सुलसुलेरामहिटीमा साहित्य सन्ध्या
साहित्य सन्ध्याको ३३३ औँ कार्यक्रम ‘साहित्य सदन नेपाल’सँगको सहकार्यमा पुस ६ गते शनिवार रामहिटीमा विशेष समारोहको आयोजना गरी सम्पन्न भयो । साहित्य सदन नेपालका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहको सञ्चालन साहित्य सदन नेपालका सदस्य मातृका पोेखरेलले गर्नु भएको थियो ।
सर्वोच्च अदालतका का.मु. प्रधान न्यायाधीश दामोदर शर्मा समारोहको प्रमुख अतिथि हुनु हुन्थ्यो । विशिष्ट अतिथिमा वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट, प्रसिद्ध साहित्यकार वसन्तकुमार शम्र्मा नेपाल हुनु हुन्थ्यो । अतिथिहरूमा वरिष्ठ साहित्यकार शक्ति लम्साल, प्रा.डा.जीवेन्द्रदेव गिरी, प्रा.गोपीकृष्ण शर्मा, डा.गौरिशंकर लालदास, डा. ईश्वरचन्द्र वाग्ले, वरिष्ठ साहित्यकार राम विनय, प्राज्ञ विष्णु प्रभात, डा.रामप्रसाद ज्ञवाली, हेमनाथ पौडेल, साहित्य सदन नेपालका अध्यक्ष अमिर थापा, वेदमणि घिमिरे उपस्थित हुनुहुन्थ्यो ।
विख्यात आख्यानकार रमेश विकलको स्मृतिमा उहाँकै नामबाट स्थापित विभिन्न पुरस्कारहरू अर्पण गर्न साहित्य सन्ध्याको सहकार्यमा आयोजित यस विशेष कार्यक्रममा रमेश विकलको तस्बिरमा प्रमुख अतिथि दामोदर शर्माले माल्यार्पण गरी विशेष समारोहको शुभारम्भ गर्नु भएको थियो । साहित्य सदन नेपालका महासचिव विजय चालिसेले उपस्थित साहित्यकार एवम् शुभचिन्तकको स्वागत गर्नु भएको थियो । स्वागतका क्रमम रमेश विकलको इच्छानुसार गठन र निर्माण भएको साहित्य सदन नेपालको भव्य संरचना, रमेश विकलले आफ्नो निजी सम्पत्ति घरजग्गा रमेश विकल सङ्ग्रहालय निर्माणका लागि अर्पण गर्नु भएको र उहाँको इच्छानुसार नै संस्थाले आफ्नो गतिविधि सञ्चालन गरिरहेको जानकारी समेत गराउनु भएको थियो ।
समारोहमा आख्यानकार रमेश विकलको व्यक्तित्वमाथि उहाँकै कथाकारितामा विद्यावारिधि गर्नु भएका डा.इश्वरचन्द वाग्लेले प्रकाश पार्नु भएको थियो । समारोहमा सार्वजनिकीकरण गरिएको ‘विकल स्मारिका २०७०’ माथि समालोचक डा.रामप्रसाद ज्ञवालीले समालोचना गर्नु भएको थियो ।
समारोहमा रमेश विकल वाङ्मय पुरस्कारद्वारा वरिष्ठ प्रगतिवादी साहित्यकार शक्ति लम्साललाई प्रदान गरियो । त्यसै गरी रमेश विकल–सुशीला समाज सेवा पुरस्कार २०७० द्वारा डा.गौरिशंकर लालदास सम्मानित हुनु भएको थियो । त्यसै गरी रमेश विकल सृजना पुरस्कार २०७० द्वारा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् जन साहित्यिक मञ्च नेपाल र साहित्य सन्ध्याका अध्यक्ष राम विनयलाई व्यक्तिगत तथा संस्थागत रूपमा प्रगतिवादी साहित्यको उत्थानमा योगदान पुर्याए वापत सम्मानित गरिएको थियो । रमेश विकल शोध सम्मान २०७० द्वारा डा.ईश्वरचन्द्र वाग्ले सम्मानित हुनु भएको थियो ।
पुरस्कृत व्यक्तित्वका बारेमा समालोचक हेमनाथ पौडेलले परिचय दिँदै उहाँहरूको व्यक्तित्वका बारेमा चर्चा गर्नु भयो र उहाँहरूको योगदानको मूल्याङ्नका आधारमा पुरस्कारका लागि चयन गरिएको जानकारी दिनु भयो । सम्मानित हुनु हुनेमा शक्ति लम्साल अस्वस्थ हुनु भएकाले बोल्न सक्नु भएन भने अन्य तिनैजनाले आआफ्नो मन्तव्य समेत राख्नु भएको थियो ।
समारोहमा राम विनय, नारायण निराशी र इन्दु अंशु ‘जटारे’ले आआफ्ना कविता तथा गजल वाचन गर्नु भएको थियो । वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् समारोहका विशिष्ट अतिथि आनन्ददेव भट्टले विख्यात आख्यानकार रमेश विकललाई आफूले कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरेको, उहाँले शक्ति लम्साललाई सदस्यता प्रदान गर्नु भएको समरण गर्दै यो विशेष समारोहमा तिनै पक्ष जोडिन आई पुगिएकोमा खुसी व्यक्त गर्दै चारैजना सम्मानित स्रष्टा उपयुक्त पात्र हुनु भएकोमा गर्व महसुस भएको धारणा राख्नु भयो ।
प्रमुख अतिथि सर्वोच्च अदालतका का.मु. प्रधान न्यायाधीश दामोदर शर्माले रमेश विकल विख्यात साहित्यकार हुँदाहुँदै पनि उहाँ विकास निर्माणप्रेमी समेत हुनुभएको र आफ्नो समाजको समुन्नतिका लागि र निर्माणका लागि आफैँ लाग्नु पर्छ भन्ने सद्विचारबा हुनुहुन्थ्यो भन्नुभयो ।
समारोहका अध्यक्ष रोचक घिमिरेले साहित्यकार आफैँले आफू जीवितै भएको अवस्थामा आफ्नो सम्पत्ति सङ्ग्रहाालय निर्माणका लागि अर्पण गर्नु र त्यसमा परिवारका सबै सदस्यले सहर्ष स्वीकार गर्नु नेपाली साहित्यकै इतिहासमा उदाहरणीय कार्य भएको धारणा राख्नु भयो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest











































