साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुल्ठे मुन्द्रे एक हौं

Nepal Telecom ad

समय र परिस्थितिलाई बुझेर अगाडि बढ्न सकेन भने बाघले ओरालोमा खेदेको मृगको हविगत भोग्नु पर्दोरहेछ । को भन्दा को कम भनेर बसिरहेको अवस्थामा अवसर पाउनासाथ अर्काको खुट्टा तान्ने देखि खाडलमा जाक्ने काम गर्नसम्म पछि नपर्दो रहेछ । अर्काको अस्तित्व नै संकटमा पारेर ठूलो काम गरेको भन्दौ घिरौला भन्दा पनि ठूलो नाक पारेर दुनियाको सामु ठाटबाटका साथ हिड्दो रहेछ । फुटाउ र राजनीति गरको सिद्धान्तलाई अवलम्वन गर्दो रहेछ । यी सबै कुरा बुझिसक्नु भएको छ कि छैन ? यदि बुझिसक्नु भएको भए चुल्ठे मुन्द्रेको अस्तित्वलाई जीवन्त राख्नको लागि एक हुनु आवश्यक हो कि होइन ?

चुल्ठे मुन्द्रेलाई यस मुलुकका निर्भिकताकासाथ जीवन यापन गर्न दिएनन् । बाध्यतावश हाम्रो अस्तित्वलाई पलायन पार्ने कुटिल चाल रचे भने हामीले पनि केही त गर्नै पर्ने हुन्छ । त्यसैले समयमा नै सचेत बनौं । संविधानसभाको पहिलो पटकको निर्वाचनबाट विजयी सभासद्हरूले तोकिएको निर्धारित समयमा संविधान त बनाएनन् । समय अपुग भयो भन्दै आप्mनो आयु आफै अरू दुई वर्ष थप्दा पनि कुनै लछारपाटो लगाएनन् । विगतको यस्तो परिस्थितिलाई थाती राखेर आगामी निर्वाचनबाट निर्वाचित सभासद्हरू चाँही निश्चय पनि यथोचित समयमा नै संविधान बनाउनेछ भन्ने अपेक्षामा बसौं । अव बन्ने संविधानसभासँग हाम्रा अस्तित्वको लागि के कस्ता मागपत्रहरू पेश गर्ने भनेर पहिले चुल्ले समूह र मुन्द्रे समूहको एकताको मन्त्र अगाडि सारौं । इलाका भेला गरौं । जिल्ला अधिवेशन गरौं । देशभरिका प्रतिनिधिहरूद्वारा महाधिवेशन गरौं । केन्द्रमा बस्नेहरूको विवादमा खटपट भएमा पाँचसय, हजार वा आवश्यक अनुसारको केन्द्रीय सदस्यहरू चयन गरौं भरसक सबैलाई पद पुगोस् ।

हरेक क्षेत्रमा पदाधिकारीहरु चयन गर्दा समावेशी किसिमको होस् । पछि गएर अनावश्यक विवादमा परेर संगठन नै धरासायी बन्ने किसिमको नहोस् । सबै भाषाभाषी, जातजाति, धर्म, लिङ्गको आधारमा चयन होस् । क्षेत्रगत रुपमा पनि विचार पुर्याउनुहोस् । के हिमाल, के पहाड, के तराई सबै क्षेत्रको समेट्ने प्रयास गर्नुहोस् । पूर्वको, पश्चिमको, उत्तरको, दक्षिणको सबै दिशाको पनि समावेश होस् । आदीवासी, जनजाती, कथित दलित, सबैको पँहुच पुगोस् । साझा हितको लागि सर्वमान्य किसिमको एजेण्डाहरुको चयन गर्नुहोस् । “तातै खाउँ जल्दी मरौ” भन्ने कुरालाई ख्याल गरौं । बरु ढिलै होस् तर छोरा होस् भन्ने उखान पुराना भए पनि आसय पुरानो भएको छैन । विचार पुर्याएर निर्विवाद किसिमको पदाधिकारीहरु बनाउनुहोस् । साझा सहमतिको लागि नेताहरुको जस्तो “मेरो गोरुको बाह्रै टक्का” आफ्ना सिद्धान्त, विचारहरुबाट टसको मस नहुने तर हदै सम्मको लचतका अपनाउने भन्ने नेताहरुको थेगोलाई चटक्क विर्सनुहोस् नि । तत्र त गोलमाल होला । एकता भएको भोलिपल्टै फुटको कुरा उठ्ला नि । 

अधिकार र कर्तव्य सबैलाई समान हुने किसिमको हुनु जरुरी छ । यदि पक्षपात तरवबाट नीति तथा कार्यक्रम तयार गरिएमा यसका कारणहरुको खोजीको लागि केन्द्रीय सदस्यहरूको गहनगम रूपमा बैंठक बसी हामीलाई हेप्नुका कारणसहित भावी रणनीति र कार्यदिशा सहितको खाकाहरू तयार पारौं । बेरोजगारीको उपज स्वरुप वर्षायाममा च्याउ उम्रेसरी उम्रेका पत्रकारहरु छन् । तिनीहरुको पनि सदुपयोग गरौं । पत्रकार सम्मेलन गरौं । पत्रकारहरूले पनि काम पाउनेछन् । नयाँ समूहका नयाँ नयाँ कार्यक्रमहरू नयाँ विचार आदिको समाचारले सञ्चारमाध्यमहरूले मुख्य समाचार बन्न पाओस् । गोरूका आँखा भन्दा पनि ठूला शीर्षकमा अग्र पृष्ठमा छापिने अवसर पाउन् । विद्युतीय सञ्चार माध्यमहरूमा पनि फ्लेस समाचार लगातार देखाउन पाउन् । चुल्ठेमुन्द्रेको पहिचानसहितको पृथक् राज्यको माग गरौं । जसमा निर्वाध रूपमा हामीहरू वस्न सकौं । चुल्ठे मुन्द्रेले मुलुकभर कसरी गर्विलो पहिचान बनाउन सकिन्छ ? अझ यसलाई विश्व सामु के कसरी विस्तार गर्न सकिन्न भनेर सोचौं । अन्तरराष्ट्रिय स्तरको सञ्जाल विस्तारमा लागौ ।

