ माथि, क्रान्ति नायक । अबको तपाईंको गन्तव्य राष्ट्रपति हुनुपर्छ । सानातिना कुरामा अल्झिएर बस्नुहुँदैन ।\’ इत्यादि भनेर हौस्याएछन् । प्रचण्ड हसक्क हौसिएपछि बाबुरामले अड्को थापेछन्, \’सँगसँगै काम गरेको अढाई दशकमा आजसम्म मैले तपाईंसँग केही मागेको थिइनँ, पहिलोपटक माग्दै छु, नाइँ नभन्नुहोला ।\’ प्रचण्डले दंग पर्दै भनेछन्, \’माग्नुहोस्, म जे मागे पनि दिन तयार छु ।\’
\’यो एक बारको जुनीमा एकपटक पार्टी अध्यक्ष हुने उत्कट चाहना छ, त्यो पाउँ ।\’ बाबुरामले ठूलो आँट गरेर भनेछन् र प्रचण्डको मुखतिर टुलुटुलु हेर्न थालेछन् । बाबुरामलाई लागेको थियो, प्रचण्ड अब जंगिन्छन् । यिनलाई भाउन्न हुन्छ । कान राताराता पार्छन् र जुरुक्क उठेर फन्किँदै हिँडछन् । तर, अचम्म ! त्यस्तो केही नभएर उनी त बडो भावुक मुद्रामा पो प्रकट भएछन् । उनका आँखा रसाएछन् । गला अवरुद्ध भएर बोल्न नसकेपछि उनले बाबुरामका हात सुमसुम्याएछन् । काँधमा धाप मारेछन् र नबोली बैठकतिर लागेछन् ।
त्यो घटना भएको केही छिनमै सञ्चारमाध्यहरूमा एउटा अपत्यारिलो समाचार आइहाल्यो, \’प्रचण्ड नेतृत्व हस्तान्तरण गर्न तयार ।\’ धमाधम बाबुरामका अन्तर्वार्ताहरू निस्कन थाले । \’आगामी महाधिवेशनपछि आफू अध्यक्ष हुने, अध्यक्ष भए पनि प्रचण्डलाई सम्मानका साथ कुनै ठूलै पद दिने, उनलाई कामको जिम्मेवारी पनि दिने\’ इत्यादि बाबुरामका भनाइ बाहिर आए । हेर्दाहेर्दै सञ्चारमाध्यममा बाबुराम दिने र प्रचण्ड लिने अवस्थामा देखा परे ।
यो समाचारले हामी प्रचण्डप्रेमीहरू निराश भएका छौँ कमरेड । तपाइर्ंले छँदाखाँदाको पद छाड्ने संकेत गरेर आफ्ना खुट्टामा आफैँले बन्चरो हान्ने काम गर्नुभएको हाम्र्रो ठहर छ । बाबुरामका हातमा अध्यक्ष पद गयो भने तिनले बिताउँछन् । प्रधानमन्त्री हुँदा सडक विस्तारको एउटै कामले त्यत्रो लोकपि्रय भए । शक्तिमा पुगे र केही काम पनि गर्न भ्याए भने त यिनका पछि धेरै मान्छे लाग्न सक्छन् । यिनले तपाइर्ंको व्यक्तित्वलाई माटोमा मिलाउँछन् । यिनलाई अध्यक्ष पद छाड्नुहुन्न कमरेड ।
एउटा कुरामा ध्यान दिनुहोला । उनी उहिल्यैदेखि दोस्रो नभएका मान्छे हुन् । बुद्धिमा उनी तपाईंभन्दा पहिलो छन् । काममा पहिलो छन् । पढाइमा पहिलो छन् । उपाधिमा, लोकपि्रयतामा, सिर्जनशीलतामा र विद्वतामा पनि पहिलो छन् । पदमा मात्रै दोस्रो हुन् । यही एउटा कुरामा तपाईंले उनलाई जित्नुभएको छ, त्यो पनि उनैलाई जिम्मा दिएपछि तपाईसँग केचाहिँ बाँकी रहन्छ ? त्यसपछि दुनियाँले तपाईंलाई किन मान्छ ? तपाइर्ंलाई कसले गन्छ ? हामीले तपाइर्ंका वरिपरि किन परिक्रमा गरिराख्छौँ ? त्यसैले यो नेतृत्व हस्तान्तरणको कुरा बन्द गर्नूस् । हरिवंशको हरिबहादुरले जस्तै \’के हो नेतृत्व हस्तान्तरण ? किन गर्नु नेतृत्व हस्तान्तरण ? मैले कहिले भनेँ नेतृत्व हस्तान्तरण ?\’ भनेर तिनलाई आजित बनाइदिनूस्, धरधरी रुवाइदिनूस् । हामी पनि तपाईं नै चाहिन्छ भनेर हल्ला मच्चाऔँला । केन्द्रीय कार्यालयमा धर्ना बसौँला । यो जुनीका लागि त्यो पद केवल तपाइँकाे हुनुपर्छ । आगे कमरेडको जो विचार !
नेपाल साप्ताहिक