सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रवीन्द्र मिश्रको कविता सङ्ग्रह सार्वजनिक

Nepal Telecom ad

काठमाडौं २५ फागुन, २०७१ । बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको कविता सङ्ग्रह शनिबार सार्वजनिक भएको छ । प्रज्ञाभवन कमलादी परिसरमा आयोजित कार्यक्रममा उपन्यास पढ्ने तर सामान्यतया कविता नपढ्ने सहभागी दुईजना महिला पाठकहरूले सो कविता सङ्ग्रह सार्वजनिक गरेका थिए । कवितामा पाठकहरूको रुचि जगाउने उद्देश्यले त्यसो गरिएको आयोजकले बताए ।

सङ्ग्र्रहमा विभिन्न समयमा लेखिएका ५४ वटा लामा–छोटा कविता छन्, जसलाई लहोर, लण्डन, काठमाडौं खण्डमा विभाजित गरिएको छ ।

मिश्रका कविताबारे पाका कवि मञ्जुलले भने, ‘भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।’

कार्यक्रममा बोल्दै युवा कवि बुद्धिसागरले भने, ‘रवीन्द्र मिश्रका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भूपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेतापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।’

अर्का समीक्षक सनतकुमार वस्तीले पनि पत्रकार मिश्रको काव्यिक यात्रा यसैगरी अगाडि बढोस् भनि शुभकामना दिएका थिए ।

मिश्रका कविता प्रेम, पीडा, देशभक्ति, अध्यात्म र दर्शनजस्ता विविध विषयमा छरिएका छन् । उनी भन्छन्, ‘लाहोर, लण्डन र काठमाडौं तीनै ठाउँमा बस्दा बेलाबखगत कविता लेख्ने र कहिलेकाहीँ छपाउने गरेको भए पनि सङ्ग्र्रह नै प्रकाशित गर्नमा भने कतिपय कविहरूले दिएको प्रेरणा र प्रोत्साहनको ठूलो भूमिका छ ।’ कवि मिश्रले फागुन महिनाको पारिलो घाम तापिरहेका सैयौं श्रोताहरूलाई झण्डै एक दर्जन कविता वाचन गरेर सुनाएका थिए भने कार्यक्रमको सन्चालन कवि तथा पत्रकार नवराज लम्सालले गरेका थिए ।

सो पुस्तकको बिक्रीबाट लेखकले पाउने सम्पूर्ण लेखकस्व चितवनको कान्दा क्षेत्रका विपन्न चेपाङ समुदायको हितमा खर्च गरिने छ । यसभन्दा अघि प्रकाशित उनका दुई कृति– ‘भूमध्यरेखा ः अर्थहीनताभित्र अर्थ खोज्दा’ र ‘खान पुगोस्, दिन पुगोस्’ बाट प्राप्त लेखकस्व पनि उनले सोही समुदायको हितका लागि लागि प्रदान गर्दै आएका छन् ।

सङ्ग्र्रह फाइनप्रिन्टले प्रकाशन गरेको हो । पाँच हजार प्रति छापिएको उक्त पुस्तकको मूल्य १९८ रुपैयाँ राखिएको छ ।
–सुलसुले

Fitkauli Publication Books comming soon
Nepal Telecom ad