राजेन्द्र तारकिणीसहिदहरुको संयुक्त विज्ञप्ति !
परिवर्तनको स्वप्निल नारामा पासो थापेर
जहाँ,
प्रतिदिन देशले आत्महत्या गरिरहन्छ
राजनीतिको अलिनो खाएर
झाडाबान्ता गरिरहन्छ न्यायालय,
भ्रष्टाचारको क्यान्सरले प्रशासन
अक्सिजन–मास्क लगाएर कोमामा हुन्छ,
यस्तो अवस्थामा बाग्मतीछेउको सहरमा
कतिन्जेल घिस्रिरहन सक्छ तिम्रो आदर्श राष्ट्र ?
देश कसैको स्वार्थको रोटी भएको छ
कोही बलात्कार गर्न अभ्यस्त छ टुँडिखेलमा बिछ्याएर
राजमार्ग बनेका छन् जनताको छातीका करङहरू
अन्धाधुन्ध बढिरहहन्छ त्यसमाथि कुनै न कुनै घोडचढी
(ऊ सधैँजसो सत्ताको ह्याङओभरमा हुन्छ)
र, जुठ्याएर फाल्ने गरेका नाराहरूमा
कतिन्जेल झुण्डिरहन सक्छ तिम्रो अखण्ड राष्ट्र ?
(जुनसुकै बेला पनि यहाँ आगोले कासन गरिदिन सक्छ–
सावधान एजेन्टहरू हो !)
तिम्रो कुरूप महानताविरुद्ध
युगौँदेखि मन्दिरमा सुताइराखेको
ढुङ्गो पनि ब्यूँतेर बोल्न थाल्नेछ ।
राज्यको नसामा विषाक्त रक्त बगिरहेको छ
भाइरसग्रस्त छ संविधानको डिम्बाशय
नागरिकको ढाडमाथि चढेर
सिंहदरबार सधैं ठट्टा गरिरहन्छ !
तर, भँगेराको टाउकोले पनि आजकल सपनामा
सुन्छ–
छानामाथि बज्रिएको चिर्कोको नाद,
स्पर्श गर्छ–
जग भत्काउँदै बगेको सुनामीको लहर,
देख्छ–
भग्नावशेष डँढाउँदै फैलिएको दावाग्नि…
(माटोमा अझै स्वच्छ रगतको आपूर्ति जरुरी भैरहेको छ कि!)
भूतपूर्व रक्तदाताहरू
ढुङ्गाको देउता जस्तो सालिक बनाइँदा रहेछन्,
(मुक्तिको लागि गोली निलेकाहरू यहाँ अझै बन्धक छौँ)
धिक्कार छ अब हामीलाई-
एक मिनेटको मौनधारण/एक दिनको मालाको देउता बनेर
कुनै चोकमा, कुनै झाडीमा जिब्रोविहीन बाँचिरहन !
को फेरि, अपराधी हातहरूले थुन्न खोजिरहेको ?
भुमरी पर्न देओ यहाँ,
न्युक्लियर फ्युजनको उत्ताप
हत्केलाले छेल्न नखोज !
जरूर रूप फेर्नु छ— कोशी–कालीहरूले
स्वाभिमानी शिर उचाल्नु छ— सुस्ता–लिम्पियाहरूले
आठौँ आश्चर्य बन्नु छ— कर्णाली–राराहरूले
(हामीलाई कुनै नेताको/शासकको कोठीको देउता पनि बन्नु छैन)
अब छिनोफानो हुनुपर्छ, हामीले चढाएको रगतको !
२०७१/१०/१६ गते
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































