विश्व विनोदनाक तिखार्ने पार्टी !
पहिले राजनीतिक पार्टी थोरै थिए, स्याउ जस्तै थिए । अहिले पार्टी धेरै भए च्याउ जस्तै भए । कोही फलानाको पार्टी भन्छन्, कोही ढिस्कानाको पार्टी भन्छन् । कोही भन्छन् त्यो जनजातिको पार्टी रे ! हरे दैव ! अचेल त घरै पिच्छे पार्टी, घरैपिच्छे पार्टीका अध्यक्ष तर देश चलाउन अदक्ष । कहिले जनै धारीका पार्टी खुल्छन्, कतै सारीका पार्टी खुल्छन्, कतै बोकेदारीका पार्टी खुल्छन् । पार्टी खुल्छन् भन्दा भुल्नलाई खोल्या जस्तै लाग्छ ।
सपनाको लिस्नु लगाएर महत्वाकाङ्क्षाका लड्डु खाने छट्टुहरूले आजकल पार्टी दर्ता गराएर हिजो ल्याप्चे लगाउन नजान्ने थेप्चेहरूले पार्टी खोले रे ! हिजो जनैधारी चुच्चेहरूको पार्टीमा छौं कि थेप्चेको पार्टीमा छौं हँ ? ऐजेरू टुप्पाबाट पलाउँछ, रूखै ढलाउँछ, सर्वश्व गलाउँछ, समानुपातिकको भाँडमैलो मच्चाउँछ र राज्य विखण्डनको पुराण लगाएर जनतालाई बलीको बोको बनाई पैसाको पोकाको सपना देख्नेले आजकल नयाँ पार्टी खोलेका हुन सक्छन् ।
चुच्चेको पार्टीको कुरा पछि गरौंला, यहाँ थेप्चेको पार्टीको कुरा गर्न लागिएको हो । गाउँका नेउटे दाइले राष्ट्रिय पार्टी खोलेका रहेछन् । नेउटे दाइको पार्टीमा सदस्यता पाउन नाक थेप्चे हुनुपर्छ रे ! लेप्चे हान्ने गाउँका सोझा जनतालाई आईएलओ १६९ को मन्त्र रटाएर हुने त केही रहेनछ तर लामो नाक, चुच्चो नाक हुनेहरूले सावधानीपूर्वक त्यो पार्टीमा सदस्यता लिनु पर्ने हुन्छ ।
एक दिन नेउटे दाइसँग भेट भो । मैले भने– ‘ल ! बधाई छ ।’ उनले थेप्चे नाक मुसार्दै भने– ‘धन्यवाद ! मैले पार्टी खोल्नुको रहस्य सोद्धा उनले भने– ‘हामी जातीय मुक्तिको लागि आन्दोलन गर्छौं, हामी जनजातिका लागि आन्दोलन गर्छौं … ।’ म विलखबन्दमा नै परेँ । उनी जनजाति भए बाँकी नजाति ? को को हुन् ? उनी आदवासी भए पुरावासीको हुन् त ? मैले पुनः बाटोमा एक जना पुरेतलाई भेटेँ, एक कुरेत्को टुप्पी मुन्ट्याउँदै ती पुरेत बा हिंड्दै रहेछन् । उनमा अलिक वितृष्णा थियो । वेदका भेद खोल्ने बाह्न बाका मुखबाट पोल्ने कुरा ओकलिँदै थियो, उनी भन्थे– ‘यी साँढेहरू पहिले पढेनन्, पढ्ने बेला कसरी लाहुरे बन्ने भनेर तिघ्रामा तेल दलेर बसे, अहिले आरक्षणको कुरा गर्छन् गाँठे ! बाहुन/क्षेत्रीले देश चलाएको सत्य हो, निधार र हात थापेको भरमा बाहुनले जीवन निर्वाह कसरी गरे भनेर कसले सोच्यो र ! डलर कमाएर जीवनमा कलर भर्नेहरू अचेल जन जातिको मुद्दा उठाएर अरूलाई नजाति बनाउने यिनै हुन् ।
उफ् ! कस्तो परिवर्तन भएछ नेपालमा । अखण्ड बनेको नेपालमा खण्डित सोचाई बोल्नेहरू पण्डित भएपछि निन्दित ह्ुन धेरै बेर लाग्ला नै । अचेल तपाइँ क्ुन पार्टीको हो ? नाक हेरेर थाहा पाउन सकिन्छ । नाक त स्वाभिमानको चिन्ह हो । नाकलाई महत्वपूर्ण ठानिएर होला, नाकलाई जुँघाले अण्डरलाइन गरेको । तपाइँको घिरौंला जत्रो नाक थेप्चे कि चुच्चे होस्, तपाइँको साइज नाकबाटै थाहा पाउन सकिन्छ ।
भुन्टेको नाक न चेप्टे थियो न चुच्चे थियो । ऊ असमञ्जस्यमा थियो, कुन पार्टीमा जाने भनेर उस्ले मलाई गज्जबको प्रश्न सोध्यो– ‘हैन ! म त्यो पार्टीमा जान के गर्नु पर्छ ? न मेरो नाक लामो छ न थेप्चो छ ।’ मैले तुरून्त जवाफ फर्काएँ– ‘भुन्टे दाइ यी नाके पार्टीको सदस्यता बन्ने तपाइँले नाकको सर्जरी गर्नुपर्छ कि नाक लम्ब्याउनुस् कि चेप्ट्याउर्नु … ।’ ल हेर हेर ! तपाइँ पनि यो लेख पढ्दा पढ्दै दश चोटी नाक छाम्नु भा’को मलाई पनि थाहा छँदै छ नि ! मलाई पनि यो थाहा छ कि तपाइँ नाकलाई चाख दिएर अघि बढ्नु ह्न्छ कि ? देशलाई । सोच्दै गर्नुहोस्, म त नाक छाम्दै लागेँ अर्कोतिर । जदौ !
(नुवाकोटबाट प्रकाशित ‘त्रिशुली छाल’, अङ्क ८)
Subscribe
Login
0 Comments
Oldest









































