डा. रमेश शुभेच्छुभुइँफुट्टा मान्छे
म क्षयरोग ग्रस्त भुइँफुट्टा मान्छे
मेरो समीप नआऊ
तिमीलाई पनि सर्नसक्छ यो रोग
यदि मेरो नजिक
आउन चाहन्छौ भने
चुँडाइदेउ शोषणका साङ्लीहरू
जसले मलाई
सदियौंदेखि जकडिरहेछ
मिल्काइदेऊ अभावग्रस्त तारबारहरू
जसले मलाई
युगौंदेखि कैदी बनाइरहेछ
भत्काइदेऊ विभेदका अग्ला पर्खालहरू
जसले मलाई
दूरदृष्टि लाउन रोक लगाइरहेछ ।
त्यसैले विन्ती
छाडिदेऊ न्यायको नौटङ्की
तिम्रै भरौटेले भरिएको कचहरीमा
बन्द गर बलात्कार
सर्वहारा मनुवाहरूका आलो सपनामाथि
अब म सक्दिन
आफ्नै बहिनीको कुमारित्व बेचेर
तिम्रा हर साँझ रङ्गीन बनाउन
सक्दै सक्दिन
आफ्नै नौरङ्गी उद्धेश्यहरूको
घाँटी निमोठेर
तिम्रा हरेक निर्लज्ज आश्वासनहरूको
साक्षी बक्न ।
उ ….. पर हेर त
देख्यौ ?
बुढी बदिनी
ओइलिएको जोवन काखी च्यापेर
डाँको छाड्दैछ
त्यसैको मास्तिर हेर त
ओभानो पाखाभरि
छाउगोठ कस्तरी
कुरुप खित्का छाडिरहेछ
अझै मास्तिर हेर त
हिमाली सकसहरू,
हामीलाई बाउसे बनाएर
तिमीले रोपेका फसल
यिनै हैनन् र !
म क्षयरोग ग्रस्त भुइँफुट्टा मान्छे
आजाद भई निर्जन मसानबाट
भोकहरूका लस्कर अघिपछि लाउँदै
आउँदैछु तिम्रो शीशमहलतर्फ
मेचीकालीका आदिम सुस्केराहरू सुसेल्दै
नाङ्गा आङहरूका राँकेजुलुस लिएर
आउँदैछु घोषणापत्रमा सीमित
तिम्रो दरिद्र चेत ब्युँताउन
र फहराउनेछु तिम्रै शिरमाथि
आफ्नै हातले सिएको
चन्द्र र सूर्य ।
हो सिंहदरवार !
एकमुठ्ठी विचारको पुल्ठो सल्काएर
एउटा सग्लो मगज
निर्माण गर्न आउँदैछु,
म क्षयरोग ग्रस्त भुइँफुट्टा मान्छे
मेरो समीप नआऊ
तिमीलाई पनि सर्नसक्छ यो रोग !!!
०७१/०७/१५ शनिबार,
जोरपाटी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