चुल्ठेमुन्द्रे संघमा किन आवद्ध हुने ? यस सञ्जालमा लागेमा के फाइदा हुन्छ । कस्ता व्यक्तिहरु यसका सदस्य बन्न योग्य हुन्छन् । यसमा लाग्ने मानिसहरुले के के क्रियाकलाप गर्ने सक्षम हुन जरुरी छ । यसको लागि तालिमको व्यवस्था कहाँ कहिले र कसरी हुन्छ । ती सबै कुराको स्पष्ट जानकारी दिन भने चुक्नु हुँदैन । बरु थर्काएर, धम्क्याएर, फुक्र्याएर भए पनि सञ्चार माध्यमका यसको व्यापक रुपमा प्रचारप्रसार गर्नु होला । यसो गरेमा तपाई हाम्रो संघ बलियो हुने छ । सदस्यको हिसावले र आर्थिक रुपले पनि मजबुद बन्दै जानेछ । अनि सिङ्गो देश नै आफ्नो कव्जामा लिन सकिनेछ ।

यस समूहमा सदस्य विस्तारमा नयाँ रणनीति अपनाऔं । यस समूहमा प्रवेश गर्नेहरूलाई केही आकर्षक पुरस्कारहरू प्रदान गर्ने व्यवस्था मिलाऔं । पुरस्कारको राशी जुटाउने समस्या भएको बेला बेलामा मुन्द्रा प्रदर्शन गर्नुहोस् । चुल्ठोकोे शक्ति देखाउनुहोस् । सब व्यवस्था मिलिहाल्छ नि । “भाग्यमानी अरूको परेर चेत्छ अभागी आफै परेर चेत्छ” अरूले गरेको कार्यको सिको गरेर शून्यबाट सुरू गरेकाहरूले कति उन्नति गरे, प्रगति गरे उनीहरूको इतिहास हेरे त भैहाल्यो नि । उद्योगी, व्यापारी, कर्मचारी, शिक्षक, सर्वसाधारण कसैलाई पनि छाडेनन् । उनीहरूलाई फकाएर, धम्क्याएर अनेकानेक बहानाबाजी बनाएर सकेसम्म धेरै चन्दा असुले. । ज्यान मार्ने धम्की दिएर, हामीसँगै हिड्नु पर्छ भन्दै हतियार जिम्मा लगाउन खोजेर, कोही कसैका पुराना मुद्धाको सम्झना गराएर पनि चन्दा लिन छोडेनन् । देश र जनताको रक्षाको लागि भन्दै सकेसम्म धुते भने यस्तो तौरतरिका अपनाए भने रातारात नै समूह मालामाल भैहाल्छ नि । यस संसारमा गाँठ भएपनि के पो पाइदैन र ?

त्यसलाई अपनाउन कठिन भयो भने अर्को पनि आइडिया छ । गाँठ भएकाहरूका सन्ततिलाई बाटाबाटै अपहरण गरेर लैजाने र फिरौती रकम माग्ने गर्नु पर्छ । स्कुल हिडेका, स्कुलबाट घर तर्फ फर्किदै गरेका साना साना नानीबाबुहरूलाई फकाई फुल्याई लैजाने र केही समयसम्म बन्धक बनाई राख्ने उसले क्षमता हेरेर फिरौती रकमको माग गर्ने । समयमा फिरौती रकम बुझाउन नल्याएमा केहीलाई सोझै स्वर्गमा पठाएर सकेसम्म आतङ्क फैलाउने । त्यसपछि त मालामाल हुनेछ । यदि यो मन्त्र पनि सफल हुने छेकछन्द देखिएन भने अर्को मन्त्र प्रयोग गर्नु पर्ने हुन्छ । रक्तचन्दनको व्यापार । खाद्यान्नको गोदाममा लुकाएर, खाद्यान्न ढुवानी गर्ने मालबाहक सवारी साधनमा केही बोराहरू मात्र रक्तचन्दन राखेर बाँकी सबै खाद्यान्न राखेर पनि यसको व्यापार गर्न सकिन्छ । यसबाट कुस्त गाँठ आर्जन हुनेछ । न धेरै परिश्रम गर्नु पर्ने छ । मात्र ट्रिक लगाए पुग्ने । भन्सारमा अप्ठेरो पर्ला जस्तो भयो भने त्यहाँ खटिएका सुरक्षाकर्मीसँग पनि बरू साँठगाठ गर्नुपर्ने हुन्छ ।

नयाँ किसिमको मन्त्र अरू पनि छन् । लागुपदार्थको ओसार पसार, महत्वपूर्ण कलाकृतिहरूको विदेशमा निकासा गरेमा पनि हुन्छ । तेत्तीस कोटी देव देवीको वासस्थान यस पुण्यभूमिमा मूर्ति गजुर आदिको खाँचो छैन । भटाभट यहाँबाट विदेशमा निर्यात् गरेमा यसबाट पनि विदेशी डलर हात पर्नेछ । अनि भएन त मालामाल ? त्यसैले पहिले मुन्द्रे चुल्ठे एक हौं भन्ने मुल मन्त्रलाई साकार पारौं । मुन्द्रे चुल्ठेको जय होस् ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x