सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राससमा विशेष कविगोष्ठी

Nepal Telecom ad

काठमाडौँ, फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ५४औँ वार्षिकोत्सवका अवसरमा आज एक विशेष कवि गोष्ठीको आयोजना गरियो । राससका अध्यक्ष कुलचन्द्र वाग्लेको ‘जीवन रहस्यमय हो’ शीर्षकको कविता वाचनबाट प्रारम्भ भएको गोष्ठीमा वरिष्ठ साहित्यकार, गजलगो, मुक्तककार तथा राससकर्मीको सहभागिता थियो ।

स्रष्टाहरूले मुलुकको समसामयिक राजनीतिक अवस्था, संविधान निर्माण हुन नसकेको अवस्था, युवाको मनोदशा, सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा देखिएको विकृति तथा विसङ्गतिमाथि आ–आफ्ना सिर्जनामार्फत व्यङ्ग्यवाण प्रस्तुत गर्नुभएको थियो । यस्तै नेपालमा पछिल्लो समय लोकप्रिय हुँदै गरेको हाइकु, गजल, मुक्तकका माध्यमबाट साहित्यकारले राजनीतिक नेतृत्व कुर्सीको खेलमा लागेको भन्दै आपत्तिमात्रै गर्नुभएन, मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर सच्चिनसमेत आग्रह गर्नुभयो ।
गोष्ठीमा आगन्तुक अतिथि कवि, गजलकार र मुक्तककार तथा राससमा कार्यरत साहित्यानुरागीले आ–आफ्ना रचना पाठ गर्नुभएको थियो । कार्यक्रममा राससका महाप्रबन्धक श्रीरामसिंह बस्नेत, वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, राजेन्द्र थापा, श्याम रिमाल, दीपराज सन्याल, तीर्थ भट्टराई, रमेश लम्साल, मैना थापा, रामलाल श्रेष्ठ, वैरागी जेठा, भाग्यशाली अधिकारी, शशी पण्डित, मदन गौतम, अच्युत रेग्मी, यशोदा अधिकारी, चेतनाथ धमला, धर्मराज बराल, प्रकाश सिलवाल, श्यामराज पाठक, सङ्गीता पनेरु, कृष्णदेव रिमाल, रामचन्द्र वनवासी र विजयराज न्यौपानेले मुलुक, समाज र राजनीतिमा देखिएको विकृति तथा विसङ्गतिमाथि व्यङ्ग्य कस्दै आफ्ना रचना सुनाउनुभएको थियो ।

गजलकार ज्ञानुवाकर पौडेलले सरकारी सेवाबाट अवकाश पाएपछि आफ्नो मनस्थितिलाई यसरी शब्दमा प्रस्तुत गर्नुभयो–
“भेटाइन्छ कि भनी दौड्दा दौड्दै
छुटेको रेल रहेछ यो जागिर
नसक्नेलाई जेल रहेछ यो जागिर”

वरिष्ठ साहित्यकार पुष्कर लोहनीले नेपाली साहित्यमा पछिल्लो दिनमा स्थापित हुँदै गएको जापानी शैली हाइकूलाई यसरी प्रस्तुत गर्नुभयो–
“जाडो बढेछ
पिए रक्सी मस्तले
आगोको लप्का”

सिस्नुपानी नेपालमा आबद्ध थरेन्द्र बराल मुलुकको राजनीति बिग्रेको भन्दै आफ्ना सिर्जनामा यसरी प्रस्तुत हुनुभयो –
“पुरानो नेपालमा बिजुली फालाफाल
नयाँ नेपालमा सांसदको फालाफाल”

कवि तथा साहित्यकारले समाचारको मुख्य स्रोत राससले राजनीतिक विषयलाई मात्र आफ्ना समाचारमा बढ्ता स्थान दिएको भन्दै साहित्य, कला, संस्कृति र आमजनताको भावना समेटिएका समाचारलाई विशेष ग्राह्यता दिन आग्रह गर्नुभएको थियो । कवि गोष्ठीमा सहभागी भाग्यशाली अधिकारीले भन्नुभयो – “रासस समाचारको मुहान हो, यसले सबै क्षेत्रलाई विशेष ध्यान दिनुपर्छ । कला संस्कृति र साहित्यलाई प्राथमिकता दिनुपर्छ ।” नेपाल पत्रकार महासङ्घ रासस शाखाका सभापति विष्णु नेपालको सभापतित्वमा सम्पन्न कवि गोष्ठीमा सहभागीले राससको सफलताको कामना गर्नुभएको थियो । रासस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad