साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘खलबल’ लखरेका अठार गन्थन

Nepal Telecom ad

नेपालमा टुप्पीवालहरूको रजाइँ छ । टुप्पो आफ्नै रौं–चुल्ठाको हुनुपर्छ भन्ने छैन । पखेटा–भुत्लाको भए पनि हुन्छ । सुन चाँदीको भए पनि हुन्छ । तर टुप्पीमा गाँठो पार्ने कला भने हुनैपर्छ । गाँठाहरू थरिथरिका हुन्छन् । कुनै सर्र फुक्ले खालका कुनै तर्र पसिना चुहाउन्जेल पनि फुकाउन मुस्किल पर्ने । जसरी साहित्यमा खर्र पढ्न सकिने सरल भाषा र फर्र बुझ्न सकिने भाव हुन्छ त्यसरी टुप्पोको गाँठो बन्दैन । अघि ऋषिमुनिका कथामा पाइने लट्टामा ठट्टा गर्दै पठ्ठी–परीहरूले बाँधेका गाँठाहरूझैं सुवोध र सरस हुने अवस्था अहिले छैन । यतिखेर हाम्रो देश राणाकालीन सन्दुक–राजमा होइन, राँगाकालीन बन्दुक–राजमा फँसेको छ । प्राकृतिक शान्ति खलबलिएको छ र यो “खलबल” जो छ त्यो लवयाद खरे अर्थात् लखरेका रचनामार्फत व्यक्त भएको छ । लवको याद खरो रहनुका कारण नै उनलाई लवयाद खरे भनेर संझना गरिन्छ । त्यसो त उनी मान्छे हेर्दा थामखुट्टे छन् र पुख्र्यौली डण्डाको अण्डाबाट पैदा भएकाले हैसियतवाला मात्र हैन बहुत लक्की पनि मानिन्छन् । उनको बस्ति जो छ त्यसको नाम नै उनको थरबाट बनेको तथ्यले यही दर्शाउँछ । सत्संगतमा परेका र दाँत झरेका ओमकारनाथहरूले उनलाई खलबल खरेल पनि भन्ने गर्दछन् । सुइँखुट्टे नभए पनि दुइखुट्टेको मोहनीमा चालु मात्र हैन भालु नचाउँदै स्वस्थानीको व्रत बस्ने मान्छे शायद नेपालमा उनी नै पहिला हुन् । पहिला हुनुको अर्थ उनी महिला भने होइनन् है । लेडिज फस्ट ! भन्ने भ्रष्ट चलनका विरुद्धमा उनी छन् । त्यसैले लव याद खरे भन्दा भारतीय पत्रकार बिष्णु खरेको वंश सँग जोड्ने काम पनि गर्नु भएन । बाह्यलिङ्गी बबुरालाई अन्तपुरी बनाउन पनि भएन । माकुरा रमले झैं झमझम सिस्नोपानी झम्काई पित्को भए पनि चाट्नु पर्ने कविता संग्रह हो– “खलबल” भनेर टुप्पी हल्लाउँदै समर्थन गर्ने अवस्था मेरा सामुन्ने आएन ।

‘जस्तो लाग्छ त्यस्तै’ भन्ने हो भने– खलबल लखरेका कविताहरू पढ्दा “विकासको खिर खाएर मस्त भइरहेका वदमासहरूको शीर झुकाउने” विचार वोकेको कुरा गरेर –अन्त्यमा संझनुपर्ने नाम भनिंदै आएका बतुरेले ‘चिडियाखानाको फ्याउरो’ दर्जा पाएकोमा बिस्मात मान्नु पर्ने लाग्दैन । फाइँफुट्टी राज अनन्त भ्रान्तिका भनाई भर्सेला परोस् भनेर भन्न पनि डरमर्दो छ । कतै उनले मलाई पनि माकुरा रमलाई झैं– “यताउतिबाट सार सुर गरेको” आरोप नलगाउन् । आफू पशुपतिभक्त भएको स्वाङ पारेर गाँजा तान्ने ट्वाँटीवाल फाइँफुट्टीराज अरुलाई ‘ढ्याँङ्ग्रे बिजुवाले रक्सी छाड्न सक्छ, तर हजुरी छाड्न सक्दैन’ भन्दै ज्वाइँका पछिल्तिर बसेर लुकामारी खेल्छन् । अचेलको बाऊदल ब्यवस्थामा टुप्पीवाल कम्युनिष्टले गर्ने गफ जस्तै अलबर भैयाका रमाइला गफ गरेर ‘खलबल’ मच्चाउने खूवी पनि ‘खरेलको खड्कुलो’ बन्न आइपुगेको कविता– संग्रहमा भेटिन्न । ‘मान्छे सुरो कृति अधुरो’ देखा परेको भए पनि कौवा प्रकाशनको हौवामा हास्यव्यङ्ग्य दरिएको हुँदा छरिएको अवस्था रहेन । खोलामा बग्दै गरेको सिनो खाने गिद्ध नदीहुँदै समुद्रमा मिसिंदा छेऊ टुप्पो भेऊनपाउने बन्न रमाइलो होला कि नरमाइलो ? छोटी लाइन रेल बडीलाईनमा दुगुर्यो भने के होला ? जे होला होला ! आखिर दुइदिनको रामछायाँ त भनिन्छ मनुष्यको चोला !! त्यसकारण लव याद खरेका अठारगन्थन अलिकति मन्थन गरौं र कुराको गांठो फुकाउदै हनुमानको चमत्कार हेरौं ! कम्मर झुकाएर पुग्दैन, लम्पसार परेर छेरौं !

