डा. रमेश शुभेच्छुठूलीभेरीको तुइन र….
बीरबहादुर अर्थात बीरे
कक्षा पाँचका सामान्य विद्यार्थी
हमेशा धावाधावामा बितिरहेछ
उसको बालापन
उसको आँगनमा बजाउँछन्
रुप्पीहरूले परेड
उसैको घरभित्र आउजाउ गर्छन्
सिठ्ठी फुक्दै गौंथलीहरू
करेसाको डिलैमा उभिएको
बकेनाको रुख पनि
अघ्घोरै रमाउँछ
हात हल्लाई हल्लाई
तर वीरेलाई एकैछिन फुर्सद छैन ।
एकाबिहानै, घामका खुट्टाले
उसको पिँढी टेक्न नपाउँदै
गएका थिए
काँधमा सिङ्गो ब्रह्माण्ड झैं
हलो बोकेका बाबुको पछिपछि
र बोकी आएका थिए
आफूभन्दा चारगुणा ठूलो
स्याउलाको भारी,
उसले नयाँ कुरा आविष्कार गरेको छ
भारी बोकेर ओरालो झर्नुभन्दा
उकालो चढ्नुनै जाती रहेछ,
हतार हतार निलेका थिए
आमाले पकाएको ढिंडो
सिस्नुको तिहुनमा चोबल्दै
र कुदेका थिए किताब च्यापेर,
किन कि उसले भुलेको छैन
अस्तिनै ढिला स्कुल पुगेवापत
टङ्क सरले दिएको
एक झापड पुरस्कार ।
तल ठूलीभेरी, तर्नु छ तुइनमा
कुर्नु छ पालो, पुग्नु छ बेलैमा स्कुल
उसले सुनेको छ
मुखियाका नातिको मुखबाट
सहरको चर्चा
कम्प्युटर र भिडियो गेमको बखान
र सम्झिंँदैछ
आज पनि बेलैमा स्कुलबाट फर्केर
मेला जानुपर्ने बाको उर्दी ।
स्कुल छुट्टी भइसक्यो
अहिले ऊ किताब च्यापेर
पेटभित्र भोकको आयतन बढाउँदै
तुइनमा तुर्लुङ्ग झुन्डिएर
तर्दैछ ठूलीभेरी
र नियाल्दैछ आकाशमा
उड्दै गरेको चिलगाडी
अनि अगाडिको
आफू उक्लिनुपर्ने
बाँदर लड्ने भीर हेर्दै
सम्झिँदैछ
अघिमात्र टङ्क सरले घोकाएको
महेन्द्रमालाको
हामी वीर नेपाली !!
जोरपाटी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































