साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवस उठबसमा दिवस ?

Nepal Telecom ad

नेपालीहरूको नियतिनै विवस भएर पनि दिवस मनाउनुमा रहेको छ । दिवस, जन्मोत्सव, जयन्ती वास्तवमा वैजयन्तीझैं फुल्न प्रेरणा लिने मुहूर्त हो । तर नेपाली जीवन खोक्रो सिद्धान्त र बोक्रो औपचारिकतामा व्यानर, प्लेकार्ड, झण्डा तथा नानाभाँती प्रतीकहरू बोकेर पुस्तौंदेखि सडकमा तडकभडकसाथ रमिता मच्चाएको मच्यायै छ गाँठे ! ‘नानीदेखिको बानी’ भएकैले दिवस, जयन्ती, स्मृति र श्रद्धाको कार्यक्रम सिध्याउने वित्तिकै हामी आफ्नो बाँदरे चिन्तनमा फर्केर उल्टो यात्रामा सामेल हुन्छौँ । भर्खरै हातधुने दिवसको जुलुस सिध्याएर आएका छोराछोरी भोकले म त आलस तालस भएँ त्यसैले हातसात नधोई एक किलो भात बैठ्याएँ भनेर पुरुषार्थ पछार्छन् बाबा ! धूम्रपान र सुर्तीबिरुद्धको ¥यालीमा सामेल भएर आएका काका, काकी, र बाआमाहरू लगतै चुरोट सल्काउन र सुर्ती माड्न ट्याली गरेका दृष्य देखेर नाति गणले झ्याली पिटेको निरर्थक चित्र यत्रतत्र सर्वत्र छताछुल्ल भएको देखिन्छ । शान्ति दिवसमा तीनघण्टा प्रवचन सुनेर घर फर्केका युवा जमात बीचबाटैमा दुर्वचन र कुवचनको भनाभनमा हानाहान गरेर गुहार लगाएको हाम्रो छ्याकटे अनुहार हेर्न बाँकटे हान्ने पर्दैन ।

सं.रा.सं. दिवसमा विश्व भाइचारा र वसुधैव कुटुम्बकमको ढोल पिटेर घरमा आइपुग्दा चुल्ठो, चुप्पी भएर चुप्पीसम्म निकालेको समाचार मिडियाकर्मीहरूले तुरुन्तै छ्याप्पछयाप्ती बनाइरहेका छन् । महिला मुक्तिको भाषण गरेर प्रमुख अतिथिको आसन बिटुल्याउने नेतागणले बेलुका तीनपानेमा ढल्पल हुँदै घर पुगेर आफ्नी हजुरआमा जस्ती धर्मपत्नीलाई भात चीसो दिएको कारण देखाएर जगल्टा केलाएको कुरुप फोटो मोटो रुपमा पत्रिकामा व्यानर न्यूजनै भएर लड्किन्छ पो त ! ट्राफिक सप्ताह लगाएर आएकाहरू त्यत्रो दिनको दिक्षाबाट उल्टो शिक्षा लिएर सडकजाम गर्दै दुर्घटना बढाई लासलाई बीच सडकमा तास बनाएर क्षतिपूर्तिको आशमा बर्वादको बिरोध मञ्चन दिनप्रतिदिन बढोत्तरी छ । राजनीतिक विमर्शसभामा विरोधीप्रति आरोप प्रत्यारोपको खोप हानेर झोक पोखी तथानाम पाँडे गाली गर्ने गाँडेहरू हाँडे आएको बिरामीझैं मितभाषी हुँदै मेरो भनाइलाई मिडियाले बङ्ग्याएको हो भन्दै पत्रकारलाई पत्रुकार बनाउँदा पनि हत्तुकार हुँदै अलपत्रुकारहरू नेता महासयकै झिंगा धपाएर डिंगा बन्न कसिएका छन् । पत्रकार दिवसलाई उपकार, सरोकार र लोकतान्त्रिक व्यवस्थाको तार सम्झने ओठे र कोठे नेताहरू बेलुकीको नशालु डिनरमा गिलास र प्लेट उचालेर गाइजात्रा मच्चाई भक्कू नाच देखाएको नालायकी खलनायकत्व मजैले हेर्न पाइन्छ ।

बाख्राको टाट्नु कति कुरा काट्नु ? भनेझै यी थुतुने आभाराहरू पनि बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भन्ने उखान पुष्टि गर्छन् । त्यसै गरी विश्व मुटु दिवस मनाएर भएभरका पेसेन्टका सम्पति गुटुमुटु पार्न डाक्टर, घाँटीको अप्रेसन गर्नु पर्ने ठाउँमा पाठेघर काटेर बाँझी बनाइदिने लापरवाहीको राजा बनेको यमराजको खाजा जस्तो चिकित्साकर्मी, आन्द्राको माउ घाउ काटेको भनेर मृगौला झिक्ने शल्यक्रियाकर्ताहरू यहाँ स्वास्थ्य दिवस मनाएर लगत्तै कयौं रोगीलाई यमपुरीको भोगी बनाउने कुकाम दिन दुगुना रात चौगुना चलेको चल्यै छ । पीडित पक्ष र पीडक पक्ष क्षतिपूर्तिको सम्झौता गरेर कान्छी नानी थमाई तैँ चुप मै चुप भएका बगेरल्ती घटना कयौं सार्वजनिक गरिएका छैनन् ।

न्याय दिवस मनाएर लगत्तै अन्यायको पक्षमा फैसला गर्ने काला अन्यायमूर्ति, शिक्षक दिवसमा उर्लिएर भोलिपल्टैदेखि शिक्षक हकहित बिरुद्ध मख्खिचूस बन्ने शिक्षाविद्, सहिद सप्ताह भव्यरुपमा मनाउन अघिसर्ने तर सामान्य लाठीचार्ज हुँदा पनि लगौंटी समातेर कुलेलम ठोक्ने डरछेरुवा कायर वीरहरूले दिवसको गौरवलाई रौरवमा फालेका छन् । संस्कृति र पर्वमा गर्व गर्न लायक स्पर्श छोड्न नसक्ने फजुलखर्चीहरू परम्परामाथि छुरा चलाएर भुरा कुरा गर्दै अपकृतिको एसिड वर्षा गरेको ग¥यै छन् । त्यसैले हाम्रो दुनियाँमा दिवस हँसिट्यौरी बन्न विवस छ, श्राद्ध तिथिहरूलाई भकुर्ने तमासा बनाइएको छ । ‘अर्थ न बर्थ गोविन्द गाई’ भएर अज्ञानी बेवकूफका हुलहरू वर्षौदेखि दिवसलाई धान्दै आएका छन् । दिवसको मर्म नबुझ्ने शर्महाराको हुलमा म पनि एक नाइके हुँ । यसैले त यहाँ मनाउने दिवसलाई हामीले उठबस गरेर सजाय दिएको दियै छौँ हरे ! त्यसैले त विवस उठबसमा छ दिवस !
धादिङवेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x