तीन शब्दको महाकाव्यकारी, बहुपत्नीचारीको प्रभावमा बाँदरोत्पत्ति कामना गर्ने कवि लवयाद खरे भन्छन्–
हाम्रा सन्तान पुच्छर सहित जन्मने छन्
हल्लाउनका लागि निगाहको ‘हस्’ र ‘हजुर’ मा ।। (पुच्छर उम्रदैछ ! पृ. ३)
परन्तु बाँदरको पुच्छर लौरो न हतियार ! कहाँ बाँदरले पुच्छर हल्लाउँछ ? कुकुरले पो पुच्छर हल्लाउँछ । उनको उपासना आत्मसम्मानको गजुर ठड्याउने संकल्पमा अडिन गारो छ । कदरको ‘क’ हराउँदा ‘बदर’ बन्ने बाँदर–सम्यतामा लुच्चा र खोटाहरूले अर्थात चोट्टाहरूले पुरस्कार र पदक पाउँछन् । बजारले सब थोक गञ्जागोल पारेको छ । गोप्य रिर्पोटले जागिरेलाई मारेको छ । कसो गर्दा ठीक कसो गर्दा बेठीक सबैतिर ‘खलबल’ छ । खलबल खरेलको दृष्टिकोणमैं अलमल छ । घरमा बस्ने–सुत्ने ठाउँमा मलमल भएर के भो र ? आखिर जिन्दगी नै ढलपल भै दिएपछि ।

कविता कविले लेख्छ तर समय समीक्षकले खोज्छ । कतिवेला कहाँ रचिएको सिर्जना होला ? भनेर केलाउनु, शब्द शब्द खेलाउनु र त्रुटी कमी देखाउँदै खुदो पेलाउनु उनीहरूको धर्म नै हो । तर खरेल बाहुन बाठा छन् उनले आफ्ना कविताको रचनाकाल कहीं कतै राख्ने र कहीं कतै नराख्ने चलाखी गरेका छन् । “लोकप्रिय सरकार” कविता पढ्दा पञ्चायत काल छर्लङ्गै बुझिन्छ । तर समय दिएका छैनन् ।

प्रजातन्त्रको पक्षमा बोल्ने जति व्यवस्था विरोधीमा दरिन्छ !
सरकारी गल्ती कोट्याएर साँचो कुरा लेख्यो भने,
अराष्ट्रिय तत्व भनेर कराउँछ !
जनताले छानेको हाम्रो सरकार कति लोकप्रिय छ,
बाहिरी शक्तिसँग भन्दा आफ्नै जनतासँग डराउँछ ।। (खलवल पृ. ६)

वास्तवमा पञ्चायतकालमा मात्र हैन, अहिले नपञ्चायतकालमा पनि सुनको थालमा दालभात ज्यूनार गर्नेहरूको हैसियतमा कुनै फेरबदल छैन र नुनुको अभावमा छट्पटिने गाउँ–कन्दरामा दुखगर्ने पसिनाजीवीलाई पञ्चायत गएको छैन । वक्तव्यमा बाँच्ने नेताहरू तथा कर्तव्यमा नाच्ने जनता वीचको अन्तर हाम्रा शक्तिबाजेदेखि भक्तिबाजेसम्मको चर्तिकलामा होइन कुरलीप्रसाद मैठानाको अमूर्तकला र नकुलमा सिंहको अनुहार जत्तिकै अन्तरलाग्दछ । मानिसको औगात अनुसार ऐनको सौगात पस्कने कानुनी राजमा न्यायपालिका स्वयं नै कार्यपालिकाको बन्धकी परेको हुन्छ । कलाप्रेमी सरकार भएका बेलामा कला कर्ममा लीन हुनुभन्दा चारखालमा तमसुक लेख्दा फाइदा हुन्छ । कुरा ठिकै हो दामपन्थीका सत्तामा हाम–पन्थी बद्छन् र नामपन्थीहरू काममा विश्वास गर्दैनन् । वामपन्थीलाई बदर गर्ने परम्परामा लोसे आयोग सामेल भएपछि भानुभक्तिकालु सबका सब भैरव अर्यालको आलु अथवा आशावादी अर्यालको पिंडालु–समीक्षा नहुने कुरै भएन । चौंतीसे नेपालमा देउताको बेपार चल्थ्यो, ठूला मूर्तिहरू क्रेनद्वारा ढल्थ्यो । केन्द्रमा धाउने राष्ट्रिय पञ्चायत चढ्थ्यो विरोधमा बोल्ने जेलमा सड्थ्यो । कहिले क्यासेटको आवाज बढ्थ्यो कहिले घट्थ्यो । जनताको पसिनामा बद्मासको दाइँ, कोही कसैले भन्दैनथे– नाइँनाइँ ¹ अचम्मको ‘रामराज्य’ थियो । पशुपतिनाथले रक्षा गर्थे, काल आएका मात्र अकालमा गर्थे । त्यस परिस्थितिमा ‘कस्ताकस्ता झण्डावाल आए’ भन्दै कवि
लेख्छन् –
शुतरमुर्ग आए, चमेरा आए
गौंथली आए, भँगेरा आए
लाटाकोसेरा आए बट्टाई आए
कृषि प्रधान देशको धान खाए । (खलबल पृ. २६)

