सुलसुलेभूपी शेरचन जयन्ती
नेपाली गद्य कविता क्षेत्रका एक सशक्त कवि भूपी शेरचनको ७८ औं जन्मजयन्ती गत बुधबार चितवनमा एक कार्यक्रमका बिच मनाइएको छ । अक्षर समूह, चितवनले आयोजना गरेको उक्त कार्यक्रममा भूपी शेरचनको काव्यकारिता र उनको व्यक्तित्वको सम्बन्धमा चर्चा–परिचर्चा गरिएको थियो ।
‘समयको मेचमाथि भूपी शेरचन’ नाम दिइएको उक्त कार्यक्रममा भूपी शेरचनको साझा पुरस्कार प्राप्त चर्चित कविता कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’बाट विभिन्न कविताहरू समेत वाचन गरिएका थिए । चितवनका अग्रज साहित्यकार प्रेमविनोद नन्दन प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको उद्घाटन समेत भूपीकै ‘मेरो चोक’ शीर्षकको कविता वाचन मार्फत गरिएको थियो ।
कार्यक्रममा अतिथिको रुपमा रहनुभएका साहित्यकार इन्द्र रेग्मीले ‘तीस वर्षे पञ्चायती व्यवस्थाले धेरै कवि, लेखकहरूको भ्रष्टीकरण गरे तापनि भूपी शेरचनले आफूलाई त्यस्तो भ्रष्टीकरणबाट जोगाउनुभएको टीप्पणी गर्दै ‘यद्यपि त्यसका प्रभावहरूबाट भूपी शेरचन पूर्ण रुपमा अछुतो भने रहन नसकेको’ विचार व्यक्त गर्नुभयो ।
त्यस्तै अर्का साहित्यकार केदारनाथ खनालले भूपी शेरचनसँग जोडिएका आफ्ना संस्मरणहरू प्रस्तुत गर्नुभएको कार्यक्रममा उदय अधिकारी र डि.आर.पोखरेलले भूपी शेरचनको समग्र काव्यकारिताको सम्बन्धमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ईश्वर कँडेल, रमेश प्रभात, सुमनराज श्रेष्ठ, भावना पाठक, द्वारिका नेपाल, बालकृष्ण थपलिया, पूर्णप्रसाद अधिकारी, एम.के. ज्वाला, मुक्त उदास लगायतले भूपीका विभिन्न कविताहरू वाचन गरेका थिए भने सिर्जन अविरल, कपिल अज्ञात, पुष्प अधिकारी अञ्जली, किसान प्रेमी, डा. मतिप्रसाद ढकाल, सुदेश सत्याल, बिजनबाबु खनाल, शान्ति शर्मा, सरला जोशी र दामोदर सापकोटा लगायतका स्रष्टाहरूले आफ्नै रचना समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका अक्षर समूहका अध्यक्ष भूपिनले ‘एउटा स्रष्टा समयको हरेक कालखण्डका पाठकहरूमाझ उभिनुपर्ने’ विचार राख्दै ‘जन्मजयन्ती कार्यक्रम पनि आफ्नो समयलाई कविता मार्फत बलशाली ढङ्गले सम्बोधन गर्न सफल कवि भूपी शेरचनलाई पाठकहरूमाझ उभ्याउने प्रयास मात्रै रहेको’ बताउनुभयो । चितवनमा भूपी शेरचनको जन्मजयन्ती २०६७ सालदेखि अक्षर समूहकै आयोजनामा मनाउन सुरू गरिएको हो ।
-सुलसुले
Subscribe
Login
0 Comments
Oldest











