रहरमा रमाउँदा लेखिएका कविताहरूले झण्डावालहरूको पंक्तिमा हरिया गैंडाले छानेका, गाउँफर्कने तानेका, जमिन्दारले मानेका, दरवारीयाले जानेका, जनतालाई गोली हानेका विराट–विराट शेरहरू देख्छन् । झण्डावाल नबन्ने जनताले के पाए ? फुस्सा ! आखिर अहिलेका झण्डावाल पनि त पहिलेका झण्डावालकै डण्डा भिरेर दरबार छिरेका हुन् । माग्नेको प्रलापमा आशावाद अतिभए पनि, उमेदवारको खाँचोमा यथार्थ बल्झिए पनि कवि चित्रमय नेपालको यसरी वर्णन गर्छन्– स्टेजमा एउटा सिंगाने आउँछ ।

धेरै पल्ट मुख खोल्छ, तर खाली भक्भकाउँछ,
उठबस् गर्छ, कन्छ, रिङ्छ र सकपकाउँछ,
र रुन्चेस्वरमा भन्छ–
मैले भित्रबाट घोकेर आएको डाइलग नै बिर्सेछु (खलबल पृ.३९)

अर्थात् कतिपय माननीयहरू हुकद्वारा ताननीय भइआएका थिए । स्टेजमा आउने जमदार भाइहरू जी.एम.दाइमा फेरिइन्थे । पाहुर–पात हेरिन्थे । कहिले बासामा खासाका सामान बेरिन्थे, कहिले विनय–पत्रका लामालामा गथासा केरिन्थे । तै पनि प्रभुका कृपाले ती हेरिन्थे अथवा हेराइन्थे । पशुपतिनाथले रक्षा गरे पछि के हुन्नथे ? जे पनि हुन्थे । वनकसको रुख हुन्थ्यो, देह कस पनि सुख हुन्थ्यो ! भाषणको सरल संस्करण, श्रीमती–पुराणको सुमधुर परिस्करण, लेटेस्ट मोडेलका युवतीहरू–आँखा डेरो नैनतारा, काली कलुटी नाम सितारा ! गजप–गजपका चालामाला ! जसले सक्छ उसले खाला –

काम गरेर केही हुन्न,
यहाँ त बेला मौकामा गोटी चाल्न जान्नुपर्छ ¹
यो पनि कमाल छ !
सानालाई कज्याउने
ठूलालाई रिझाउने
त्यस्तैको मालामाल छ । (खलबल पृ. ५१– वाह ! कमाल छ !¬¬)

सृष्टि सानो वृष्टि ठूलो गर्ने टुहुरे कवि, परम्परासँग जुध्ने साँडे कवि, कल्पनाको पुजारी बनेर हिंड्ने प्रगतिशील कवि, आँसु वगाउँदै कविता लेख्ने आसुकवि,चटक देखाउने प्रयोगवादी कवि, रुन सिकाउने रुन्चेकवि, सबैको चर्चा कवितामा गरिएको छ र अन्त्यमा खलिखाने कविलाई ठाउँ दिइएको छ । ‘फा’ र ‘खा’ अन्तिम अक्षरको अल्झोले गर्दा अलिकति खलबल भएको खवर प्राप्त भएको छ । परन्तु ‘हल्ला गर्नु चल्ला चरीत्र’ भन्ने जवान संझेपछि भने मलाई यति लेखेकोमा कुनै थक्थक् लागेको छैन । धक नमानेर भनेकोमा धन्यवाद दिए पनि धिक्कार भने पनि खलबल खरेलका अठार गन्थन– विचार र कलाको संयोजन र मन्थन, मिलन विनाको काँचो थन्थन् संग्रह बन्न पुगेको छ । जय लेखपढ !!!
२०५८।५।२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x